शिक्षा

त्रिविको पढाइ र परीक्षा अन्योलमा 

प्रजु पन्त


काठमाडौँ : त्रिचन्द्र क्याम्पस स्नातक तह मानविकी सङ्कायमा दोस्रो वर्षमा अध्ययनरत गोविन्द कोइरालाले गत जेठ ४ गते क्याम्पस प्रमुख/सहायक क्याम्पस प्रमुखलाई अनलाइन कक्षा यथाशीघ्र सञ्चालनको माग गर्दै इमेल लेखे। 

उनीसँगै अध्ययनरत केही छात्र/छात्राले समेत त्यही माग राखी क्याम्पस प्रशासनलाई इमेल पठाए। 

‘कोरोनाको दोस्रो चरण फैलिएपछि सञ्चालन भइरहेको परीक्षा स्थगित भयो। नयाँ कक्षा पनि सञ्चालन भएको छैन,’ गाउँमै रहेका कोइरालाले भने, ‘कक्षा सञ्चालन छिटो होस् भनेर क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई इमेल लेखेका हौँ।’

तर, इमेलको जवाफ नपाएको कोइरालाको भनाइ छ। 

त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख जनकराज ढुंगानाले विद्यार्थीले अनलाइन कक्षा सञ्चालनका लागि इमेल पठाएको स्वीकारे। ‘केही विद्यार्थीले इमेल पठाएका छन्,’ ढुंगानाले भने, ‘उनीहरूले इमेल नपठाएको भए पनि वैकल्पिक विधिबाट हामीले पढाउथ्यौ नै। केही दिनमा नै अनलाइन कक्षा सुरु हुन्छ।’

ढुंगानाले जेठ १४ गतेदेखि विज्ञान संकायको पढाइ सुरु हुने र मानविकीको पनि छिट्टै कक्षा सञ्चालन हुने जानकारी दिए। 

विद्यार्थी भने निषेधाज्ञाको झन्डै एक महिना पुग्न लागे पनि क्याम्पस प्रशासनले पठनपाठनमा बेवास्ता गर्दा बाध्य भएर अनलाइन कक्षाको लागि दबाब दिनुपरेको बताउँछन्। 

परीक्षा सकिएको भए कोइराला जस्तै स्नातक तह दोस्रो वर्ष विद्यार्थी तेस्रो वर्ष अध्ययन गरिरहेका हुने थिए। 

कोरोना महामारी बढ्यो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले वैकल्पिक विधिबाट न त परीक्षा नै लिन सक्यो न पढाइ गर्याे। यसको मारमा त्रिविका विद्यार्थी परेका छन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा भने विश्वविद्यालयका सबै कक्षा सुचारु हुने दाबी गर्छन्। 

‘त्रिविका धेरैजसो कर्मचारी र प्राध्यापक कोरोना सङ्क्रमणमा परेकाले केही तहको कक्षा सञ्चालन हुन सकेको छैन,’ उपकुलपति बास्कोटाले भने, ‘पढाइ नभएका क्याम्पसका क्याम्पस प्रमुखलाई भनिसकेको छु। सायदै छिट्टै कक्षा हुन्छ।’

अन्योलमा परीक्षा 

पद्मकन्या बहुमुखी क्याम्पसमा बिबिए पाँचौँ सेमेस्टरमा अध्ययनरत छात्रा हुन् सगुन कँडेल। 

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत उनको ब्याचका विद्यार्थी छैटौँ सेमेस्टरमा पुगिसके। तर, उनले चौथो सेमेस्टरको समेत परीक्षा दिन पाएकी छैनन्। 

‘मसँगै पढेका केयु (काठमाडौँ विश्वविद्यालय)का साथीहरू छैटौँ सेमेस्टर पुगिसके,’ उनले भनिन्, ‘हाम्रो भने चौथोको परीक्षा भएको छैन। परीक्षा गर्ने विधि भौतिक मात्र हुँदा अन्य उपाय नअपनाउँदा इयर लस हुने भयो हाम्रो।’

व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा वैकल्पिक विधिबाट परीक्षा नै हुन नसक्ने बताउँछन्। ‘बिबिए मात्रै पढ्ने हजारौँ विद्यार्थी छन्। उनीहरूको परीक्षा अन्य विधिबाट लिन सम्भव छैन। विद्यार्थीसँग पनि स्रोत साधन छैन,’ शर्माले भने, ‘त्यसैले त हामीले तल्लो तहको परीक्षा नदिए पनि अर्को तह पढाइरहेका छौँ।’

त्रिभुवन विश्वविद्यालयले कक्षा सञ्चालनको लागि माइक्रोसफ्ट प्रयोग गरेको र त्यसको आइडी प्रत्येक विद्यार्थीलाई उपलब्ध गराइएकाले कक्षा लिन भने समस्या नरहेको बताएको छ। 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बास्कोटाका अनुसार सबै डिन कार्यालयलाई कक्षा सञ्चालनको लागि निर्देशन दिइसकेको बताए। 

‘डिन र क्याम्पस चिफलाई आफ्नो विद्यार्थीको सम्पर्कमा रहन मैले भनिसकेको छु,’ बास्कोटाले भने, ‘परीक्षा हुन नसके पनि उपल्लो तहको पढाउनलाई निर्देशन दिएको छु।’

वार्षिकी परीक्षा कहिले?

जेठ ९ गते परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह पहिलो वर्षको परीक्षाको लागि अनलाइन फर्म भर्न सूचना जारी गर्याे।  सूचनामा परीक्षा कहिले हुने खुलाइएको छैन। 

सहायक परीक्षा नियन्त्रक महेशराज ओझा त्रिविको अनलाइन परीक्षा लिन सम्भव नभएको बताउँछन्। 

‘त्रिविको भौतिक संरचना प्रविधि र विद्यार्थीको पहुँच हेर्दा अनलाइन परीक्षा लिन सम्भव देखिँदैन,’ ओझाले भने, ‘अहिले फर्म भरे पनि विद्यार्थीले अवस्था सहज भएपछि भौतिक परीक्षा दिनेछन्।’

त्रिवि उपकुलपति बास्कोटा भने गत वर्ष वैकल्पिक परीक्षा लिए जस्तै गरी परीक्षा लिन सकिने बताउँछन्। 

‘गत वर्ष हामीले स्थानीय निकायसँग समन्वय गरेर परीक्षा सेन्टर तोकेका थियौँ पायक पर्ने स्थानमा,’ उनले भने, ‘यो वर्ष पनि अवस्था त्यस्तै रह्यो भने गर्न सक्छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने, १५ गतेबाट पठन पाठन 

महानगरपालिकाले असार १ गतेदेखि कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यालय सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर असार १ गतेदेखि....

मेडिकल शिक्षालाई गुन्डाहरूको नियन्त्रणमा जानबाट रोक्न डा. केसी अलायन्सको अपिल

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत अयोगको बैठक बोलाएर जबरजस्ती सम्बन्धन अघि बढाइए त्यसको कडा प्रतिवाद गर्न पदाधिकारीहरूलाई अलायन्सले अपिल गरेको हो।  यस्तै अलायन्सले दुर्गा प्रसाईँले....

एमयूले नियुक्त गर्‍योे रिक्त भएका डीन, निर्देशक र क्याम्पस प्रमुख

‘विश्वविद्यालयले पहिलो पटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको छ,’ एमयूका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भने,....

एसइई र कक्षा १२ को परीक्षा स्थगित

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना महामारीका कारण अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म दुवै परीक्षा स्थगित गरिएको जानकारी दिए। ‘कोरोना महामारीको अवस्था हेर्दा परीक्षा लिन सक्ने अवस्था....

शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्न कांग्रेसको माग

कांग्रेसको शिक्षा विभागले विज्ञप्ति निकालेर विद्यालय तहमा कार्यरत बाल कक्षा शिक्षक तथा विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था गर्न, विद्यालय तहमा रहेका राहत दरबन्दी, साबिक उच्च....