नारायणहिटी हत्याकाण्ड घटनास्थलको तस्बीर खिचेका पूर्वएसपी कार्कीको बयान : त्यो दृश्य सम्झँदा अहिले पनि ऐठन हुन्छ

नारायणहिटी हत्याकाण्ड घटनास्थलको तस्बीर खिचेका पूर्वएसपी कार्कीको बयान : त्यो दृश्य सम्झँदा अहिले पनि ऐठन हुन्छ

२० वर्ष भयो तत्कालीन राजा वीरेन्द्र शाहसहित दरबारका १० जनाको ज्यान गएको त्यो घटनामा। तर उनलाई हिजै भएको घटना जस्तै लाग्छ रे। भुईभरि छरिएका गोलीका खोका, रगत लत्पतिएको भुईं, वीरेन्द्र शाहको टोपी र चश्मा, भर्याङमा फुटेका रानी ऐश्वर्याको चुरा घुमिहरन्छ रे उनको आँखामा।

उनी त्यो बेला प्रहरीमा डिएसपी पदमा थिए र जिम्मेवारी क्राइम सिन फोटो ग्राफरको। ३२ वर्षे जागिरे यात्रामा उनले कैयौँ घटनास्थलको तस्बिर खिचे। तर दरबार हत्याकाण्डको घटनास्थलझैँ विभत्स घटनास्थल कहिल्यै नदेखेको बताउँछन् उनी।

२०५८ साल जेठ १९ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डको अनुसन्धान गर्न बनेको आयोगमा उनलाई संगठनले फरेन्सिक फोटोग्राफर र भिडियोग्राफरको रुपमा पठाएको थियो। घटनास्थलको अवलोकनकर्ता हुन पाएकोमा उनी खुसी पनि छन्। तर त्यो दृश्य अझै मनबाट नहराउँदा अलि दिक्क। कस्तो थियो, नारायणहिटी दरबारको घटनास्थल? बाँकी दृश्यको बयान अब उनीबाटैः

०००
त्यो दिन म महाराजगञ्जमा रहेको डेरामा थिएँ। बेलुका १२ बजेतिर हेडक्वार्टरमा जम्मा हुन आदेश आयो ‘दरबारमा गोली चलेको छ के के भयो हेर्डक्वार्टरमा जम्मा हुन तुरुन्त आउनु।’

मन आत्तियो। प्रहरी, त्यसमाथि फोटोग्राफर कुन बेला के घटना घट्छ पत्तो नहुने। म निदाए पनि पूरै निदाउँदैनथेँ। त्यो बेला पनि म पूरै निदाएको थिइनँ। झटपट प्रहरी पोशाक लगाएर मोटरसाइकलमा नक्सालस्थित प्रहरी हेडक्वार्टर पुगेँ।

म पुग्दा तत्कालीन आइजिपी प्रदीपशमशेर लगायत अन्य सिनियर अफिसरहरु आइसक्नुभएको थियो। अन्य प्रहरीहरु आउने क्रम जारी थियो। सबै सामेल भयौं। कुनै पनि बेला मुभ हुनुपर्छ, तयारी अवस्थामा बस्नु भन्ने आदेश आयो। हामी हेडक्वार्टरमै बस्यौं।

राजा वीरेन्द्रलाई छाउनीको सैनिक अस्पताल लगियो। बाँच्ने सम्भावना छैन। रानी ऐश्वर्या पनि गम्भीर घाइते। निराजन, श्रुतीहरु पनि गम्भीर घाइते भन्ने सूचनाहरु आइरहेका थिए।  दीपेन्द्रले गोली चलाएको अपुष्ट सूचना आइरहेका थिए। अन्यको अवस्था बाँच्न कठिन भए पनि दीपेन्द्र चाहिँ बाँच्छन् कि भन्थे।

२० गते दिउँसो १२ बजेतिर सबै जना छाउनी अस्पताल जाने आदेश आयो। हामी त्यता लाग्यौं। त्यतिबेला म फोटोग्राफी विभागको भए पनि फोटो खिच्ने आदेश थिएन। क्यामेरा नबोकी पुगेको थिएँ छाउनी।

तस्बिर : अनलाइनखबर

हामी पुग्दा ९ जनाको मृत्यु भइसकेको थियो। राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, शाहज्यादी जयन्ती शाहको शव एकातिर थियो। अन्य ४ जनाको शव अर्काेतिर राखिएको थियो। युवराज दीपेन्द्रको उपचार भइरहेको सुनें।

सेनाले शवको नजिक पर्न दिएनन्। शवहरु छोपिएको थियो। मेरो मनमा भने कमसेकम शवको तस्बिर लिनुपर्छ अनुसन्धानका लागि भन्ने परिरहेको थियो। तर अनुमति थिएन। फोटो खिचेको भए पछि अनुसन्धानमा सहयोगी हुन्थ्यो।

अब शवयात्रा गर्ने तय भयो, राजा वीरेन्द्रसहित पाँच जनाको एकै पटक। बहालवाला राजाको शव यात्रा, सम्मानका साथ गर्नुपर्ने थियो।

डल्लु, शोभाभगवती, नरदेवी, ठमेल, राजदरबार, कमलपोखरी, ज्ञानेश्वर हुँदै गौशालाबाट  पशुपति आर्यघाट पुर्याइयो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। उहाँको गाडीमा ढुंगा प्रहार भयो। हामीले उहाँलाई रेस्क्यु गरेर जोगायौं।

बाटोभरि मान्छे रोइरहेका थिए। कोही चिच्याइरहेका थिए। त्यो दृश्य सम्झँदा अहिले पनि मन कटक्क खान्छ।

राजा घोषित गरिएका दीपेन्द्र सरकारको पनि मृत्यु भयो। त्यसपछि ज्ञानेन्द्र शाह राजा घोषित हुनुभयो। हनुमानढोकामा नयाँ राजालाई दाम राखेर ढोग्ने कार्यक्रम राखिएको थियो। कार्यक्रम सकिएपछि दीपेन्द्रको शवयात्रा सुरु गर्ने भनियो। तर दीपेन्द्रको शवयात्रा सहज हुन सकेन। जनता आक्रोशित थिए। ढुंगामुढा हुने उच्च जोखिम भएपछि सडक सुनसान बनाएर दीपेन्द्रको शव पशुपति पुर्याइएको थियो।

घटना भएको सात दिनपछि घटना छानविन गर्न आयोग गठन गरियो। तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तानानाथ रानाभाट लगायत हुनुहुन्थ्यो आयोगमा।

प्रहरी महानिरीक्षकले बोलाएर मलाई दरबारमा गएर घटनास्थलको फोटो र भिडियो खिच्न आदेश दिनुभयो। आयोगमा मलाई फरेन्सिक फोटोग्राफरको रुपमा राखिएको रहेछ। आयोगका पदाधिकारीसँग समन्वय गरेर काम गर्न आदेश आएपछि म सिधै दरबार गएँ। म दरबार पुग्दा उपाध्याय, सभामुख रानाभाटसँगै र राजा ज्ञानेन्द्र शाह पनि सँगै हुनुहुन्थ्यो।

जब त्रिभुवन सदनमा पाइला टेकियो
रानाभाटले के–के गर्ने भनेर मलाई निर्देशन दिनुभयो। घटनास्थलमा कोही नगएकाले घटनाबारे तथ्य बुझाउन फोटो र भिडियोले सघाउने भन्दै मलाई केही पनि नछोडिकन फोटो खिच्न निर्देशन दिनुभयो।

मलाई सिधै मुख्य घटनास्थल त्रिभुवन सदनमा लगियो। घटनास्थलमा प्रवेश गर्नु अगाडि बाहिरको अवस्थासँगै घटनास्थलमा आफू प्रवेश गर्दा पनि कुनै प्रमाण नष्ट नहोस् भनेर खुब ख्याल गर्नुपर्छ।

मैले यसभन्दा अघि परिवारै नाश भएको फोटो खिचेको थिएँ, दोलखाको चरिकोटमा। २०३९ सालमा तत्कालीन गुप्तचर विभागका इन्स्पेक्टर मोहनकृष्णका दुई छोरी एक छोरा र श्रीमतीको हत्या भएको घटनास्थल थियो। त्यो घटनाको दृश्य पनि निकै विभत्स थियो। तर त्यो घटनाभन्दा दरबारको घटना अति संवेदनशील थियो। तर गर्ने कामको प्रकृति त उस्तै नै थियो।

दरबारमा शव थिएन तर छाउनीमा देखिएको शवले मन त हुँडलिरहेको थियो। तर पेसा नै उस्तो। सकेसम्म सबै समेट्नेगरी फोटो, भिडियो खिच्नुपर्छ भनेर मन दह्रो बनाएँ।

विलियर्ड हलभित्र जानुभन्दा पहिले ढोकामा उभिएर भित्र हेरें। अहो! भित्रको दृष्य त हेरिनसक्नु रहेछ। भुईंभरि रगतै–रगत। गोलीको खोकाका बिस्कुन। छरपस्ट सामान। त्यस्तो विभत्स घटनास्थल देखेर मेरो त ज्यान नै सिरिङ्ग भयो। केही समय टोलाएँ म। के गर्ने के भन्ने छटपटी भयो।

फरक्कै फर्किउँ जस्तो नालागेको हैन। तर मन सम्हालें। जिम्मेवारी पूरा गर्नु थियो। मेरो ड्युटी थियो त्यो।

ढोकाबाट हल्का भित्र गएर सबैभन्दा पहिला प्यानोरोमा भ्युको तस्बिर लिएँ। कोठाभित्र जानु अगाडि कोठाको अवस्था कस्तो थियो, जस्ताको त्यस्तै खिच्नुपर्यो नि त।

त्यसपछि विस्तारै विलियर्ड हलमा प्रवेश गरेर त्यहाँ भएका गोलीका खोका, हतियार, रगत, लत्ताकपडा, चस्मा, टोपी लगायतका सामानको तस्बिर खिचें। पाल्पाली ढाकाको टोपी रगतमा लत्पतिएको थियो। त्यो पक्कै राजा वीरेन्द्रको हो। उहाँको त्यो परिचित टोपी नै थियो।

त्यो टोपीको फोटो खिच्दा मेरो मन भरियो। चश्मा पनि उहाँकै थियो। त्यहाँ वरपर भएका सामानहरुको नछुटाई फोटो खिचेँ।

विलियर्ड हलको फोटो खिचेपछि अर्को कोठामा पुग्दा खानेकुराहरु जस्ताको तस्तै थियो भाँडाभरि। केहीले चम्चाले खाना चाखेको जस्तो देखिएको थियो। अनी भर्याङमा पुगें। त्यहाँको दृश्य झन् विभत्स थियो।

भर्याङभरि गोलीका खोका थिए। गिदी छरिएका थिए। फुटेका चुरा थिए। रानी ऐश्वर्या त्यहीं मारिनुभएको रहेछ।

भर्याङ हुँदै दीपेन्द्र बस्ने कोठामा गएँ। कोठा सामान्य थियो। पहिला त्रिभुवनले लगाउने खोपी रहेछ त्यो। कोठाको अवस्था क्याम्पस पढ्ने केटाहरुको कोठा जस्ता हुन्छ नि असरल्ल, त्यस्तै थियो।

ह्यांगरमा झुण्ड्याइएका लुगा र नमिलाइएको ओछ्यान। त्यहाँ त्यस्तो दोहोरा तानातान भएको या अन्य केही घटना भएझैँ केही थिएन। फोटो खिचेर निस्किएँ।

निराजनलाई बगैँचामा भाग्दै गर्दा गोली लागेको रहेछ। उनी ढलेको ठाउँ नजिकै एकोहोरो हानिएका गोलीका खोकाहरु थिए। खोका गनिसाध्य थिएन।

दीपेन्द्रले बगैँचाकै पुलमा आड लिएर आत्महत्या गरेको भन्ने जानकारी थियो। ठिक पुलमुनि पेस्तोल र क्याप थियो। क्याप पोखरीमा तैरिइरहेको थियो। पेस्तोल पोखरीभित्र भए पनि पानी सङ्ग्लो भएकाले देखिन्थ्यो।

त्यसको पनि फोटो खिचेँ।

फोटोसँगै भिडियो खिच्ने जिम्मेवारी पनि मेरै थियो। भिडियो खिच्न भने समाभुख रानाभाट सँगै हिँड्नुभएको थियो। उहाँ घटनास्थलमा के–के देखियो भनेर व्याख्या गर्नुहुन्थ्यो म खिच्थें।

यी सबै काम सक्काउन मलाई चार दिन लाग्यो। टोलीमा गोलीबारे हेर्न ब्यालेस्टिक एक्सपर्ट प्रकाशजंग कार्की थिए। फिंगरप्रिन्ट लगायतका प्रमाण संकलन गर्ने अर्का थिए।

जुन दिन फोटो खिच्ने काम सकियो रिल त्यही दिन बुझाउनु पथ्र्यो। दिनभर काम सकेर बेलुका फर्कने बेलामा रिल रानाभाटले दिनुहुन्थ्यो। बाहिर केही ल्याउन पाइँदैनथ्यो।

मैले कयौँ आत्महत्या, दुर्घटनाको फोटो खिचेँ। तर यस किसमको नरसंहारको तस्बिर खिचेको पहिलो पटक थियो। घटनास्थलमा शव थिएनन्। तर वरिपरि शवै शव भएझैँ लाग्ने। काम सकाएर कोठामा फर्कंदा मन बेचैन हुन्थ्यो। छटपटी हुन्थ्यो। राम्रोसँग निद्रै लाग्दैनथ्यो।

०००
घटनास्थलको तस्बिर लिँदा अनि जहाँ गोली हानिएको स्थान थियो, त्यसको अवस्था हेर्दा दोहोरो फायरिङ भएको देखिएन। एकोहोरो गोली प्रहार भएको थियो। ठूलो, सानो सबै प्रकारका हतियार प्रहार भएकोझैं देखिन्थ्यो। गोलीको खोकाको आकार एकै प्रकारको मात्र थिएन। त्यसले पनि एक प्रकारको मात्र हतियार प्रहार भएको हैन भन्न सकिने अवस्था थियो।

कति राउण्ड गोली चलेको होला भन्न सकिने स्थिति नै थिएन। गोलीका खोका त गनिनसक्नु नै थिए। एकै पटक धेरै राउण्ड गोली हान्न सकिने हतियार प्रहार भएको घटनास्थलमा जम्मा भएका खोकाले बताउँथ्यो।

त्यसअगाडि र त्यसपछाडि पनि धेरै क्राइम सिनको तस्बिर खिचें। धेरै त याद पनि छैन। तर मैले दरबार हत्याकाण्डको त्यो घटनास्थल अझै भुल्न सकेको छैन।

मेरो पनि मनै त हो नि। एक वर्षसम्म त यो दृश्यले मेरो दिमाग नै शून्य बनाइदिएको थियो।

जताततै रगतको दह, फुटेका शिशा, गोलीका खोकाको बिस्कुन। हतियार पेस्तोल, फुटेको चस्मा, चुरोटका टुक्रा, टोपीहरु, रुमाल, फुटेका गिलास। डाइनिङि हलको विभत्स दृश्य।

त्यो घटना सम्झ्यो कि अहिले पनि ऐंठन हुन्छ। मसँग अहिले त्यतिबेला खिचेको कुनै फोटो त छैन तर अहिले पनि हत्याकाण्ड सम्झियो कि त्यहाँका दृश्य फिल्मको दृश्य आएझैं आँखामा आउँछन्।

१९ जेठ, २०७८, १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।