कोरोना कालमा धन्दा : अस्पताल भन्दै झुक्क्याएर होटलमा, होटल सञ्चालक र चिकित्सक संलग्न

कोरोना कालमा धन्दा : अस्पताल भन्दै झुक्क्याएर होटलमा, होटल सञ्चालक र चिकित्सक संलग्न

फेसबुकमा कोभिड १९ इमर्जेन्सी ग्रुप पेजमा राखिएको यो सन्देश फैलिएको छ अहिले।

सङ्कटको बेलामा कसैले आफ्नो निजी सवारीसाधनलाई एम्बुलेन्स बनाएका छन् त कसैले अस्पतालको बेड खोजिदिने, प्ज्जामा लागि दाता खोज्ने लगायतका अभियान चलाएका छन्। सरकारी स्वास्थ्य संयन्त्र र सुविधाले नधानेको बेला सहृदयी मनहरू निस्कनु सकारात्मक नै हो। अर्को सह्यदयी समूह बनेछ भनेर सोधखोज गर्दा यो समूह सहयोग मन हैन व्यापारी योजनासहित आएको खुल्यो। त्यो पनि अस्पतालको सुविधा भन्दै झुक्क्याएर होटेलको कोठामा लैजाने।

यसमा संलग्न देखिए होटेल एल्लो प्यागोडा, चिकित्सक, मेडिकल व्यापारी। उनीहरूले यो महामारीमा कोरोना सङ्क्रमणबाट समस्यामा परेकाहरूसम्म सहज सम्पर्क बनाउन सहयोग शब्दसँगै सामाजिक सञ्जालको उपयोग गरेका छन्।

सो पोस्टमा बेडको लागी सियाना कार्की, अक्सिजनका लागि अनिल रिजाल,  आइसियुको लागि अरुण चन्द र डा अमृत भुसाल, रगत तथा प्लाज्माको लागि कुनाल मिश्र र औषधिजन्य मेडिकल सामाग्रीका लागि जीवन अधिकारीलाई सम्पर्क गर्न भनिएको छ।

भाइरल पोस्टमा दिइएको नम्बरबाट डा अमृत भुसाललाई सम्पर्क गर्दा उनले आफू गौतम बुद्ध अस्पताल र भक्तपुर इन्टरनेशनल हस्पिटलमा आइसियु मिलाउने काम गर्ने गरेको बताए।

‘हामीलाई आजै आइसियु चाहिएको छ, सम्भव छ’ भन्ने उकेराकर्मीको जिज्ञासामा  भुसालले भने‘ १० वटा नयाँ आइसियु बन्दै छ। भोलि बिहान कल गर्नुस्।’

‘पैसा कति लाग्छ ?’ भन्ने जिज्ञासामा भुसालले‘ सरकारले १५ हजार तोकिदिएको छ। अब हेरी हेरी हुन्छ। बिरामी हेरेर,अस्पतालको चाप हेरेर।’

‘अनि सहयोग भन्नु भएको रहेछ, निःशुल्क हो?’

‘होइन,होइन, हाम्रो टिम डाक्टरहरूको त्यसले गरिराको हो।’

‘कहाँ छ त आइसोलेसन?’

उनले भनेको आइसोलेसन होटेलको कोठा रहेछ। सो समूहले कान्ति पथको होटेल एल्लो प्यागोडामा सय कोठा लिएका रहेछन्।

‘होटेल एल्लो प्यागोडामा १०० कोठा छ। त्यहाँ हाम्रो सबै सुविधा दिएर राखेको छौँ।’

‘सबै सुविधा भन्नाले?’

‘डाक्टर, नर्सको २४ घण्टै निगरानी हुन्छ।’

‘अनि पैसा ?’

‘सिङ्गल कि डबल? सिङ्गल भए ८ हजार, डबल भए ६ हजार।’

उनीहरूको समूहबारे जिज्ञासा राख्दा उनले ‘मेडिकल व्यवसायी र डाक्टरहरू सहित रहेको बताए। उनले भने’तपाइले जुन  पोस्ट पढेर फोन गर्नु भयो। लगभग त्यही टिम हाम्रो हो।‘

भुसालले दिएको जानकारी अनुसार यो धन्दामा डक्टरर्स होम, युवा चिकित्सक नेपाल, चिकित्सक महासङ्घ  र यूथ फर  नेशन संलग्न  छन्।

उनले अस्पतालको साटो दैनिक ८ हजार लिएर होटेलको कोठामा लगेर राखे पनि बिरामीलाई गाह्रो पर्यो भने सबै आपत्कालीन उपचार हुने दाबी गरे।

‘कुनै कुराको अभाव हुँदैन। अक्सिजनको लागि हाम्रो आफ्नै उत्पादन छ। मेडिकलका लागि औषधि डिलर पनि हाम्रै हो। डाक्टरहरू भएपछि आइसियु, भेन्टिलेटर मिलिहाल्छ। ब्लड, प्लाज्माको लागि  हाम्रा प्यासेन्टहरु छन्। समस्या  हुन्न।’

‘सेवाको नाममा व्यापार जस्तो पो भयो त भन्ने जिज्ञासा उनले भने ‘अस्पताल जान सक्ने अवस्था छैन। हामीले अस्पतालकै जस्तो सेवा दिन्छौँ। यो पनि सहयोग हो।’

OOO

होटेल एल्लो प्यागोडाले भने कुनै समूहसँग नमिली आफैले आइसोलेसन सेन्टर चलाएको दाबी गर्यो। होटेलका फ्रन्ट डेस्क अफिसर सन्तोष  खनालले दाबी गरे‘ हामी आफैले आइसोलेसन सञ्चालन गरेका हौँ। हामीसँग १०८ कोठा छन्।’

सो होटेलले कोरोनाको पहिलो कहरमा समेत होटेललाई आइसोलेसनको रूपमा प्रयोग गरेको थियो। खनालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिएको दाबी गरे।

तर उकेराको खोजमा उनीहरूले कुनै सरकारी निकायसँग अनुमति लिएको देखिएन। न उनीहरूले कसैसँग स्वीकृत लिएको देखियो न सरकारी शुल्क अनुसार उनीहरूले आइसोलेसन केन्द्र चलाएको नै देखियो। आफूखुसी होटेलको कोठालाई आइसोलेसन सेन्टर बनाएर शुल्क असुलेका हुन्।

OOO

खनालको दाबी अनुसार स्वास्थ्य मन्त्रालयका अधिकारीसँग जिज्ञासा राख्दा उनीहरूले अनुमति नलिएको खुल्यो। स्वस्थ तथा जनसङ्ख्या मन्त्रालयका सहायक सूचना अधिकृत गणेश श्रीवास्तवका अनुसार होटलहरुमा आइसोलेसन केन्द्र बनाउनेबारे छलफल भए पनि कुनै एक होटेललाई मात्र आइसोलेसन केन्द्रको रूपमा चलाउन अनुमति नदिएको बताए।

'होटेलमा आइसोलेसन राख्ने भन्ने कुरा भएको हो तर हामील स्वीकृति दिने कुरा हुँदैन,' श्रीवास्तवले भने'पर्यटन मन्त्रालय र सिसिएमसीले निर्णय गर्छ। हामीले कसैलाई स्वीकृति दिएका छैनौँ।'

पर्यटन मन्त्रालयका अधिकारीले विदेशबाट आउनेहरूलाई होटेलमा राख्नेबारे छलफल भए पनि नेपालमै रहेकाहरूलाई राख्न कुनै होटेललाई स्वीकृत नदिएको बताए।

 ‘बाहिरी देशबाट आउनेको लागि कुन कुन स्टार होटेलमा  आइसोलेट भएर बस्न पाउँछन् भन्ने लिस्ट सार्वजनिक गर्दै छौँ,’ पर्यटन मन्त्रालयका प्रवक्ता प्रेम सुवेदीले भन्छन्‘ हामीले स्वीकृति दिए पछि मात्र राख्न पाउँछन्। अन्यथा त्यो अवैध हो।’

एल्लो प्यागोडाका खनाललाई यसबारे कुनै चासो देखिएन। उनले भने  ‘पोहोर कोभिडको बेलामा नि हामीले राखेका हौँ। अहिले पनि  राखेका छौँ।’

अनि अस्पताल भनेर प्रचार गरेर होटेलको कोठामा राख्न मिल्छ भन्ने जिज्ञासामा खनालले ‘मिनी अस्पताल जस्तै सुविधा रहेको’ दाबी गरे।

‘बिहान-बेलुका दुई जना डाक्टर आउनु हुन्छ। दुई जना नर्स २४ घण्टै हुनुहुन्छ,’ खनालले भने‘ ५० कटेका, दीर्घ रोग भएकालाई हामी राख्दैनौँ। यसो ज्वरो आएको, बस्ने ठाउँ नभएकोलाई साधारण उपचार सहित राखेका हौँ।’

डा भुसालले सबै खाले बिरामीको लागि आइसोलेसन भएको दाबी गरेका थिए। भुसालका अनुसार एल्लो प्यागोडामा सञ्चालित आइसोलेसन उनीहरूको हो। तर, होटेलले आफ्नो मात्र भएको दाबी गरेका छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख कालीप्रसाद पराजुलीले अस्पताल भनेर होटेलको कोठामा राखेर रकम असुल्ने काम गैर कानुनी भएको बताए।

 ‘होटेलमा राख्न दिने नदिने निर्णय पर्यटन मन्त्रालयले गर्छ। तर यदि पर्यटनसँगको स्वीकृति बिना सञ्चालन भएका रहेछन् भने हामी अनुगमन गर्छौ,’ पराजुलीले भने‘ जनस्वास्थ्यसँग  खेलबाड गरेर अवैध काम गरेको पाइए कानुन अनुसार सजाय हुन्छ।’

२२ बैशाख, २०७८, १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।