स्वास्थ्य

घातक बन्दै फङ्गस इन्फेक्सन, टिचिङमा भर्ना भएका तीन जनाको शल्यक्रिया

उपेन्द्र खड्का 


काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणपछि ब्ल्याक फङ्गस इन्फेक्सन भएर शिक्षण अस्पताल महाराजगन्जमा ५ जना बिरामी भर्ना भएका छन्। ४४, ४८, ५२ वर्ष र दुई जना ६४ वर्षका पुरुष फङ्गस इन्फेक्सनको समस्या भएर अस्पताल पुगेका हुन्। 

अस्पतालका म्यूकोर माइकोसिस ट्रिटमेन्ट कमिटीका संयोजक डा. रवीन्द्र भक्त प्रधानाङ्गले उनीहरूमा म्युकोर माइकोसिसको समस्या भएको जानकारी दिए। कालो (ब्ल्याक) फङ्गस इन्फेक्सनलाई चिकित्सकीय भाषामा ‘म्युकोर माइकोसिस’ भनिन्छ।

अस्पताल पुगेका ५ जनामध्ये ४८ वर्षीय एक जना बिरामीमा इन्फेक्सन फैलिएर मस्तिष्कसम्म पुगेकाले स्वास्थ्य अवस्था जटिल भएको संयोजक डा. प्रधानाङ्गले जानकारी दिए। उनले भने,‘दुई जनामध्ये एक जनाको दिमागसम्म पुगेको छ। सिरियस छ।’ 

अर्का एक जना ६४ वर्षका फङ्गस इन्फेक्सन सङ्क्रमित बिरामीको इन्फेक्सन सुरुवाती चरणमा भएकाले इन्फेक्सनको पहिचान गर्दै उपचारको क्रममा रहेका छन्। ‘कोरोना भएको, डाइबेटिज कन्ट्रोल नभएको, त्यो मान्छेमा नाकको बाहिरको गालामा सेन्सेस्नल हराएपछि म्युकोर माइकोसिस नै शङ्का गर्नुपर्छ अहिलेको समयमा’डा. प्रधानाङ्गले भने, ‘ती व्यक्तिलाई उपचार सुरु भइसकेको छ।’ 

३ जनाको शल्यक्रिया

अस्पतालमा पुगेका ५ जनामध्ये ३ जनाको नाक र आँखामा मात्रै फङ्गस इन्फेक्सन देखिएको(छोएको) र उनीहरूको शल्यक्रिया भइसकेको डा. प्रधानाङ्गले जानकारी दिए। उनले भने,‘५ जनामा ३ जनाको अप्रेसन भइसकेको छ।’ ४४, ५२ र ६४ वर्षका तीन जना फङ्गस इन्फेक्सन भएका बिरामीको शल्यक्रिया गरिएको उनले जानकारी दिए।

शल्यक्रिया गरिएका ३ जनामध्ये एक जनाको भने आँखाको दृष्टि केही कम भएको उनले जानकारी दिए। डा. प्रधानाङ्गले भने,‘एक जनाको दृष्टि अलि कम भएको छ। दुई जनाको आँखा नर्मल नै छ।’

उनीहरूको शल्यक्रिया सफल भएको पनि उनले जानकारी दिए। डा. प्रधानाङ्गले भने,‘जति कालो भाग छ, जति ढुसी छ सबै खुर्किने मात्रै हो अप्रेसन भनेको। सबै सफा गर्ने हो। नाकबाट गर्ने हो। नाकको अप्रेसन हो।’ दुई हप्तापछि उनीहरूको शल्यक्रियाको नतिजा कस्तो हुन्छ भन्ने यकिन थाहा हुने उनले जानकारी दिए।

ती पाँचै जना सङ्क्रमित जेठ ९ गतेपछि अस्पताल पुगेको डा. प्रधानाङ्गले जानकारी दिए।

एक जना फर्किए

५ जनामध्ये ४ जना टिचिङ अस्पतालमा उपचार गराइरहेका छन्। उनले भने, ‘४ जना मात्रै हुनुहुन्छ। एक जना अप्रेसन गरेर फर्कनु भएको छ।’ नेपालगन्जका एक जना सङ्क्रमित टिचिङ अस्पतालमा शल्यक्रियापश्चात् काठमाडौँ बस्न पायक नपर्ने भएर नेपालगन्ज फर्किएको उनले बताए। 

फङ्गस इन्फेक्सनको समस्या भएका बिरामीको शल्यक्रिया गर्ने र एम्फोटेरिसिन˗बी इन्जेक्सन दिने उपचार विधि भएको चिकित्सक बताउँछन्। नेपालगन्ज फर्किएका सङ्क्रमित व्यक्तिले पनि यो इन्जेक्सन लिइरहेको डा. प्रधानाङ्ग बताए। उनले यो इन्जेक्सन सङ्क्रमितको अवस्था हेरेर १५ दिनदेखि १ महिनासम्म दिनुपर्ने हुनसक्ने बताए।

यो समस्या शल्यक्रिया गर्ने बित्तिकै तुरुन्तै निको नहुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार दुई हप्तापछि मात्रै शल्यक्रियाको नतिजा थाहा हुन्छ।

पाँचै जनाको नाकबाट नै फङ्गस इन्फेक्सन सुरु भएको डा. प्रधानाङ्गले जानकारी दिए। चिकित्सकका अनुसार नाक (साइनेक्स) मा लक्षणको रूपमा देखिएको फङ्गस इन्फेक्सन फैलिएर आँखा हुँदै मस्तिष्कमा पुगेपछि स्वास्थ्य जटिलता निम्तिई व्यक्तिको मृत्युको जोखिम हुन्छ। 

नेपालगन्ज, वीरगन्ज, टिचिङ, वीर, नर्भिक अस्पतालहरूमा ८ जनामा फङ्गस इन्फेक्सन देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। अन्य दुई जनामा पनि सङ्क्रमण भएको जानकारी पाएको उनले बताए। 

वीरमा उपचाररतको दृष्टि फर्कने सम्भावना छैन

वीर अस्पतालमा पनि करिब करिब ४० वर्षका व्यक्ति १०  दिन अघि फङ्गस इन्फेक्सनको समस्या भएर उपचारका लागि पुगेका थिए।

वीर अस्पतालका कोभिड˗१९ फोकल पर्सन डा. अच्युत कार्कीले एक जना कोरोना सङ्क्रमित भएका व्यक्ति ब्ल्याक फङ्गस इन्फेक्सनको समस्या भएर अस्पताल पुगेको जानकारी दिए। उनले भने,‘यहाँ अहिलेसम्म एउटा केस देखिएको छ। डाइग्नोस केस एउटा देखिएको छ।’ ती व्यक्तिमा नाकमा फङ्गस इन्फेक्सन भएर आँखामा फैलिएको हो। उनी वीरगन्ज क्षेत्रबाट रिफर भएका डा.  कार्कीले जानकारी दिए।

इन्फेक्सन भएका ती व्यक्तिको शल्यक्रिया गरिएको र औषधि पनि प्रयोग गरिएको उनले बताए। डा. कार्कीले भने,‘सकभर फैलिएको ठाउँको ढुसीसहित घाउ निकाल्ने काम भएको छ। त्यति राम्रो रिजल्ट त आउँदैन।’ 

वीर अस्पताल पुगेका ती इन्फेक्सन भएका बिरामीको आँखाको दुवै दृष्टि फर्कने सम्भावना नभएको डा. कार्कीले जानकारी दिए। डा.कार्कीले भने,‘देख्नुहुन्न। उहाँको भिजन फर्किने चान्स छैन।’ उनी अस्पतालमा नै उपचार गराइरहेको डा. कार्कीले जानकारी दिए।

इन्फेक्सन भएका ती व्यक्ति दुवै आँखा नदेख्ने अवस्थामा अस्पताल पुगेको उनले जानकारी दिए। ‘दुवै आँखा नदेख्ने नै भइसकेको थियो। आँखा रातो हुने, सुन्निने त्यो भागमा इन्फेक्सन हुने लक्षण देखिएको थियो,’ डा. कार्कीले भने,‘उहाँ सुरु देखिनै सुगरको रोगी।’ 

सुगरको समस्या भएका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई नै फङ्गस इन्फेक्सनको जोखिम बढी हुने चिकित्सक बताउँछन्। 

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालमा भने कोरोना सङ्क्रमणका कारण फङ्गस इन्फेक्सनको सङ्क्रमण भएर बिरामी नआएको जानकारी दिइन्। उनले भनिन्,‘हामीकहाँ भक्तपुरमा त देखिएको छैन। काठमाडौँमा त धेरै ठाउँमा छ।’

कोरोना सङ्क्रमणपछि देखिएको यो रोग घातक रूपमा देखिने गरेको चिकित्सक बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्रिटिस कलेजको सहयोगमा आविष्कार केन्द्रले कोभिड–१९ स्वास्थ्य सामग्री वितरण गर्ने

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्रीहरू वितरण गर्न ब्रिटिस कलेजले सहयोग गर्ने जनाएको छ।  ब्रिटिस कलेजका निर्देशक महेन्द्र राज कँडेलले कोभिड १९....

दर्ता नै नभएको कोरोनिल किट तत्काल प्रयोग नहुने 

भारतीय योग गुरु रामदेवले बनाएको सो किट न त नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको छ न कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनले....

भारतमा कोरोना सङ्क्रमणबाट २० नेपालीको ज्यान गयो

गैर आवासीय नेपाली सङ्घका अनुसार यो साता भारतमा मात्रै २० जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाए। सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार....

नेपालमा भारतीय नागरिकको सङ्ख्या बढेपछि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै स्वास्थ्य मन्त्रालय

सोही आधारमा नेपालमा परीक्षण मात्रै गर्ने र नेपाललाई ट्रान्जिट बनाउन मात्र आएका विदेशी नागरिकहरूको परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयले ल्याबहरूलाई निर्देशन जारी गरेको हो। भारतबाट नेपाल....

कोरोना त्रास : तनहुँमा बेलुका १० बजेपछि व्यवसाय बन्द गर्न प्रशासनको सूचना

विज्ञप्तिमा ‘भारतमा थप क्रियाशील भई नेपालमा समेत सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदर समेत वृद्धि भएकाले खुला सीमा नाकाको कारण सीमा नाकाबाट मानिसको आवतजावत बढी....