नयाँ भेरियन्ट

नयाँ भेरियन्ट

अरु कोरोना जस्तै यसले स्वाद हराउने, गन्ध हराउने हैन, विवेक हराउने लक्षण देखाउँछ ।
फोक्सोमा हैन, सिधै दिमागमा आक्रमण गर्छ ।
अनि प्रभाव पनि अचम्मको छ,
श्वास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने, रगतमा अक्सिजनको मात्रा कम हुनेजस्ता लक्षण केही हुँदैन,
बरु भ्रष्टाचारले भरिभराउ खोकी लाग्छ,
कमिसनको ज्वोरो आउँछ,
रगतमा जनमतको कदर गर्ने अक्सिजनको लेभल स्वात्तै घट्छ।

अल्छि पनि लाग्छ रे तर जनताको आवाज सुन्न ।
यसको संक्रमण भएको थाहा पाउने बित्तिकै खासमा त सत्तामै क्वारेन्टिनमा बस्नुपर्छ। त्यसैले लडाईं चल्छ त्यहाँ बस्न
मैले भनिसकें नि सत्तामा रमाएका र सत्तामा पुग्न र्याल चुहाइरहेका दुवैमा बढो तीव्र गतिमा फैलिँदो छ यसको संक्रमण।

त्यसैले यसको रोकथामको लागि प्रदेशदेखि केन्द्रसम्म विश्वास नामक खोपको खोजीमा हुन्छन् सबै,
यो भेरियन्ट सामान्य अवस्थामा उनीहरुलाई मात्र लागे पनि एउटा बेलामा भने मतदाता नामावलीमा नाम रहेका १८ वर्षमाथिका जुनसुकै नागरिकलाई पनि लाग्नसक्छ।

हुन त यो भाइरसलाई नजिक पर्न नदिनको लागि चुनावमा थरीथरी चुनावचिन्ह अंकित ब्राण्डेड साबुन, मास्क, स्यानीटाइजरहरु आउनेवाला छन्।
अझ हरेक टोलमा आइसोलेसन सेन्टर बनाउने बाचा मात्र हैन,
रातारात हरेक घरमा अक्सिजनका सिलिण्डरहरु पनि पुग्नेछन्।
तर उनीहरुको भाषणकौशलको प्रभावले, ती रमाइला बाचाहरुले गर्दा हाम्रो इम्युनिटी पावर पनि विस्तारै घट्दै जानेछ ।

अनि उनीहरुले जे भन्यो त्यही ठिक लाग्नेछ।

अनि हामी फेरि बिर्सने रोगबाट पनि ग्रसित हुन पुग्नेछौं।
अन्य रोगबाट ग्रसितलाई बढी संक्रमण भएजस्तै जति बिर्सने रोग कडा हुनेछ,
संक्रमणको सम्भावना पनि तीव्र हुनेछ।
यति भुलक्कड हुनेछौं कि हामी,
आफैंसँग भएका साबुन, स्यानिटाइजर, मास्क केही पनि लगाउन सम्झिने छैनौं,
अनि त्यो ठाउँमा जानेछौं,
जहाँ यिनीहरुको सबैभन्दा ठूलो संक्रमण हुने सम्भावना हुन्छ,

मतदान केन्द्र !

यो ठाउँ पनि अस्पतालजस्तै ठाउँ हो, जहाँ पुगेर रोगहरु त भगाइन्छ

तर,
सजगता नअपनाई गइयो भने त्यो जस्तो खतरनाक ठाउँ पनि त केही हुँदैन।
हो त्यही मतदान केन्द्रमा पुगेर फेरि संक्रमित हुन पुग्नेछौं हामी जनता।
तर यो बेला लागेको यो भाइरस भने अहिले जनताहरुलाई लागेको पहिलो दोस्रो भेरियन्ट जस्तै खतरनाक हुनेछ।
जनतामारा नै हुनेछ।

७ जेठ, २०७८, १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।