कभर स्टोरी

कोरोना कहरमा सञ्चारकर्मी : फिल्डमा नखटिई भा'छैन तर पाकेको तलब आ'छैन

कोरोना सङ्क्रमणबाट नौ जनाले ज्यान गुमाए, सात सय सङ्क्रमित


काठमाडौँ : काठमाडौँमा पत्रकारितामा सक्रिय पत्रकार दिनेश दाहालको कोरोना सङ्क्रमणबाट ज्यान गयो। काभ्रेका उनी काठमाडौँमा पत्रकारितामा सक्रिय थिए।

वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए। सास फेर्न समस्या भएपछि उनी वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भए। १५ दिनदेखि उपचाररत दाहालको शनिवार बिहान उपचारको क्रममा निधन भयो।

दाङको घोराही १७ निवासी ४० वर्षीय पत्रकार दामोदर अधिकारीको वैशाख ७ मा कोरोना सङ्क्रमणबाटै ज्यान गयो। पर्वतबाट नेपाल टेलिभिजनमा कार्यरत महेन्द्र केसीको पनि कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको नेपाल पत्रकार महासङ्घले जानकारी दिएको छ।

वैशाख २४ गते पत्रकार सन्तन राउतको कोरोना सङ्क्रमणबाट ज्यान गयो। राउत रेडियो नेपालको क्षेत्रीय प्रसारण कार्यालय दिपायलमा प्राविधिक पदमा कार्यरत थिए।  

कोरोना भाइरस सङ्क्रमणको पहिलो र दोस्रो लहरमा खबर कर्ममा सक्रिय नौ जना सञ्चारकर्मीले ज्यान गुमाइसकेका छन्। दोस्रो लहर सुरु भएपछि सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दै छ।

कोरोना सङ्क्रमणको पहिलो चरणमै नेपाल टेलिभिजनमा विगत २ दशकदेखि कार्यरत बनारसी बर्माको कोरोना सङ्क्रमणबाट निधन भएको थियो। २०७७ भदौ २२ गते निधन भएका बर्मा कपिलवस्तुबाट टेलिभिजन पत्रकारितामा सक्रिय थिए।

उनी मधेसी युवालाई पत्रकारितामा आकर्षित गराउन अग्रणी भूमिका निर्वाह गर्न सक्रिय रहेको कपिलवस्तुका पत्रकार मनोज पौडेल बताउँछन्। 

यस्तै नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युनियन धादिङका संस्थापक अध्यक्ष सिताराम बर्माको ७९ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण निधन भयो। पत्रकार बर्मा २०५० सालदेखि राष्ट्रिय समाचार समितिको धादिङ समाचारदाता थिए।

उनले २०४५ सालमा देशान्तर साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए। कान्तिपुर, गोरखापत्र, स्पेस टाइम्स दैनिक, च्यानल नेपाल टेलिभिजन, घटना र बिचार साप्ताहिकको जिल्ला सम्वाददाता भएर काम गरेका वरिष्ठ पत्रकार बर्माको कोरोनाकै कारण निधन भयो। 

काठमाडौँका पत्रकार विक्रम शाक्यको कोरोनाका कारण मृत्यु भयो। झापा बिर्तामोड निवासी पत्रकार कमल मिश्रको ४९ वर्षको उमेरमा निधन भयो। उनी दृष्टि साप्ताहिक, जनआन्दोलन लगायतका पत्रिकामा कार्यरत थिए। 

काभ्रे पोस्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक विष्णु चौलागाई ३ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। उनको २०७७ कार्तिक १४ गते कोरोना सङ्क्रमणकै कारण निधन भयो।

बढ्दै छ सङ्क्रमण

स्रोत : न्युजलाउन्ड्रीडटकम

कोरोना सङ्क्रमणको दोस्रो चरणमा दैनिक सङ्क्रमितको सङ्ख्या ९ हजार कटिसकेको छ। सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि उकालो लागेक लाग्यै छ। यो सङ्क्रमणबाट खबरकर्मी पनि जोगिन सकेका छैनन्।

पेशागतकर्मले निषेधाज्ञामा कोठामा बस्न सकिँदैन। फिल्डमा नहिडि सुख छैन सञ्चारकर्मीलाई। तर भरपर्दो स्वास्थ्य प्रणालीको अभावमा ज्यान गुमाउने र कामको सिलसिलामा संक्रिमत हुने सञ्चारकर्मीको सङ्ख्या बढिरहेको छ।

नेपाल पत्रकार महासङ्घका अनुसार अहिलेसम्म देशभर ७ सय पत्रकार कोरोना सङ्क्रमित भएका छन्। ६ जना पत्रकार आइसियुमा छन्। ३५ जना अस्पतालमा भर्ना भएका छन्।

२ सय ५० जना पत्रकार सक्रिय सङ्क्रमित रहेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए। उनीहरू कोही अस्पतालमा छन् कोही घरमै होम आइसोलेसनमा बसेका छन्। 

काठमाडौँमा सङ्क्रमित धेरै

काठमाडौँका सञ्चार प्रतिष्ठानहरूमा कार्यरत सञ्चारकर्मी सङ्क्रमित हुने क्रम बढेको छ। प्रतिष्ठान प्रदेशमा १ सय २५ जना पत्रकार कोरोना सङ्क्रमित भएको प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिए।

अध्यक्ष अधिकारीका अनुसार रासमा ११ जना, रेडियो नेपालमा १५ जना, गोरखापत्रमा १२ जना, कान्तिपुर टेलिभिजनमा ७ जना कान्तिपुर दैनिकमा ६ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन्। 

यस्तै राजधानी दैनिकमा ६ जना, नेपाल टेलिभिजनमा १० जना, माउन्टेन टेलिभिजनमा ४ जना, नेपाल प्रेसमा ३ जना, एभीन्यूज टेलिभिजनमा ३ जना, मेट्रो एफएममा ३ जना, नयाँ पत्रिकामा ३ जना सामुदायिक सूचना नेटवर्कमा ३ जना, नेपाल लाइभमा २ जना, पहिलो पोस्ट, नेपाल खबरमा २।२ जना पत्रकार सङ्क्रमित भएका छन्। 

इमेजमा २ जना, कान्तिपुर एफएममा २ जना, हिमालयन टेलिभिजनमा २ जना, रिपब्लिक मिडियामा २ जना, अनलाइनखबर, मिडिया होम, रातोपाटीमा एक एक जना पत्रकार सङ्क्रमित भएका छन्। नेपालन्युज एजेन्सीमा २ जना, न्युज २४ मा ३ जना र नेपाल एफएममा ३ जना पत्रकार सङ्क्रमित भएका छन्। दैनिक नेपाल, क्यापिटल नेपालमा एक एक जना र चाणक्यमा ४ जना पत्रकार सङ्क्रमित भएका छन्। 

प्रदेशका आधारमा सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ९ जना, प्रदेश नम्बर २ मा ८ जना पत्रकार कोरोना सङ्क्रमित भएको महासङ्घले जानकारी दिएको छ।

जिम्मेवारीले घर बस्न दिँदैन

कामको प्रकृतिले कोरोना सङ्क्रमण फैलियो भनेर कोठामा निष्क्रिय रूपमा बस्न सक्दैनन् सञ्चारकर्मी। अस्पतालको अवस्था के छ, अक्सिजन उत्पादकहरूले के गरिरहेका छन् लगायतका रिपोर्टिङ गर्न फिल्डमा नगई हुन्न।

तर जिम्मेवारी अनुसार सुरक्षित हुन आवश्यक सामान्य स्वास्थ्य सामाग्री समेत पाएका छैनन् सञ्चारकर्मीले। सङ्कटको बेलामा रोजगारी नै गुम्ने र नियमित पारिश्रमिक समेत नपाउने अवस्थामा छन् सञ्चारकर्मी।

केही मिडिया हाउसले कोरोनाको पहिलो चरणमा घटाएको पारिश्रमिक अझै समायोजन गरेका छैनन्। कोरोना सङ्कटमा परेको भन्दै अधिकांश ठुला मिडिया हाउसहरूले बैङ्कबाट सहुलियतमा ऋण लिएका छन्। तर सो ऋण मिडिया हाउसको आर्थिक समस्या समाधानमा खर्च भएको छ या व्यक्तिगत अनुगमन गर्ने संयन्त्र छैन।

यसरी सहुलियत कर्जा लिएका मिडिया हाउसहरूमध्ये केहीले नियमित पारिश्रमिक समेत नदिएको, मिडिया हाउस छाडिसकेको बाँकी पारिश्रमिक नदिएको गुनासाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेका छन्।

पहिलो लहर मत्थर भएपछि अधिकांश सञ्चार गृह पुरानै लयमा फर्कने प्रयासमा रहँदै दोस्रो लहर सुरु भयो। परिचालन, सुविधा र कार्य प्रणाली भने उस्तै रह्यो दोस्रो चरणमा पनि।

दोस्रो चरण सुरु भएपछि पनि सन्चाकर्मीलाई सङ्क्रमणबाट जोगाउने उपाय भनेको वर्क फ्रम होम नीति मात्र देखियो। कोठाबाट फोन रिपोर्टिङ गरेर मात्र नसकिने फिल्डमै खटिने सञ्चारकर्मीले न्युनतम स्वास्थ्य सामाग्रीको सपोर्ट समेत पाएको देखिएन।

केही मिडिया हाउसले यो महामारीमा पनि कार्यालय अनिवार्य गरेका छन्। तर सङ्क्रमणबाट जोगिने कुनै पूर्वाधार बनाएको देखिएन।

कसैको काम घरबाटै, कतै कार्यालय अनिवार्य

कान्तिपुर दैनिकले सञ्चारकर्मीलाङ घरबाटै काम गराइरहेको छ। कोरोनाका कारण स्वास्थ्य सावधानी अपनाउँदै जिम्मेवारी दिइएको कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले जानकारी दिए। उनले पारिश्रमिक भुक्तानीमा कुनै समस्या नरहेको दाबी गरे।

नागरिक दैनिकले आलोपालो पद्धतिमा जनशक्ति खटाइरहेको प्रधान सम्पादक गुणराज लुइँटेलले बताए।

घरमा कोही सङ्क्रमित भएमा र आफै सङ्क्रमित भएमा घरबाट काम गर्न भनिएको उनले बताए।

उनले पारिश्रमिक भुक्तानीमा केही ढिलो भए पनि नरोकिएको दाबी गरे।

उनले राजीनामा दिएका केही जनशक्तिको पुरानो भुक्तानी हुन नसकेको जानकारी दिए।

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारी भने वैशाख लाग्नु भन्दा अगाडी देखिनै घरबाटै काम गरिरहेको बताउँछन्। निषेधाज्ञा सुरु हुनु अघि नै स्वास्थ्य सावधानी अपनाएर घरबाटै काम गरिरहेको उनले बताए। 

नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहानले स्वास्थ्य सुरक्षाका सबै प्रोटोकल फलो गरेर काम गरिरहेको बताए।

पत्रकारको स्वास्थ्य सुरक्षामा संवेदशनशिल हुनुपर्ने अवस्था रहेकाले वर्कफर्म होमको अभ्यास गरिएको उनले जानकारी दिए।

कोरोना सङ्क्रमित पत्रकारको उपचारका लागि कल्याणकारी कोष र संस्थागत सहयोगको संरचना बनाएको तर अहिलसम्म सहयोग गर्नुपर्ने गरी कुनै सहकर्मीको स्वास्थ्य सङ्क्रमणबाट गम्भीर नभएको उनले बताए।

‘पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षालाई दिइएको छ,’ उनले भने,‘आर्थिक प्रतिकुलता नआओस् भन्ने कामना छ।’

रेडियो र टेलिभिजनमा आलोपालो

दुई जनाले पढ्दै आएको समाचार एक जनाले पढ्ने व्यवस्था गरेर आलोपालोको ड्युटीमा खटिएका छन् रेडियो र टेलिभिजनमा काम गर्ने सञ्चारकर्मी।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका निवर्तमान अध्यक्ष गोपाल झा देशभरका रेडियो कठिन अवस्थामा सञ्चालन भइरहेको बताउँछन्। कर्मचारी कटौती गरेर थोरै सङ्ख्याले मात्रै रेडियो सञ्चालन भइरहेको उनले बताए।

‘यो अवस्था कहिलेसम्म जाने हो ठेगान छैन,’ उनले भने, ‘सबै कर्मचारी पत्रकार उपस्थित भएर काम गर्ने अवस्था धेरै रेडियोमा छैन।’

गत बर्ष कोरोनाका कारण सञ्चार क्षेत्रमा निकै उथलपुथल भयो। ठुला सञ्चार गृहकै प्रकाशनहरू बन्द भए। धेरै सञ्चारकर्मीको रोजगारी गुम्यो। केही बेतलवी बिदामा राखिए। केहीको पारिश्रमिक घटाइयो।

सङ्क्रमणको दोस्रो लहर सुरु भए लगत्तै मिडिया नै बन्द गर्ने र निष्कासनको सूचना सार्वजनिक भएको छैन। तर संक्रमणको गति बढ्दै गयो र निधेधाज्ञा लम्बियो भने पुरानै घटना दोहोरिने जोखिम देखिन्छ।

मिडिया सोसाइटिका अध्यक्ष तथा एबीसी मिडिया ग्रुपका अध्यक्ष शुभ शङ्कर कँडेल मिडियाको आम्दानी ५० प्रतिशतले घटेको बताउँछन्। उनी आर्थिक सङ्कट गहिरिँदै गएको बताउँछन्। 

‘सबै क्षेत्र मर्कामा परेका बेला मिडिया अछुतो रहने भएन’ कँडेलले भने, ‘सरकारलाई राहतका लागि सफ्ट लोनका भन्यौ, तर अहिलेसम्म कार्यान्वयनमा भएन।’

मिडियामा भएको लगानीको आधारमा २५ देखि ५० प्रतिशतसम्म ऋण दिन सरकारलाई भने पनि अहिलेसम्म कुनै मिडिया उद्योगले पाउन नसकेको उनको दाबी छ।

मिडिया सोसाइटीले गत वर्षको कोरोनामा दैनिक कामका लागि ५ प्रतिशतसम्मको ब्याजमा ऋण दिन माग गरेको थियो। 

उनी आर्थिक सङ्कटको कारण देखाउँदै पत्रकार र कर्मचारी कटौती गर्नुपर्ने अवस्था भने नरहेको बताउँछन्।

‘पत्रकार कटौती सोलुसन होइन,’उनले भने, पत्रकार कर्मचारी कटौती गर्नु मिडिया हाउसहरूको बेवकुफी हो।’ 

पत्रकार महासङ्घ के गर्दै छ? 

केही बाहेक अधिकांश सञ्चार गृह महामारीमा पनि नाफा घाटा हेरेर सोही अनुसार व्यवहारमा केन्द्रीय देखियो। यो बेलामा सक्रिय हुनुपर्ने पत्रकारहरूको छाता सङ्गठन पनि झारा टराइको निर्णयमै खुम्चिँदै स्टन्टमा मात्र केन्द्रित देखियो।

महासङ्घसँग पत्रकार कल्याणकारी कोष छ। तर हरेक आर्थिक पाटोमा सरकारसँग माग गरेका छौँ भनेर टार्न केन्द्रित देखियो महासङ्घ नेतृत्व।

महासङ्घका अध्यक्ष विपुल पोखरेल कोरोना सङ्क्रमणबाट मृत्यु भएका पत्रकारका परिवारलाई राहत दिन सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको बताउँछन्।

सङ्क्रमित पत्रकारको उपचारमा सके निःशुल्क नभए पनि सहुलियत दिन सरकारसँग आग्रह गरेको अध्यक्ष पोखरेलले बताए। 

‘तर, सरकारले हुन्न भनेको छैन,’ उनले भने,‘सहयोग दिएको पनि छैन।’ अध्यक्ष पोखरेलले कोरोना सङ्क्रमण भएका पत्रकारलाई तत्काल रेस्क्यु गर्न देशभरिका शाखालाई आग्रह गरिएको बताए।

महासङ्घले महामारीको कारण देखाउँदै पत्रकारलाई कामबाट ननिकाल्न ध्यानाकर्षण गराएको पोखरेलले बताए।

रित्तो आइसोलेसन

महासङ्घले पहिलो लहरबाट सिकेर दोस्रो लहरमा सङ्क्रमित भएर आइसोलेसन समेत पाउन नसक्ने समस्या समाधान गर्न केन्द्रमा ९ बेडको आइसोलेसन बनाए पनि आइसोलेसन केन्द्रमा सङ्क्रमित राख्न सकेको छैन।

स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा राख्न नसकिएको उनले बताए।

‘सम्बन्धित निकायमा स्वास्थ्यकर्मी र अक्सिजनका लागि अनुरोध गरिरहेका छौँ,’अध्यक्ष पोखरेलले भने,‘केही दिनमा सबै व्यवस्था भएपछि सङ्क्रमित पत्रकारलाई आइसोलेसनमा राख्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'फुच्चे नारायणगोपाल भनिरहे तर म नारायणगोपाल बन्न सकिन'

सुरुवाती दिनहरुमा म हिन्दी गीतहरु गुन्गुनाउँथें। तर चर्चामा आएको चाहिँ नारायणगोपालकै गीतबाट हो। वि.सं. २०४४ सालतिरबाट नारायणगोपालको गीत गाउन थाल्ने बित्तिकै म सबैको नजरमा पर्न....

भक्तराजको स्वर खोसेको त्यो कालो दिन : आक्रमणकारीबारे किन मौन बसे पूर्ण नेपाली ?

त्यो समय नेपाली संगीतकै गोल्डेन युग थियो। गीतका पारखीहरु पनि उस्तै। निकै आदरभाव थियो स्रोतामाझ संगीतकर्मीहरुको। त्यो बेलाका सेलिब्रिटी यी नै त थिए।  अहिलेका पुस्ताले....

नारायण गोपाल र भक्तराजको स्वर खोसिएको नेपाली संगीतको त्यो कालो दिन

केही दिनसम्म रिहर्लसल गरिसकेपछि भक्तराज गीत सुनाउन वि.सं. २०४६ मंसिर १९ गते दिउँसो १ बजेतिर धुम्बाराहीस्थित गोपाल योञ्जनको घर  पुगे। गोपाल योञ्जनको बैठक कोठा सबैभन्दा....

वीरमा हुने स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड : व्यवस्थापकको मिलेमतोमा प्रयोग भइरहेछ फाल्नुपर्ने एक्स-रे फिल्म र सुई

उकेरालाई विशेष स्रोतले युनिफाइड केन्द्रीय अस्पतालमा मिति सकिएको एक्स–रे गर्ने फिल्म’ अनि सिटी स्क्यान गर्दा प्रयोग गरिने सुई प्रयोग भइरहेको सूचना दिएको थियो। एक महिनाको निरन्तर....

के निक्कीलाई उन्मुक्ति दिन अभियोग गम्भीर तर प्रमाण फितलो पारिएको हो ?

२०६८ चैत २८ गते छोरीमैयाँका श्रीमान् शिवकृष्ण महर्जनलाई प्रहरीले मल्होत्राकी बहिनी निक्की भनिने सुरक्षा सिंहविरुद्ध किटानी जाहेरी दिन लगायो। अपहरण तथा शरीर बन्धकको कसुरमा दिइएको....