दोस्रो चरणको कोरोनाले असमानताको खाडल अझै बढाउँछ : अर्थमन्त्री पौडेल

दोस्रो चरणको कोरोनाले असमानताको खाडल अझै बढाउँछ : अर्थमन्त्री पौडेल

दक्षिण एसियाली एसियाली सहयोग संगठन सार्क अर्थमन्त्रीस्तरीय अनौपचारिक भर्चुअल बैठकलाई सम्बोधन गर्दै पौडेलले  समावेशी र दिगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको, अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वसमा राख्ने कार्य चुनौतीपूर्ण रहेको बताएका हुन्।

आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड-१९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले  पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताए।

‘कोभिड-१९ को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ,’ पौडेलले भने, ‘यसैगरी समावेशी बृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ।’

गरिब एवं जोखिम समूह बढी प्रभावित भएको देखिँदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम रहेको पौडेलको भनाइ थियो।

एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठक भएको हो। बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो ।

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए।

यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गरेका थिए।

सार्कका महासचिव इसाला रुवान विराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड-१९ बाट आर्थिक पुनरुत्थान, समावेशी तथा आर्थिक वृद्धि विषयमा छुट्ट-छुट्टै प्रस्तुति गरेका थिए।

२२ बैशाख, २०७८, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।