जो आफ्नो गाँस काटेर मठ-मन्दिरका पशुपक्षीको पेट भर्छन्

जो आफ्नो गाँस काटेर मठ-मन्दिरका पशुपक्षीको पेट भर्छन्

निषेधाज्ञा अवज्ञा गर्दै आफन्तलाई टाढैबाट श्रद्धाका फूल चढाउन पशुपति परिसर पुगेका छन् मानिस। खानेकुराको आशले ती मानिसलाई हेरिरहेको छ बाँदरको झुन्ड। जलिरहेको चिता छेउको पराल खाँदैछन् केही नन्दी। चिताको धुवाँभित्र रुमलिँदै उड्दैछन् एक हुल परेवा।

केही दिनयता सञ्चार माध्यमहरुले बाग्मती किनारमा जलिरहेका शव र चितालाई ‘हट टपिक’ नै बनाए।

आयातित आलु चिप्स बाँदरलाई दिँदै सेल्फी खिच्न मानिसहरु आउन पाएका छैनन् अचेल पशुपति परिसर। साढेँलाई पिठो खुवाउन पनि सकेका छैनन् भक्तहरुले। र, आम पशुपतिका भक्तजनको हातबाट अचेल मकै खान पाउँदैनन् परेवाहरुले।

के त्यसो भए हिजोआज पशुपति क्षेत्रका पशुपक्षी भोकै छन् त?

184862171-313358793521502-270982341311768422-n

ooo
झापा, मैदार स्थायी घर भएका ३२ वर्षीय शम्भु बास्कोटा हरेका दिन सूर्य उदाएसँगै उठ्छन्। र, दुई जना भरियालाई पछि लगाएर कोठाबाट निस्कन्छन्, पशुपक्षीलाई चारो हाल्न।

भण्डार खाल, जयबागेश्वरी, भुवनेश्वरी, गुह्श्वरी  लगायतका पशुपति क्षेत्रका विभिन्न स्थानमा दैनिक करिब तीन घण्टा पशुपक्षीसँगै बिताउँछन् उनी। ‘मेरो भोला, भोक लाग्यो होला, खाउ,’ उनका मुखबाट यस्तै शब्द निस्कन्छन्।

उनले दिएको आहारा खान पाउँदा खुसीले उफ्रन्छन्, पशुपतिका बाँदर, परेवा र साँढेहरु।

‘यिनीहरु मलाई आफ्नै सन्तान जस्तो लाग्छ,’ उनी भन्छन्, ‘अरुलाई के गरे आनन्द आउँछ कुन्नि, मलाई भने यिनीहरुलाई खुवाउन पाउँदा आन्नद लाग्छ।’

आफ्नो गाँस काटेर विगत सात वर्षदेखि बेसहारा पशुपक्षी पालिरहेका उनी यसैमा आनन्द लिइरहेका छन्।

०००
शम्भु एक वर्षको हुँदा उनको परिवार सहर पस्यो। भण्डारखाल पछिल्तिरको डेरा आज पनि छ उनको। बा-आमासँगै छन् उनी। तीन भाइमध्ये उनी माइला रहेछन्।

‘सानैदेखि काठमाडौंको हावापानी लाग्यो। पढ्न सकिनँ,’ शम्भुको सबैभन्दा ठूलो गुनासो यही छ।

निम्नवर्गीय परिवार थियो। शम्भुका बालाई कामको फुर्सद नहुने। आमा गृहणी। साथी-संगी पनि शम्भुको गतिला भएनन् रे।

स्कुल जाने भनेर दिनभरि उनीहरु डाँडाकाँडा डुल्थे। बाग्मतीको बगर बगर चहार्थे। राम-रमितामा रमाउँथे।

‘निम्नवर्गीय परिवार। बा काममा जाने। आमालाई नटेर्ने। संगत पनि त्यस्तै भयो,’ शम्भुले भने, ‘पहिला बाले खुब टाइट गर्नुहुन्थ्यो। बा १६ महिना खाडी बस्नुभयो, नेपालको कमाइले केही सिप नलागेर। त्यसपछि मैले लत्तो छाडें। म बिग्रिएँ।’

पहिला पढाइ बिग्रिए पनि अचेल शम्भु स्वअध्ययन गर्दै छन्। उनी सात वर्ष विदेश बसे। त्यसै दौरान शम्भुलाई पढाइको महत्व बोध भयो रे।

‘अंग्रेजी भाषामा निकै सुधार गरें,’ शम्भु भन्छन्, ‘मैले मंगलादेवी स्कुल पढेको। सरकारी स्कुलमा मनलाग्दी पारा हुने। घरमा पनि कसैले उति ख्याल दिएनन्। डामाडोल भयो त्यसपछि।’

तर, अब भने शम्भुलाई जीवनको लय समातेको छु भन्ने लाग्छ। उनले साथीहरुसँग मिलेर गार्मेन्ट खोलेका छन्।

‘मेरा बा गार्मेन्टका मिस्त्री। उहाँबाटै मैल गार्मेन्टको काम सिकेको,’ शम्भु भन्छन्, ‘आधा उमेर हाँसखेलमै बित्यो। आधा उमेर त केही गर्नुपर्यो नि। आफ्नो लागि, परिवारको लागि।’

कोरोनाको कारण अहिले उनको कारखाना बन्द छ। नत्र उनी  १० बजे पुगिसक्थे कारखाना। कामदारसँगै दिनभर गर्थे काम। साझँ पाँच बजेपछि फेरि उनी दिनलाई मैझारो गर्न आइपुग्छन् हरेका दिन दुई भरियालाई पछि लगाएर बाँदर, साँढे र परेवाहरुको पेट भर्न।

०००
‘भरियाले दिनमा पाँच सय रुपैयाँ पाउँछन्। उनीहरुले २५० किलो मकै, १० क्रेट केरा, २० किलो पिठो बिहान बेलुका बोक्दिन्छन्,’ शम्भुले भने, ‘अहिले कोरोनाले गर्दा काम छैन। काम हुदाँ पनि बिहान-बेलुका आउँछु। पशुपक्षीको सेवा गर्छु। अचेल फुर्सद छ। दिनभर साथीभाइ भेट्यो, पशुपति डुल्यो।’

कोरोनाकालमा शम्भुको दिनचर्या पशुपक्षीलाई मात्र होइन्, अशक्त बुढाबुढीहरुलाई सहयोग गरेर पनि बित्ने रहेछ।

‘बिहान-बेलुका उस्तै टाइममा म खाना हाल्न पुग्छु। दीन-दु:खी हेरिरहन्छन्। आफूले गर्न केही सक्दिनँ। आफैं आर्थिक रुपमा कमजोर छु। आश गर्नेलाई एकएक कोसा केरा दिन्छु। खुसी हुन्छन्। केही काम भए गर्दिन्छु कहिलेकाहीँ। आनन्द आउँछ मनमा,’ शम्भुले सुनाए।

183482842-478705883398994-5330738983734664391-n

शम्भु अचेल मनको आनन्दको लागि काम गर्छन्।

०००
सन् २०१० देखि २०१९ सम्म विभिन्न समय मलेसिया, कतार, गरी सात वर्ष विदेश बसेर फर्किएका शम्भुले आर्थिक क्रान्ति गर्न सकेनन् रे। उनी अझै विदेशिने सोचमा छन्। तर, पशुपक्षीको नि:स्वार्थ भावले सेवा गर्दिने मान्छे नभएसम्म उनलाई विदेशिन आँट भने छैन रे।

‘दाताहरु छन्। उनीहरु आफूलाई चिनाउन चाहँदैनन्। उनीहरुले पैसा दिन्छन्। उनीहरुको पैसाले म किनेर पशुपक्षीलाई खाना दिन्छु,’ शम्भु भन्छन्, ‘खास गर्नुपर्ने त विकास कोषले हो। बजेट पनि छुटिन्छ रे भन्छन्। तर त्यो कता जान्छ थाहै छैन।’

०००
पहिलो लकडाउनयता भने शम्भुको जिम्मेवारी थपिएछ। उनी पहिला भण्डारखालभित्र मात्र बाँदर र चरालाई खाना खुवाउँथे। कोरोनाका कारण सबै बन्द भएपछि उनलाई पिर पर्यो रे।

‘म दिनकै पशुपतिको एक चक्कर लगाउँछु।  कोरोनाको कारण सबै बन्द भइहाल्यो। बाँदर, परेवा, साँढेको बिचल्ली देखें। अनि दाताहरुसँग कुरा गरेर मैले जयबागेश्वरी, भुवनेश्वरी, गुह्यश्वरीमा पनि तिनीहरुलाई खाना खुवाउन थालें,’ शम्भुले भने।

शम्भुलाई विदेशीन मन आफ्नै कमाइले ती पशुपक्षीलाई खान दिन पनि हो रे। ‘मान्छेले आनन्दको लागि काम गर्नुपर्छ,’ शम्भुको जीवनको दर्शन नै यही हो।

‘सधैं माडेहरुले दिएको पैसाले मात्र होइन। मलाई मेरौ कमाइको पैसाले पनि खुवाउन मन छ। तर के गर्नु? आफ्नो हौसियत पुग्दैन,’ शम्भुले भने।

पशुपक्षीलाई पनि मान्छेलाई जस्तै राम्रो खाना दिनुपर्छ। सबैले मन थामेर राम्रो खाना दिन सक्दैनन्। शम्भुलाई यस्तै लाग्छ।

‘पहिले भारतीयहरुले केरा ल्याउँथे, बाँदरलाई खुवाउन। राम्रो केरा फिर्ता लान्थे। नराम्रो खुवाउँथे। मकै पनि त्यस्तै किरा लागेको हुन्थ्यो। पिठो पनि गतिलो थिएन,’ उनी भन्छन्, ‘मलाई राम्रो खाना खानुपर्छ भने तिनीहरुलाई पनि मैले खान सक्ने खाना दिनुपर्छ। मैले खाना दिन थालेपछि बाँदरहरु मोटा भएका छन्। राम्रो खाना र सफा पानी मान्छेलाई मात्र होइन, जनावरलाई पनि चाहिन्छ स्वस्थ रहन।’

शम्भु धनको सहयोग गर्न नसके पनि श्रमको सहयोग गर्न पाउँदा मख्ख छन्। उनले यस काम वापत एक रुपैयाँ पनि नलिने उकेरासँग दाबी गरे।

‘जेको लागि जति पैसा आउँछ। त्यो तिनीहरुसम्म पुग्नुपर्छ। नत्र त नेता र ममा के फरक भो र?,’ शम्भु भन्छन्, ‘आफ्नो लागि दु:ख गरेर कमाउने हो। विचराहरुको लागि अरुकै पैसामा भए पनि खान दिन पाइरहेको छु। मेरो सौभाग्य यही हो।’

पशुपक्षीलाई खान दिन पाउनु नै जीवनको उत्कृष्ट अनुभूति ठान्छन् उनी। सबैले गर्न नसक्ने काम आफूले गर्न पाउँदा निकै गर्व लाग्छ उनलाई।

‘जीवनमा आनन्द खोज्न गर्न हुने, नहुने सबै गरियो। मेरो लागि आनन्द त अरुलाई खुवाएर आउँदो र छ त। भनेपछि म यही काम गरेर आनन्द लिन्छु,’ उनले भने।

आनन्दमा भइरहँदा शम्भु बेलाबखत आफ्नो विगतलाई पनि नापतौल गर्छन् रे।

‘मनको बह कसैलाई नकह,’ उनी कुटिल हाँसो हाँसे।

183770706-1405632076460493-6827267911518829221-n

०००
पशुपक्षीसँग मोह बस्न शम्भुलाई विदेशिनुपर्यो। विदेशी खान्कीले मोटाउनुपर्यो। ६/६ महिनामा नेपाल आउँदा उनी ज्यान घटाउन दैडिनुपर्यो। र, बिहानै एक वृद्ध सधैं बाँदर र चरालाई दानापानी गरिरहेको बखत भण्डार खाल आइरहनुपर्यो। बुढो मानिसको पशुपक्षी प्रेम देखिरहनुपर्यो।
 

‘सधैं बुढो मान्छेले बाँदर, चारालाई खाना पानी दिइरहेको देख्थें। बेलाबेला उनलाई सहयोग गर्न थाले,’ शम्भुले भने, ‘२०१९ मा नेपाल नै बस्ने गरी फर्किए। त्यसयता हरेक दिन म पशुपक्षीलाई खाना पानी खुवाउँछु। आफ्नो पैसाले खुवाउने औकात नभए पनि म तीनीहरुलाई खाना खुवाउँछु।’

०००
शम्भुलाई आफूले गरेको कामको प्रतिफल आजै भगवानले दिउन् जस्तो लाग्दैन रे। उनले आज गरेको सेवाको फल उनका सन्तानले भोलिका दिनमा पाउँछन्। उनलाई यस्तै लाग्छ।

तर, शम्भु अहिले एक्ला छन्। उनको विवाह पनि भयो रे। तर संयोगले विवाह सहमतिमा नै केही महिनामा नै टुङ्गिन पुगेछ।

‘मेरो चिनामा दुई विवाह छ भन्थे ज्योतिषले,’ शम्भु भन्छन्, ‘सकिइसकेको कुरा म सम्झन चाहन्नँ।’

विना कुनै झै-झगडा, व्यक्तिगत परिस्थितिका कारण नै सहमतिमा अलग भएकाले उनी त्यसबारे बोल्न खासै चाहँदैनन्।

‘हिजो जे भयो, राम्रोको लागि भयो हो। आज जे हुन्छ, राम्रोको लागि हुन्छ,’ शम्भु भन्छन्, ‘पशुपतिको सेवा गर्ने भएकाले पनि होला मलाई आजसम्म भगवानले सिकाउँदै, बुझाउँदै, बचाउँदै हुनुहुन्छ।’

०००
शम्भुको जीवनमा ठूला उद्देश्य छैनन्। पशुपक्षीको सेवा गर्ने। मनको सुन्ने। आफ्नो आनन्दको लागि काम गर्ने। जीवनबाट उनले सिकेको पाठ यत्ति हो।

183745620-2908114116174617-6685631688601147711-n

‘कसैलाई नराम्रो नगरुँ। मनमा हरि राखुँ। सकेको सेवा गरुँ। पैसाले कसलाई पुग्छ र? मन आनन्द भयो भने अरु कुराले अर्थ राख्दैन,’ शम्भु भन्छन्, ‘दैनिकी चलाउन पनि फेरि अर्को अर्थ भने चाहिन्छ। त्यसको लागि मैले जस्तै नि:स्वार्थ, बेअर्थ, पशुपक्षीको सेवा गर्ने गतिलो मान्छे पाए दैनिकी धान्ने अर्थ जोहो गर्न विदेश जान्थें। ३२ वर्ष भएँ। के उखाडिस् भन्छन् आफ्ना। मलाई कसैलाई देखाउन केही गर्नु त छैन। र, पनि आफ्नो मर्जीले बाँच्न पुग्ने त अर्थ जोहो गर्नुपर्यो नि।’

शम्भुलाई विदेशिने नै रहर भने छैन। तर, सामाजिक, पारिवारिक अवस्थाका कारण पनि आर्थिक क्रान्ति नगरी भएको छैन। ठूला महल बनाउने, महँगा गाडी चढ्ने रहर छैन, कमाएर उनलाई। आफ्नो दैनिकी धान्न मात्र सके शम्भुलाई शम्भुनाथको भूमिपुत्र भएर नै रहिरहन मन छ। तर शम्भुको मनमा देशमै केही गर्न सक्छु भन्ने आत्मविश्वास रहेछ।

‘देशमै केही गर्न त खोजिरहेकै छु तर त्यसले धान्न सक्ला जस्तो लागेको छैन,’ शम्भु भन्छन्, ‘बुढेसकाल लाग्न लाग्दा विदेशिने मन त छैन।’

२७ बैशाख, २०७८, १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।