शब्दमाला

सौरभको असहमतिमा मेरो असहमति

प्रजु पन्त


केही दशकयता नेपाली इतिहास, नेपाली समाजको पुनर्संरचना लगायतको विषयमा धेरै बहस भए /भइरहेकै छन्। व्याख्या गर्ने केहीले ‘नेपालको त केही नै थिएन। गए गुज्रेकै देश हो। सीमित जात र भाषालाई राज्यले संरक्षण दियो। नेपाली इतिहासकारहरूले राजा-महाराजाहरूको बढी गुणगान गरेर इतिहास लेखे’ भन्ने धारणा राख्छन्।

अर्को पक्ष ‘नेपालमा भाषा, कला संस्कृति राष्ट्रिय एकता बलियो थियो, पछि पश्चिमाले गर्दा भाँडियो’ भन्ने तर्क गर्छन्।

एक पक्षको लागी नेपाल सीमित वर्गका लागि मात्र थियो, बल्ल बहुभाषिक र बहु वर्गको हितमा राज्य हिँड्ने प्रयासमा छ भन्ने लाग्छ भने अर्को पक्षले परिवर्तन स्वीकार गर्न सकेको छैन। अहिले भएको सुधार दोस्रो पक्षका लागि विदेशी षड्यन्त्र मात्र हुन्। जे थियो हिजै  ठिक थियो। आज त विनास मात्र छ उनीहरूको दृष्टिमा।

दुवै पक्ष लेखन अनि पुस्तक प्रकाशन दुवैतिर सक्रिय छन्। यसमा लेखक सौरभ पनि सक्रिय छन् र माथि व्यक्त दुई विचार समूहमध्ये उनी दोस्रो समूहको प्रतिनिधित्व गर्छन्।

त्यही विचारको शृङ्खला हो उनको हालसालै प्रकाशित पुस्तक ‘असहमति ३’।

OOO

६ अध्याय ३५ शीर्षकका लेखहरूको सङ्ग्रह रहेको यो पुस्तकमा समेटिएका केही लेखहरू पहिल्यै पत्रिकाहरूमा प्रकाशित भएका लेख हुन्। केही नयाँ छन्।

पुस्तकमा लेखकले इतिहास, राजनीति, संस्कृति, प्रकृति लगायतमा पक्षमा आफ्नो धारणा प्रस्तुत गरेका छन्। यसअघिका पुस्तकमा उनले सन्दर्भ सामग्री राखेका थिएनन्। यसपालि भने उनले सूची राखेका छन्। सूची राख्नु बाध्यता भएको बताएका उनले असहमतिका ५ औँ पुस्तक आउँदा यसको रहस्योद्घाटन गर्ने पुस्तकमै उल्लेख गरेका छन्।

अध्याय १ असहमतिमा १२ वटा लेख छन्। समसामयिक विषय अनि सौरभका यी लेखहरूमा नै मेरो असहमति भएकाले यो टिप्पणी पनि यसैमा केन्द्रित छ।

OOO

यस अध्यायको पहिलो लेख ‘मार्क्स र क्राइस्टबाट मुक्ति’ मा मार्क्सको सिद्धान्तको विरोध गरेका छन्। तर मार्क्सको सिद्धान्तको विरोध गर्ने निहुँमा गरिब, निमुखा, राज्यद्वारा अपहेलित र पीडितहरूको समेत अपमान गरेका छन्। म स्वयं मार्क्सवादी भने हैन। तर लेखकले जुन तरिकाले लेखेका छन्, त्यसमा सहमत हुन सकिन।

‘सर्वहाराको अधिनायकत्व भन्ने मार्क्सको वैचारिक धरातल नै अवैज्ञानिक छ। नामै सर्वहारा, जोसँग विवेक, बुद्धि, ज्ञान, शिक्षा, संस्कृति, सम्पदा र सम्पत्ति केही पनि छैन त्यसले आफू र आफ्नो परिवार, आफ्नो समाज देश र संसारलाई के दिनसक्छ? देन भएकाले गर्ने हो, निर्धनले दिने भनेको हरेक कोणले दिने निर्धनता हो।’ (पृष्ठ ७)

यसमा प्रश्न उठ्छ के गरिबले राजनीति गर्न हुन्न? गरिब आफ्नै कारणले निम्न वर्गमा परेका हुन्? नेपालका गरिब, दलित, जनजाति यो राज्यको विभेदकारी नीतिले गरिब, सर्वहारा भएका हुन् कि उनीहरूकै रहरले?

पिछडिएका समुदायलाई सौरभको यो हदसम्मको उपेक्षा र हेपाहा प्रवृत्ति उदेकलाग्दो छ। गरिब र निर्धन भएर जन्मनु उनीहरूको दोष हो भन्ने उनको दृष्टिकोणमा कसरी सहमत हुन सकिन्छ?

निर्धनले हरेक कोणले दिने निर्धनता नै हो भनेका छन् सौरभले।

नेपाली राजनीतिमा सौरभले समर्थन गरेका नेता हुन् अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली। निम्न आर्थिक पृष्ठभूमिका ओली हुन् ओली। यही कारण हो त ओली नेतृत्वको सरकारले निर्धनता दिएको?

उनको अर्को तर्क : निर्धनको बुद्धि नै हुँदैन। सौरभ राज्यको संरचना,स्रोत र साधनको बाँडफाँडले एक वर्ग निर्धनमा पारिएका हुन् भन्ने कुरामा सहमति राख्दैनन्। उनी उल्टो हुनेले सत्ता चलाउने हो भनेर व्याख्या गर्छन्।

आफ्नो सम्पदा, संस्कृति नभएकाले के दिन सक्छन् भन्ने सौरभलाई प्रश्न छ, एक भाषा अनि एक भेष नीतिलाई  राज्यले  प्रशय दिँदा अन्य भाषा र संस्कृति संरक्षणको अभावमा नासिएको हैन? राज्यको अनुदार नीतिका कारण आफ्नो संस्कृति,  सम्पदा नासिएकाहरूको पक्षमा उनी किन यति अनुदार? यसमा संस्कृति र सम्पदाहीन भएका वर्गको दोष हो कि राज्यको अनुदार नीतिको परिणाम?

‘मार्क्स र क्राइस्टबाट मुक्ति २’ मा सौरभले लेखेका छन् ‘नेपाल कम्युनिस्ट पार्टी भित्र घुसेर हेर्ने हो भने ओली कुनै हालतमा कम्युनिस्ट होइनन्। सामन्त हुन्।’ (पृष्ठ १६ )

सौरभका सार्वजनिक भएका विचार पढ्ने हो भने सहजै देखिन्छ उनको मनमा रहेको प्रधानमन्त्री ओली प्रेम। उनले प्रेम गर्नुमा ओलीमा रहेको त्यही सामन्त चरित्र कारण हो त? पुस्तकमा यो खुुल्दैन। हठ मात्र देखिन्छ।

‘सेक्सपियरका दुखान्तहरू सुखान्त भन्दा बढी लोकप्रिय भए र उनलाई प्रसिद्धि पनि तिनैले दिए। यसैले सल्वार्टनका नाममा हलिया, कमैया, कमलरी, छाउपडी आदिका नाममा लेखिने रचिने सामाग्रीले आफूलाई उकास्छ भन्ने भयावह मनोविज्ञान देखिन्छ।’ (पृष्ठ १७)

यही शीर्षकमा अर्को लाइन छ, ‘टाइम मोसन चौथो आयाम हो। सापेक्षतावादको सिद्धान्त पढाउन थालेको सदियौँको हाराहारीमा छ। तर माघ आउने बित्तिकै स्वस्थानी व्रत कथाको र भानु जयन्ती आउने बितिक्कै बधु शिक्षा उचालेर तिनको निन्दा गरिने र क्रान्तिकारी दरिने भयानक होड छ।’ (पृष्ठ १७)

पुस्तकमा लेखकको परिचयमा ‘लिखित इतिहासपूर्वक नेपालको अवशेष खोज्नु र त्यसलाई वर्तमान पक्षहरूसँग जोडेर हेर्नु उनको रुचि हो’ भनी लेखिएको छ। माथिको उनको दृष्टिकोण अनि पुस्तकमा राखिएको उनको परिचयबिच मेल भयो र?

लेखक स्वयंलाई इतिहास पूर्वको नेपाल अवशेष खोज्न र वर्तमान पक्षसँग जोडेर असहमति प्रकट गर्न मन लाग्ने हो भने बधु शिक्षा (जहाँ चर्को हाँस्ने महिलालाई ‘वेश्या’ भनिएको छ।) र स्वस्थानी (जसले बालविवाह देखि महिलाको अपमान गरिएको छ।) समीक्षा तथा आलोचना गर्नेलाई क्रान्तिकारी देखिने होड भनेर किन अवमूल्यन गरे उनले?

यी दुई पुस्तकमा असहमति राख्न पाइन्न? आफूले असहमति राख्दा अरूको असहमतिलाई शङ्काको दृष्टि किन?  कट्टर हिन्दुवादीमा झैँ सौरभको मनमा गढेको बधू शिक्षा र स्वस्थानीको प्रेम अनौठो छैन र?

OOO पाठ ३ ‘संविधानलाई बाच्ने अधिकार छ?’ शीर्षकमा सौरभले संविधानका विभिन्न धारामा असहमति दर्शाएका छन्। मेरो ध्यान भाग दुईको नागरिकताबारे प्रावधानबारे सौरभको असहमतितिर गयो। 

सौरभ लेख्छन्, ‘नागरिकता अन्तर्गतको धारामा अङ्गिकृत नागरिकता प्रदान गर्न सकिने धारा ९ मा सम्मानार्थ नागरिकता दिने/प्रदान गरिने व्यवस्था छ। अङ्गिकृत नागरिकता मूलतः दक्षिणी सीमापार गरी बस्ने सम्मानार्थ नेपालप्रति अभीष्ट राखेर लामो समय यहाँ बस्ने विद्वान भइटोपल्ने पश्चिमा षड्यन्त्रकारीहरूलाई स्थापित गरिने उद्देश्यले व्यवस्थित गरिएको स्पष्टै छ।’ (पृष्ठ २३)

नागरिकताबारे संविधानमा राखिएको प्रावधानमाथि असहमति जनाउने क्रममा उनले नेपालको भौगोलिक विविधतालाई अस्वीकार गर्ने र मधेसका नेपालीलाई नेपाली स्वीकार गर्न नसक्ने आफ्नो विषालु सोच सार्वजनिक गरे।

उनी एक भाषा अनि एक भेषको पञ्चायती नीतिबाट कति धेरै प्रभावित रहेछन् र बहु भाषा, बहु धर्म र बहु संस्कृतिको सम्मानप्रति कति धेरै घृणा रहेछ भन्ने यसै धारणाबाट सार्वजनिक पनि गरे।

नागरिकता धेरै तातो बहस हुँदा पनि नटुङ्गिएको विषय हो। महिलाका हकमा कायम विभेदकारी नीति अझै हट्न सकेको छैन। विदेशी महिला विवाह गर्ने पुरुष अनि विदेशी पुरुष विवाह गर्ने महिलालाई समान रूपमा हेर्न सकेको छैन कानुनले। लडाईं जारी छ यसमा।

यो देशमा जन्मेकी महिलाले विदेशीसँग विवाह गरेर नेपालै बस्न चाहेको खण्डमा उसको श्रीमान् र सन्तानले नागरिकता पाउन सक्दैनन् अझै। लेखक यता प्रवेश गर्न चाहेका छैनन्। यसको अर्थ यसमा उनको असहमति छैन।

यस्तेै राष्ट्रिय स्तरमा बहस भएको विषयमा उनी पटक्कै प्रवेश गरेका छैनन्।

 ‘यो संविधानलाई च्यातेर फाल्नुबाहेक नेपाली जनतासँग अर्को उपाय छैन।’ (पृष्ठ २८)

सौरभले पनि च्यात्ने भनेको संविधान मधेसवादी दलले त जलाएकै हुन्। मधेस केन्द्रित दलले अझै पूर्णरुपमा संविधान स्वीकार गर्न सकेका छैनन्। उनीहरूको नजरमा संविधान अझै विभेदकारी छ मधेसको हकमा।

तर, सौरभले च्यात्नुपर्छ भन्नुको कारण भने फरक छ। नेपालका नागरिकले चुनेका प्रतिनिधिले बनाएको संविधान उनको नजरमा विदेशी इशारामा लेखिएको हो। कुन विदेशी? इशारामा के-के लेखिए? तथ्य छैन। फगत तर्क र तथ्यहीन आरोप मात्र छ।

बुद्धिजीवी शीर्षकमा उनले लेखेका छन्, ‘जो मनोनित सांसद, सभासद् र समानुपातिक संसद् पुगेको पात्र आदि हो त्यसलाई माननीय भन्ने छैन।’ (पृष्ठ २३)

समानुपातिक प्रणालीका केही विकृति नभएका हैनन्। द्रव्य मोही केही नेताले यसलाई बिक्री लायक बनाएका पनि हुन्। तर यही प्रावधानका कारण ठूलो सङ्ख्यामा महिला, दलित, पिछडिएका वर्ग, अल्पसङ्ख्यक समुदायका प्रतिनिधि सांसदसम्म पुग्न सफल भए। के यो सफलता हैन?

समानुपातिक व्यवस्था जसले पिँधमा रहेका समुदायलाई आफ्नो आवाज बुलन्द पार्न सहयोग गरेको छ, कानुन बनाउने ठाउँमा आउने मौका दिएको छ। यसलाई पूरै असहमति जनाउनुको कारण कुण्ठा बाहेक थप तर्क भेटिएन उनको पुस्तकमा।

कांग्रेसको नेकपामा विलयन उपशीर्षकमा लेखेका छन्, ‘मार्क्सवादीहरुले कुनै आइडियोलोजी नभएको पार्टी भनेर आरोप लगाउने गरे पनि कांग्रेस आइडियोलोजी त परको कुरा कुनै दिमाग समेत नभएको पार्टी हो भनेर ऐतिहासिक रूपमै स्वयंसिद्ध भइसकेको छ।’ (पृष्ठ ३९)

‘नरम पन्थी मार्क्सवादी एमालेलाई टाङमुनिबाट छिराएको नेपाली कांग्रेस जब स्वयं उग्रपन्थी मार्क्सवादी भनिएको माओवादीको टाङमुनिबाट छिरेको छ।’ (पृष्ठ ४१) 

यी हरफ पनि तर्क र तथ्यभन्दा भडासको भाव देखिन्छ। तथ्यगत विश्लेषण भेटिन्न। भडास मात्र भेटिन्छ।

‘संविधानमा सङ्घीयता र धर्मनिरपेक्षताको मुद्दाबाट ध्यान हटाउन माओवादीमार्फत पश्चिमाले लादेको एजेन्डा हो। अत्यन्त सुनियोजित।’ (पृष्ठ ४०)

बहु धर्मावलम्वीको देश भन्ने अनि धर्मनिरपेक्षतामा किन यति साह्रो असहमति हो लेखकको? राज्यको कुनै धर्म या जात या वर्ग या क्षेत्रको आधारमा व्यवहार नगरी समान व्यवहार गर्नुजत्तिको उत्तम व्यवहार के हुन्छ होला? लेखकले लेखे ‘कलियुगमा सङ्घ नै बल हो भन्ने गरिन्छ... सङ्घीयताको नाउँमा फुटाउँदै जाने चलन पनि थुपारिएको छ।’ (पृष्ठ २७)।

सङ्घीयताको अर्थ फुटाउनु हो? अधिकार प्रत्यायोजन गरेर भुईंतहको नागरिकको आँगनमै सरकारी सुविधा पुर्‍याउनु देश टुक्रा-टुक्रा पार्नु हो?

असहमति ‘बाटै अलग’ अध्यायमा उनले दाइजो प्रथा, दास प्रथा, छुवाछुत प्रथा नेपालको नभई दक्षिणतिरबाट आएको तर्क गरेका छन्।

‘दाइजो पाइएन भनेर घर निकाला गर्ने चलन  हाम्रो होइन। जो आफ्नो जन्मघर छाडेर आश्रित हुँदै आएकी छ, आफ्नो थर र परिचय समेत त्यागेर शरणार्थी हुन आएकी छ, त्यसलाई अमानवीय दुर्व्यवहार गर्ने परम्परा हाम्रो होइन।’ (पृष्ठ ७५)

त्यस्तै ‘नेपाली महिलाले श्रीमान्लाई र आमालाई ढोग्ने चलन हो अरूलाई होइन।’( पृष्ठ ७६)

आयातित विकृति वर्णव्यवस्था, दास प्रथा , छुवाछुत प्रथा तथा दाइजो प्रथा दक्षिणबाट आएको हो भनेर कोरा असहमति मात्रै राखेका छन् उनले। यसमा पनि तथ्य कम भडासको मात्रा नै बढी भेटिन्छ।

महिलालाई विवाह गरेर शरणार्थी भएर श्रीमान्को घर जाने हुन् भन्ने लेखाइले नै उनको मनोवृत्ति छताछुल्ल पार्छ नै। हुन त विवाह प्रथामा मेरो असहमति छ। यसमा थप लेखकले आश्रित बन्न आएकी, थर र परिचय त्यागेर आएकी भनेर विवाहित महिलालाई थप विचरा पात्र बनाउने दुष्प्रयास गरेका छन्।

विवाह प्रथाले नामेट पारेको महिलाहरूको थर, परिचय र सम्पत्तिको हकबारे लेखकको असहमति देखिँदैन। महिलालाई होच्याएका संस्कारमा पनि लेखकको असहमति देखिँदैन।

लेखकको असहमति कुनै प्रथाले सम्बन्धित समुदायलाई कति पीडा दिएको थियो भनेर केलाउनुभन्दा पनि त्यो प्रथा नेपालको हैन, आयातित हो भन्ने पाङ न पुच्छरको तर्क मात्र गरेका छन् असहमतिको अध्याय एकभरि।

०००

अध्याय दुईमा मगरहरू, तीनमा आत्मबोध ,चारमा व्यक्तिचित्र, पाँचमा परिवेशतिर र अन्त्यमा फुर्सदमा अध्याय छुट्ट्याएका छन्।

मगरहरू अध्यायको परिभाषाको विवाद शीर्षकमा ‘जाति होइन संस्कृति : मगर जाँची बिचारी राख्न’ दिव्य उपदेश– पृथ्वीनारायण शाह । न्यायको सबै पक्ष अर्थात् वादी–प्रतिवादीबीच सबैलाई आयाम गरेर धेरै विचार गरेर मात्रै निर्णय क्षमता सही न्यायको निम्ति आवश्यक छ। त्यो क्षमता मगरमा मात्रै हुन्छ भन्ने निर्क्योल हो’ भन्ने लेखकको व्याख्या छ। (पृष्ठ ११३)

पृथ्वीनारायण शाह जातिवादी थिए भन्नेहरूलाई प्रष्टीकरणको प्रयास गरेका छन् उनले। यसको अन्य प्रयोजन देखिन्न।

अध्याय तीनमा आत्मबोध अन्तर्गतका पाठहरू पढ्दै जाँदा लेखक चीनप्रति नरम र भारतप्रति कडा देखिन्छन्। पछिल्लो समय केही लेखकहरू नेपालमा मौलिकता केही पनि थिएन सबै विदेशबाट आयातित मान्नेहरूलाई सौरभले आफ्नो मौलिकताबारे तथ्य सहित व्याख्या गर्ने प्रयास गरेका छन्।

अध्याय ४ व्यक्ति चित्रमा, योगी नरहरिनाथको हस्तलिखित दस्तावेजहरू २०१५ सालमा सरकारद्वारा प्रहरी खटाएर आगो लगाइएकोमा उनले विरोध गरेका छन्। अझै पनि पुस्तकालयमा आगो लगाउनेलाई संरक्षण गर्ने राजनीतिक दलमा पुस्तकप्रति, अभिलेखप्रति कुनै माया छैन भन्ने पुष्टि हुन्छ नै। कांग्रेसी सरकारले पुस्तक जलाउन पठाएकोमा उनको असहमति छ।

यो घटना किन घट्यो? यस पुस्तकमा उल्लेख गरेका छैनन्। 

पुस्तक सङ्कलन गरेकै आधारमा कांग्रेसले प्रहरी पठाएर जलाउन लगाएको हो कि या अन्य केही कारण थियो? पाठकलाई दिग्भ्रमित तुल्याउँछ।

सँगै यो घटना २०१५ सालमा नभई २०१७ सालमा घटेको हो। २०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री थिएनन् उनी २०१६ साल जेठमा प्रधानमन्त्री भएका हुन्। लेखकले यसमा ध्यान पुर्‍याएको देखिएन।

गोरखामा २०१७ कात्तिक कर्मवीर महामण्डलको झन्डा लिई ‘नेपाली कांग्रेस धोका हो, पक्षपाती सरकार मान्दैनौँ’ भन्ने कांग्रेसविरोधी कडा नारा लगाउँदै अड्डा अगाडि जुलुस आउँदा प्रहरीसँग भिडन्त भई ढुंगामुढा, लाठी चार्जपछि गोली काण्ड भयो।यी सबै कुरा योगी नरहरिनाथको उग्र भाषणका कारण भएको भनियो। सायद त्यसैको उपज थियो की पुस्तकालय जलाउनु?

योगी नरहरिनाथ राजनीतिमा पनि लागेका थिए। योगी नरहरिनाथ २०११ सालबाट नै राजनीतिमा लागेको कुरा महेशराज पन्तको पुस्तक ‘नेपाली इतिहासको परिवेश केही ऐतिहासिक र मसीजीवी पुस्तकमा उल्लेख गरेका छन्।

‘वि.सं. २०११ ताका राजनीतिमा लागिसकेका थिए। तपाईँ ठूलो विद्वान हुनुहुन्छ राजनीतिको सम्पर्कले तपाईंको विद्याभ्यासमा कुनै वाधा पुराउला भनी नरहरिनाथलाई नयराज पन्तले भन्दा तपाईं पनि दरिद्र, म पनि दरिद्र। पैसा नभई काम चल्दैन भनी जवाफ दिएका थिए।’

योगी नरहरिनाथ लेखपढ गर्ने इतिहासको खोजी मात्रै गर्ने भएको भए सायद पुस्तकहरू जल्दैनथे होलान्।

तर, जे कारण भए पनि पुस्तकालय जलाउने काम चेतलनशील समाजले स्वीकार गर्नसक्ने घटना हैन। लेखकले भनेजस्तै कुठाराघात हो। यसमा भने मेरो पनि असहमति छ।

खण्ड ५ परिवेशमा शीर्षक चङ्गेजी बाछिटामा उनले लेखेका छन्, ‘शासक परिवारबाट आएकाले हुनुपर्छ, जगमान गुरुङमा राष्ट्रिय एकतालाई सर्वोपरि मान्ने नीति र भाव प्रवल रहेको ।(पृष्ठ १८७ )

सीमित जात र सीमित थरलाई शासक बनाइएको कुरा सबैलाई थाहै छ। यो धारणा राखेर अन्य जात र परिवारको राष्ट्रिय एकतामा नै शङ्का गरेका छन् लेखकले।

अर्को रमाइलो तथ्य यसै अध्यायको ‘नभएका भए वाल्मिकी, हुँदैनथे होमर’ मा वाल्मिकीले रामायण नलेखेको भए व्यासले महाभारत लेख्न सम्भव थिएन। न होमरले।

इलियड एवंम ओडिसि होमर २८ सय वर्ष पूर्वका ग्रिक काव्यकार हुन भनेर उनले लेखेका छन्। रामायण, महाभारतका पात्र र होमरले लेखेका पात्रहरू जोडेर रोचक तरिकाले पस्केका छन् सौरभले। यो अध्याय पढ्दा रमाइलै लाग्यो।

फुर्सद अध्यायको ‘सहर एक पखेटारहित’ शीर्षकमा एउटा लेख छ। काठमाडौँ कस्तो थियो भन्ने प्रश्नको उत्तर सबैले झाडी थियो, स्याल कराउँथ्यो, फाँट थियो घर बने भनेर जिकिर गरेकाले यो लेख लेखिएको बताएका छन्।

तर, यसमा उनले चराको मात्रै गुणगान गरेका छन्। उनको यो लेख पढेर काठमाणडौँको समग्र त परको कुरा सोलोडोलो जानकारी समेत पाउन सकिँदैन।

लेखकले ध्यान नपुर्याएको केही कुरा

लेखकले ‘चङ्गेजी बाछिटा’ शीर्षकको केही कुरामा मिति र भनाई ध्यान पुर्यनएको देखिएन। ‘न्याय नपाए कास्की जानु’ (पृष्ठ  १९० ) न्याय नपाए गोरखा जानु विद्या नपाए कास्की जानु हो। पछि काशी भएको धेरै इतिहासकारहरुले लेखेका छन्।

त्यस्तै पृष्ठ १४५ मा ‘..खास गरी पाटन जिल्लामा यस्ता चैत्यहरू जति पनि देख्न सकिन्छ’ भनी लेखेका छन् ७७ जिल्लामा नेपालमा पाटन नाम गरेको जिल्ला छैन।

कुनै बेलाको पाटन अथवा अहिलेको ललितपुर लेखेका छैनन्। पृष्ठ ३७ नेपाली कांग्रेसका महासचिव लेखेका छन् जब कि कांग्रेसमा महासचिव भन्ने पद नै छैन। महामन्त्री छ।

त्यसैसरी लेखकले सिधै नाम लिएर विरोध नगरेर बाबुराम भट्टराईलाई नानीराम। आनन्द जोडिएका साधु भनेर स्वामी आनन्द अरुणको व्यवहारलाई प्रकट गरेका छन्। नामै लिन लेखकलाई किन गाह्रो भएको हो बुझिएन।

अन्त्यमा,

यो पुस्तक लेखकको असहमतिमा असहमत हुँदै पढ्दा भने रमाइलै छ। 

OOO

पुस्तक : असहमति ३

प्रकाशक : बुक हिल

मूल्य रु ५०० (पातालो गाता)

लेखक : सौरभ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नयाँ भेरियन्ट

अरु कोरोना जस्तै यसले स्वाद हराउने, गन्ध हराउने हैन, विवेक हराउने लक्षण देखाउँछ । फोक्सोमा हैन, सिधै दिमागमा आक्रमण गर्छ । अनि प्रभाव....

समावेशी मुद्दाले 'फ्लप' भएको साहित्य महोत्सव

फागुन १९ देखि २२ गतेसम्म जनकपुरमा आयोजना भएको कार्यक्रम समावेशी नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो। आलोचनाको प्रभावले चार दिनसम्म चलेको महोत्सव खल्लो देखियो। महोत्सवमा....

प्रधानमन्त्री पत्नी राधिकाको पुस्तक अंश: ओलीलाई देखाउँदै सइले भने ‘गाडी दायाँ लैजा, यो बाँचोस्’

मसँग त्यति प्रबल निजी इच्छा नभएर पनि हुन सक्छ वा उहाँले मुलुकका लागि लिनुभएको बाटो यसका लागि प्रतिकूल भएर पनि हुनसक्छ, हामीले आफू, परिवार, सम्पत्ति....

पदमको विश्रामपुर सार्वजनिक

प्रकाशकका अनुसार उपन्यासमा राजनीतिले लगातार चुसेको देहाती गाउँको कथा समेटिएको छ। आञ्जलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत सङ्ग्रहदेखि यता चार दशकको राजनीतिक,....

'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरूमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरूको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर 'कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको....