‘आर्मीले बम बोकेर आइस् भन्दा मुटु काम्थ्यो’

‘आर्मीले बम बोकेर आइस् भन्दा मुटु काम्थ्यो’
तस्बिर : कृष्पा श्रेष्ठ ।

रामेछाप, होलदेवीका ३८ वर्षीय रोजे तामाङले तरकारी बेच्न थालेको २० वर्ष भयो। बोरामाथि तरकारी फैलाएर व्यापार गर्ने रोजेलाई कोरोनाको दोस्रो लहरले सडक छेउछाउ बस्न दिएन। त्यसैले उनले लकडाउनकै बीच एक हप्ताअघि भक्तपुर पाँचतले मन्दिर परिसरमा सटर लिए।

‘काम नगरी बस्न पाइँदैन। २० वर्षदेखि गर्दै आएको काम नगरौं पनि भएन। घर चलाउनैपर्यो। महिनामा २० हजारको व्यापार नहुने समयमा १५ हजार सटरमै पर्यो,’ रोजे भन्छन्, ‘कोरोनाले गर्दा किराना पसल, कपडा पसल, जुत्ता पसल सबैतिर तरकारी पाइन थाल्यो। बजारमा मान्छे छैन। व्यापारी धेरै अनि कसरी हुनु खै व्यापार!’

राजेको जस्तै बाध्यता होला ती सबै पसलेको। नत्र महामारीमा जोखिम मोल्दै कसले दसतिर हात हाल्थ्यो र? उनी भन्छन्, ‘यस्तो महामारीको बेला व्यापार गर्ने अधिकांश साना व्यापारी पैसा जमाउन व्यापार गर्न आएका होइनन्। मान्छेको घरभित्र अनेक समस्या हुन्छन्। काम नगरे खान पाइँदैन। अनि के गरुन्। जे काम गर्न पाइन्छ त्यही गर्ने न हो।’

रोजेलाई आफू जस्ता व्यापारीको पीडा थाहा छ। उनी ती तमाम साना व्यापारीप्रति सहानुभूति राख्छन्। लखरलखर डुलिहिँड्दा आमाले दिएको अर्ती सम्झन्छन्। किशोर अवस्थामा नै घरको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता सम्झन्छन्। उनलाई समस्या नपरी खराब समयमा मान्छे त्यत्तिकै रहरले निस्कँदैन होला जस्तो लाग्छ।

‘मेरा बा ज्यामी काम गर्नु हुन्थ्यो। म १७ वर्षको हुँदा बा बित्नुभो। घरको म जेठो छोरो। आमाले ४ हजार दिएर यही पैसाले जीवन चला बाबु भन्नुभो,’ रोजे भन्छन्, ‘म जन्मेकै भक्तपुरको पाँचतले मन्दिर क्षेत्रमै हो। सबै चिनजान राम्रो थियो। ढंक-तराजु किनें। सडकमा बोरा राखेर तरकारी बेच्न थालें। त्यसपछि कुनै दिन खान-लाउन समस्या भएन।’

तरकारी व्यवसाय सुरु गर्दा रोजे १८ वर्षका थिए। त्यही तरकारीको कारण उनको जीवनमा आइन्, सिन्धुपाल्चोककी साइँली। साइँलीका बा र रोजे तरकारी व्यापारी। दुवै सँगै बस्थे तरकारी बेच्न।

‘तरकारी बेच्न मसँगै बस्ने अर्का एक जना थिए। उनलाई म आस्याङ भन्थें। ती आस्याङकी छोरी साइँली बालाई सघाउन आउँथिन्। कोही बेला उनी मात्र हुन्थिन्,’ रोजे भन्छन्, ‘हेराहेर हुन थाल्यो। मन पर्यो। एक महिना डेटिङ गरियो अनि टाप।’

रोजेले भागी विवाह गरे। भाग्नैपर्ने कारण त केही थिएन। र, पनि रोजेलाई आफ्नै समकक्षीले छोरी दिन्छन् भन्नेमा विश्वास थिएन रे। अन्ततः भागेको एक महिनापछि दुवै परिवारको मेल भयो। रोजेको ११ वर्षीय छोरा र ४ वर्षीया छोरी छिन्।

‘गाँउमा सम्पत्ति भए पनि हामीलाई भक्तपुरको मायाले कतै जानै दिएन,’ उनी भन्छन्, ‘म मेरो भाषा खासै जान्दिनँ। मलाई मान्छेहरु नेवार हो भन्छन्। खुसी लाग्छ। भक्तपुरले मलाई पेसा दियो। श्रीमती दियो। बालबच्चा यही माटोमा हुर्के। असाध्यै मयालु पो छ हो भक्तपुर।’

एक्कासि प्रसंग बदल्दै रोजे पानीले भिजेका प्याज छिल्दै हाँसे।

‘पानी परेर सबै प्याज भिज्यो। यसलाई छिलेपछि चाडैं बिग्रन्छ। नछिलौं झन् चाँडो बिग्रन्छ,’ भन्छन्, ‘तरकारीमा नाफा पनि छ तर घाटा पनि छ। ५० किलो तरकारीमा १५ किलो खेर नै  जान्छ।’

किसानले २० रुपैयाँमा दिएको समान ठेकेदारले २५ मा दिन्छ। ठेकेदारबाट होलसेलमा पुग्दा ३० रुपैयाँ पुग्छ। होलसेलबाट खुद्रा पसल पुग्दा किसानले २० मा बेचेको तरकारी उपभोक्तालाई ५५-६० पर्न जान्छ। जसका कारण कृषि गर्ने वतावरण छैन जस्तो लाग्छ उनलाई।

‘कोरोना नहुँदा म बनेपा, धुलिखेल, पाँचखाल लगायतका ठाउँमा तरकारी लिन जान्थें। पूर्वबाट आउने माल फ्रेस नै हुन्छन्। सस्तो पनि पर्छ। आफूले सस्तोमा ल्याउन पाए पो ग्राहकलाई पनि सस्तोमा दिनु,’ रोजे भन्छन्, ‘ग्राहकलाई अन्तभन्दा एक रुपैयाँ मात्र सस्तो दिन सकियो भने पनि आफ्नो व्यापार बढ्छ।’

रोजेले तरकारी बेचेर नै फर्पिङमा ५ आना जग्गा किनेका छन्। अब उनको योजना कोरोना महामारीमा सकभर सुरक्षित भएर व्यापार गर्ने, कोरोनापछि भर्खर लिएको सटरमा भव्य तरकारी पसर खोल्ने। त्यही व्यवसायले पैसा कमाउने, परिवार चलाउने। अनि फर्पिङको जग्गामा घर बनाउने।

‘मेरो दिदीको घर फर्पिङतिरै हो। बास जोड्नुपर्छ भन्न थाले र सानो टुक्रो जग्गा लिएको छु तरकारी बेचेर,’ उनी भन्छन्, ‘पढ्न रहर हुँदाहुँदै त्यसै भयो। अब यो व्यापारको विकल्प पनि छैन।’

रोजेले १४ वर्षको उमेरमा आदर्श मावि भक्तपुरबाट एसएलसी दिए। तर त्यो वर्ष फेल भए। कारण उनकी आमा धुलिखेल अस्पतालमा उपचारत थिइन्। उनी आमाका कुरुवा थिए।

‘रातभर अस्पतालमा आमालाई कुरेर बस्यो, भोलिपल्ट जाँच दिन आयो। एक वर्ष त्यसरी सकियो। अर्को वर्ष पनि फेरि बा बिरामी हुनुभो, परीक्षाकै समयमा। त्यो वर्ष पनि फेल भएँ। बा बितेको वर्ष पास भएँ। बा बितेपछि मेरो जीवन नै फेरियो। त्यसपछि पढाइ छुट्यो।’

रोजे विगत सम्झिन थाले। १२ वर्षको हुँदा नै उनमा आत्मनिर्भर हुनुपर्छ भन्ने चेत आइसकेको थियो। उनी सानो बेलामा आफ्नो खर्च आफैं निकाल्थे। साथी-भाइसँग राम-रमिता गर्न पनि पुग्थे। आमालाई साँझ घर जाँदा ५० रुपैयाँ दिन पनि दिन्थे पनि।

‘मलाई जीवनमा यो गर्छु, ऊ गर्छु भन्ने नै भएन। सानोबाट नै आफ्नो खर्च चाहिँ आफैंले कमाउनुपर्छ भन्ने लाग्थ्यो। त्यसैले सानैमा टुरिस्ट गाइडको काम गर्थें। बाले ७ कक्षासम्म बोर्डिङ पढाउनुभयो। त्यसले सजिलो बनायो,’ रोजे भन्छन्, ‘पछि सरकारी स्कुलमा सिफ्ट भएँ। १४ वर्षको उमेरमा एसएलसी दिएपछि मैलै दुई वर्ष ठलोटका मूर्ति बनाउने काम गरें ललितपुरको ग्वार्कोमा। दिनको २० रुपैयाँ थियो ज्याला।’

रोजेलाई मूर्ति कारखानामा काम गर्दा सेनादेखि निकै डर लाग्थ्यो रे। उनका साहु सधैं ढिला कारखाना पुग्ने, साँचो हातमा नदिई उनी निस्कन नपाउने।  

‘साहु राति ८ बजेपछि आउने। पहिले अहिले जस्तो बस पाइँदैनथ्यो। अनि हिँड्दै आयो, आर्मीले बम बोकेर हिँडिस्, माओवादी होस् भन्थे। होइन सर भन्यो। न गोली चलाइहाल्छ कि भन्ने डर हुने। पैसा पनि कम अनि त्यो काम छाडें।’

मूर्तिको काम छाडेपछि उनी केही महिना साथी-भाइसँग बरालिएर हिँडे। उनका साथीहरु जापान जाने धुनमा थिए। उनी पनि कस्सिए। तर आमाको आँसुले विदेशिन रोक्यो।

‘विदेश गएको भए आर्थिक रुपमा केही सबल हुन्थें होला। तर साथी-भाइ र परिवार साथमा हुँदैनथे,’ रोजे चित्त बुझाउँछन्।

साथीभाइको संगतले रोजेले जापानिज भाषा स्वअध्ययनबाट सिके। अंग्रेजी राम्रै थियो उनको। रोजेले ठमेलमा मासिक दुई हजारमा काम पाए।

माइजु पर्नेले जागिर मिलाइदिइन्। पसलमा बस्ने, व्यापार गर्ने काम थियो। ‘म साहुको विश्वासिलो मान्छे थिएँ,’ रोजे भन्छन्, ‘एक वर्ष काम गरें। तलब बढाउने कुरा गर्छु, साहु टेरपुच्छर लाउँदैन। त्यति बेला तीन हजारमात्र बनाइदिएको भए आज पनि ठमेलमै हुन्थें होला।’

ठमेलको जागिर छाडेपछि रोजे खाली समयमा थिए।  साथीभाइसँग घुमघाम चल्दै थियो। बा सिकिस्त भए। केही समयपछि बिते। त्यसपछि घरको जिम्मेवारी रोजेको काँधमा आयो।

‘दुई भाइ तीन दिदी। दिदीहरुको बिहे भइसकेको थियो। आमा, भाइको जिम्मा मेरो काँधमा आयो। बा हुँदा थर्काएर, घुक्र्याएर मनलाग्दी गरिरहेको बानी,’ रोजे भन्छन्, ‘सबै आफैंले सम्हाल्न परेपछि त मेरो बाजा बजिहाल्यो नि।’

रोजेले भविष्य सोच्न नसकिरहँदा आमाले दिएको चार हजारले उनको जीवन फेरिदियो।

‘सानो होस्, ठूलो होस् व्यापार गर्नुपर्छ। आत्मनिर्भर हुनुपर्छ। अभिभावकले यही सिकाएर गए। त्यही मन्त्रले मलाई जीवन सहज बनाइरहेको छ,’ रोजे भन्छन्, ‘महामारीले आज समस्या पारे पनि भोलि फेरि शान्त हुन्छ। अहिले सबै बाचौं, सुरक्षित हौं। धनमा लोभ नगरौं। बाँचियो भने त कमाउँला, जमाउँला, रमाउँला नि। के छ र मरिलानु।’

१७ जेठ, २०७८, १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।