उकेरा काेलम

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

कार्टुन भनेको सरसर्ती नाक-मुख बिगारेर हास्य बनाउन मात्रै बनाउने हैन। कार्टुनिस्टले प्रमुख इस्युको समाचार पढ्ने, त्यो समाचार अनुसार ‘सेन्स अफ ह्युमर’ राखेर बनाउने हो। कार्टुनिस्टको पनि सोच हुन्छ, विचार हुन्छ र कला हुन्छ घटनालाई पस्कनेमा। 

रविन सायमी


तस्बिर : कृष्पा श्रेष्ठ

‘नयाँ सन्देश’ पत्रिकामा २०३५/३६ सालतिरै कार्टुन छापिन्थ्यो। सुरुआतदेखि नै शक्तिमा जो छ, उसैलाई कार्टुनमार्फत व्यंग्य गरिन्थ्यो।

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे। 

सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन थालेको मान्छु म। त्यसभन्दा अघि जनावरको मुखमा नेताको मुख जोडिदिनेसम्म गरिन्थ्यो। यसको अर्थ सभ्य कार्टुन नै निस्कँदैनथ्यो भन्न खोजेको भने होइन।

२०४६ सालअघि कार्टुनका पुस्तक निस्कन्थे। जसमा भाँडभैलो, कामना र भुँडीपुराणहरु प्रमुख थिए। पञ्चायतकालमा अघिपछि व्यंग्य गर्न कडाइ गरिए पनि गाईजात्रामा भने स्वतन्त्रता पाइन्थ्यो। तत्कालीन कलाकारहरुले यसको भरपुर उपयोग गर्थे। 

कार्टुन भनेको गाली हैन

२०४६ सालपछि मिडियाहरुले अनिवार्य जस्तै कार्टुनिस्ट राख्न थाले। वात्स्यायन हामीभन्दा सिनियर हुनुभयो। त्यसपछि मेरा समकालीनहरु पत्रपत्रिकामा काम गर्न थाले।

कार्टुन भनेको सरसर्ती नाक-मुख बिगारेर हास्य बनाउन मात्रै बनाउने हैन। कार्टुनिस्टले प्रमुख इस्युको समाचार पढ्ने, त्यो समाचार अनुसार ‘सेन्स अफ ह्युमर’ राखेर बनाउने हो। कार्टुनिस्टको पनि सोच हुन्छ, विचार हुन्छ र कला हुन्छ घटनालाई पस्कनेमा। 

पञ्चायतकालमा कला पक्ष कम र गाली पक्ष बढी हुन्थ्यो। सायद त्यो बेलाको समयको राजनीतिक व्यवस्थाप्रतिको वितृष्णा कार्टुनमार्फत पोख्थे, सत्ता इतरका मान्छेहरु। सत्ताका वरपरका मान्छेले सत्ता खुसी बनाउन सत्ता विरोधीलाई गाली गरेर कार्टुन बनाउने नै भयो।

बहुदल आएपछि कार्टुनिस्टहरु गालीगलोजमा छन् जस्तो लाग्दैन, केही अपवाद बाहेक। कार्टुन परिस्कृत हुँदै गयो। कला, विचार, सेन्स अफ ह्युमर, क्यारिकेचरको मिश्रणले तिखा कार्टुनहरु बन्न थाले।

कार्टुन नभएको पत्रिकाको लालिमा हराउँछ 

पत्रिकाहरुले कार्टुनिस्ट राख्छन् नै। हिजोआज अनलाइनले पनि राखेका छन्, यो राम्रो पक्ष हो। पहिलेपहिलेका सम्पादकहरुले यस्तो कार्टुन बनाउने, उस्तो कार्टुन बनाउने भन्थे।

एउटा घटना सुनाउँछु, म एउटा ठूलो मिडियामा कामको लागि अन्तर्वार्ता दिन गएँ, अन्तर्वार्ता लिनेले टाइम्स अफ इन्डियामा जस्तो कार्टुन बनाउनुपर्ने र संख्या तोकेर हप्तामा यति वटा कार्टुन बनाउनैपर्छ भने।

मैले सिधै उनलाई भनें, पहिलो कुरा त टाइम्स अफ इन्डियाको जस्तो म बनाउँदिन। मेरो आफ्नै कला छ, शैली छ। दोस्रो कुरा, संख्या तोकेर हप्ताको यति बनाउने भन्ने मिल्दैन। कहिलेकाहीँ तोकेभन्दा धेरै पनि हुन्छ, कहिले थोरै पनि हुन्छ। कला भनेको फुर्नुपर्छ जबरजस्ती हुँदैन।

कलालाई पनि जबरजस्ती गर्नैपर्छ भनेर सोच्नेहरु नभएका हैनन् यहाँ। पछिल्लो समय भने यस्तो छैन। कार्टुनिस्टहरु स्वतन्त्र ढंगबाट काम गरिरहेका छन्। पत्रकारिता र कार्टुनको सम्बन्ध गहिरो हुन्छ। पिक्चराइजेसन भएको समाचारको प्रतिक्रिया र पिक्चाराइजेसन नभएको समाचारको पाठक रेस्पोन्स नै फरक हुन्छ।

संसारभर नै कार्टुनलाई विशेष ठाउँ दिइएको छ। पकेट कार्टुनको बहसले स्थान पाएकै छ। कार्टुनले राजनीतिकदेखि सामाजिक घटनालाई सहजै बुझ्ने शैलीले फरक तरिकामा प्रस्तुति दिन्छ। कार्टुन भएको पत्रिका र नभएको पत्रिकाको लालिमा नै फरक हुन्छ। 

रिपोर्टर र सम्पादकले कार्टुन बुझ्छन्, महत्व दिँदैनन्

हाम्रोमा न्युजरुम संस्कृति विकसित भइसकेको छैन। न्युजरुम संस्कृति भएको भए आफूले गरेको रिपोर्टिङ कसरी प्रस्तुत गर्ने भन्ने रिपोर्टरले ख्याल राख्नुपर्ने हो। तर यो कुरा रिपोर्टरमा देखिँदैन। समाचार कसरी प्रस्तुत गर्दा प्रभावकारी हुन्छ भनेर ज्ञान राखिदिए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। 

लामो समय लगाएर गरेको समाचारको प्रभाव पनि राम्रो परोस् भन्ने रिपोर्टरलाई पनि लागेको हुन्छ। त्यसको लागि फोटो, कार्टुन, स्केच ग्राफिक्सको आवश्यकता पर्छ। यसमा कसैको ध्यान गएको पाएको छैन। ध्यान हुन्थ्यो भने त गर्न लागेको स्टोरीको केही न केही कुरा सेयरिङ हुन्थ्यो होला। सेयरिङ गर्ने चलनै भएन हाम्रोमा। 

लास्ट आवरमा समाचार दिने अनि हतारहतार त्यसलाई चाहिने पिक्चराइजेसन गर्नुपर्ने हुन्छ। पिक्चराइजेसनको लागि पनि सोच्नुपर्छ भन्ने धारणाको विकास भएको देखिँदैन। 

कुनै पनि समाचारमा प्याकेजमा ध्यान दिएको देखिँदैन। मैले काम गरेका मिडियाहरुमा नभनेको हैन तर जति भन्दा पनि कोही सिरियस भएनन्। प्याकेजमा समाचार दिने रिपोर्टर नै छैनन् हाम्रोमा। इस्यु छलफलमा त बसिन्छ तर प्रभावकारी छैन। रिपोर्टरहरु कार्टुन बुझ्छन्, महत्व दिँदैनन्। आफ्नो रिपोर्ट अक्षरमा पनि इमेज भए राम्रो हुन्थ्यो भन्ने कुरालाई सिरियस्ली लिँदैनन्। हेलचेक्र्याइँ गर्छन्। 

सम्पादकहरुमा पनि कम्प्लिट प्याकेज दिनुपर्छ भन्ने नै छैन। सम्पादकहरु छाप्न हतार गर्छन्। सबैमा नगरे पनि सिरिजमा त सकिन्छ नि। फोटो, पिक्चराइजेसन, ग्राफिक्सको प्याकेज दिनुपर्छ भन्ने धारणा नै छैन। समाचार राम्रोसँग पस्किन हाम्रा सम्पादकहरु अल्छी छन्। 

प्रविधि धेरै माथि पुगिसक्यो। योभन्दा अघि हातैले लेख्न पर्थ्यो। सम्पादकहरु मिहिनेत गर्थे। म्यानपावर भए पनि समाचारहरु गहिराइमा पुगेको आभास हुन्थ्यो। अहिले प्रविधि छ तर सम्पादक नभएजस्तो देखिन्छ। प्रायः सम्पादकहरु डुलुवा भए। सम्पादकहरु सम्पादकको रुममा भेटिँदैनन्। सम्पादकहरु आफैं खटिने, मिहिनेत गर्नेभन्दा डुल्ने बढी भए। कर्पोरेट हाउसहरुका हाकिम जस्ता भए।

मिडियामा कर्पोरेट कल्चर भित्रियो। सम्पादक त हाकिम हैन नि। आफैं काममा खट्ने हो। खट्ने सम्पादक धेरै कम छन्। पहिले सम्पादक खट्थे, समाचारदेखि समाचारको प्रस्तुतिको पनि प्रभाव बढी पर्थ्यो। अहिलेको अवस्था त मैले भन्नै परेन। 

अनलाइनमा पनि पिक्चराइजेसनमा समस्या देखेको छु। गुगलबाट धेरै फोटो प्रयोग गर्छन्, अनलाइनले। यो त अनइथिकल काम हो। यस्तो अनइथिकल काम गर्न त लाज लाग्नुपर्ने हो। अनलाइनले कलापाटोलाई पूरै नकारेका छन्। 

रिपोर्टर जति पनि राख्ने, ग्राफिक्स डिजाइनर, आर्टिस्ट नराख्ने। पावरफूल अनलाइन आर्टलाई ठाउँ दिए भिजिविलिटी बढी नै हुन्छ। आर्ट नबुझेका हैनन्, बेवास्ता गरेका हुन्। न्युजको प्रभावकारिता इमेज सहित जाँदा धेरै राम्रो हुन्छ। यसमा अनलाइनहरु चुकेका छन्। 

केही अघि फर्कौं। समाचारको मात्रै हैन, कार्टुनको प्रभावकारिता पनि पहिले धेरै थियो। अहिले सामाजिक सञ्जालमा त हुन्छ तर सत्तामा प्रभाव पारे जस्तो लाग्दैन। कार्टुनको प्रभावकारिताको केही उदाहरण हेरौँ।

सत्ताको केन्द्रमा जो छ, उसैको कार्टुन बनाउँथें प्रायः मैले। गिरिजाप्रसाद कोइराला धेरै पटक प्रधानमन्त्री भएको हुँदा उहाँको कार्टुन बनाएँ। उहाँसँग मेरो प्रत्यक्ष दुई पटक भेट भयो। कार्टुन बनाउँदा पनि रिसाउनुहुन्नथ्यो उहाँ। उल्टो ‘मेरो नाक लामो छ, तिमीहरुलाई के सजिलो छ र?’ भनेर जिस्क्याउनुहुन्थ्यो। केही नेता भने रिसाउँथे। 

त्यतिबेला म दृष्टिमा काम गर्थें। कांग्रेसमा चौहत्तरे र छत्तीसे थिए। एमाले र छत्तीसे मिलेर गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार ढाल्न लागेका थिए। त्यस्तै समाचार प्रकाशित भइरहेको थियो। मैले कांग्रेसको छत्तीसे गुटले एमालेको गाडीमा लिफ्ट प्लिज भनेको कार्टुन बनाएँ। खै, के भयो र हो कांग्रेसको छत्तीसे गुटले एमालेसँग मिलेर सरकार ढालेन।

एमाले पार्टी कार्यालयबाट यही कार्टुनले गर्दा छत्तीसे मिलेन भनेर दृष्टिका सम्पादकलाई फोन गरेर मेरो जागिर खोस्न भनिएछ तर खोसिएन। कार्टुनको प्रभाव उतिबेला राजनीतिक दलसम्म थियो। गहिरो रुपमा लिन्थे। अहिले त उनीहरुलाई यस्ता कुराले छुँदैन। 

काठ तस्करीमा संलग्न एक जना व्यक्ति न्यायाधीशमा नियुक्त भएका थिए। मैले काठ तस्कर न्यायाशीध भनेर कार्टुन बनाएँ। यो कार्टुनले मलाई अदालतसम्म पुर्‍यायो। १० वर्षसम्म मुद्दा लडेर जितेँ पनि। 

अर्को एउटा साप्ताहिकमा काम गर्न थालें। त्यतिबेला प्रशान्त तामाङ इन्डियन आइडल बनेका थिए। उनलाई इडियन आइडल बन्न नेपालीले धेरै पैसा खर्च गरे। त्यतिबेला समाचारमा सिन्धुपाल्चोकका तामाङ महिला धेरै बेचिने गरेको तथ्याङ्क सार्वजनिक भयो।

मैले खुसी भएका प्रशान्त तामाङ र नेपालमा रोइरहेकी फूलमाया तामाङ मुम्बईमा भनेर कार्टुन बनाएँ। यो कार्टुनले तहल्का मच्चायो। दुई मिनीबस तामाङ युवाहरु पत्रिकाको अफिस घेर्न आइपुगे। तत्कालीन सम्पादकले सम्हाल्न नसकेपछि मैले तामाङहरुको पक्षमा पनि काम गरेको र यथार्थ यही नै भइरहेको बताएपछि त्यो हुल शान्त भएर गयो। एक कोलमको कार्टुनले धेरै थोक भन्छ। 

एमाले नेता विद्या भण्डारीले कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराएपछि कृष्णप्रसाद भट्टराई कमण्डलु हातमा लिएर गएको र कार्यकर्ताले चिठी लेख्दै गर्नु है किसुनजी भनेको कार्टुन बनाएको थिएँ। त्यो कार्टुनले गर्दा कार्यालयमा यति फोन आयोकी उठाएर साध्य नै भएन। नेविसंघ आबद्ध विद्यार्थीहरुले पिट्छु, मार्छुदेखि अनेक भने तर आउन चाहिँ आएनन्। 

त्यो बेलाको चार्म नै अर्को थियो। कार्टुन मन पराएर एक रुपैयाँदेखि पाँच हजारसम्म पठाए पाठकले। पाठकको रेस्पोन्स राम्रो आउँथ्यो त्यतिबेला। अहिले पनि पाठकको रेस्पोन्स त राम्रो आउँछ तर जसलाई प्रहार गरिएको हो, उसलाई भने छुन्छ कि छुँदैन थाहा नै पाइँदैन। कार्टुनिस्टलाई फोन आउने, धम्की आउने छैन अचेल। सामाजिक सञ्जालमा भिड्नेदेखि प्रशंसा गर्नेहरु छन्। 

मिडियाका कार्टुन बन्छन्, छापिँदैनन्

देशमा भएका प्रमुख घटनालाई आधार बनाएर समाचार छापिन्छन्। कार्टुन पनि त्यही आधारमा बन्ने भए। नेपालका कार्टुन धेरै राजनीतिबाट प्रभावित भएको देखिन्छ। पछिल्लो समय मिडियाबारे किन समालोचना भएन? मिडियाले विभिन्न बहानामा आफ्ना स्टाफहरुलाई हटाउँदा पनि किन व्यंग्य हुँदैन? किन समाचार लेखिँदैनन्? भनेर कहीँकहीँ चर्चा हुन्छ।

समाचारका विषयमा पनि पत्रकारहरु माझ कुरा हुने भयो। मिडियाको विपक्षमा मिडियाले छाप्ने चलन हाम्रोमा छैन। मिडियालाई सरकारले न्याँक्न खोजे भने कार्टुन बन्छन्। सायद जनचासोको विषय नहुने भएर होला मिडियाका समाचार र कार्टुन नआएका। 

मिडियामा निस्केका इस्युहरुमा व्यंग्य गरेका कार्टुनहरु नबन्ने हैनन्। म आफूले मिडियाको कार्टुन बनाए पनि दिन्नँ किनभने थाहा हुन्छ, छापिन्न भनेर। जसरी समाचार बन्दैनन्, त्यसरी नै कार्टुन बन्दैनन्। जागिर जोगाउनलाई नबनेका हुन् कसैले भन्छ भने हो पनि। किनभने, जुन ठाउँमा काम गरेको छ, त्यो लिमिट त हुन्छ नै। क्रान्तिकारी कुरा गर्नुपर्ने कुनै कारण देख्दिनँ म। पत्रकारितामा कर्पोरेट हाउस आइसकेपछि जुन खालको स्वतन्त्रता पाइन्थ्यो, त्यो अहिले छैन मिडिया आलोचनामा। 

मिडियाको मात्रै होइन, उद्योगपतिको पनि कार्टुन आउँदैन किनभने त्यो ‘विजनेस’ हो। उनीहरुलाई व्यंग्य हानेपछि कसरी आओस् त मिडियालाई ‘विजनेस’। कार्टुनिस्टलाई मिडिया, उद्योगपतिलाई व्यंग्य हान्न कार्टुन नफुर्ने हैन तर बनाइँदैन। तर के भने हिजोआज त सहज छ। छापिने खालको मिडियामा दियो नत्र सामाजिक सञ्जालमा राख्यो, पाठक प्रतिक्रिया त आउँछ नै।

कार्टुन बनाउँदा नांगो बनाउने हैन, व्यंग्य हान्ने हो। कुनै पनि जात भाषा, धर्म तथा लिंगलाई होच्याएर कार्टुन बनाउन हुँदैन। कलाकारको प्रोग्रेसिभ हुनुपर्छ। सोचाइ  अनुसार पिक्चाराइजेसन हुने हो। त्यसकारण सोचाइ राम्रो हुन जरुरी छ। 

कार्टुनका कन्सेप्ट दोहोरिए
केही दिनअघिको पत्रिकामा एउटा कार्टुन छापिएको थियो। त्यो कार्टुन ठ्याक्कै १२ वर्षअघिको कन्सेप्टमा छापिएको थियो। हो, राजनीतिक, सामाजिक घटनाहरु नेपाली समाजमा दोहोरिएका छन्। प्रवृत्तिहरु दोहोरिएका छन् तर सिर्जना त के दोहोर्‍याउनु र?

नयाँ सिर्जना गर्न सकिँदैन भने नबनाए हुन्छ। दिनहुँ बनाउनुपर्छ भन्ने छैन।  कन्सेप्ट रिपिट गर्न भएन। म त बरु बनाउँदिन। कार्टुन नियमित हेर्नेलाई त मजा भएन नि। जागिर खानको लागि किन गर्ने? कार्टुनिस्ट  ठेकदार हैन, दिनको यति भनेर सम्झौता गर्नलाई। पछिल्ला समयका कार्टुनहरु सतही भए जस्तो लाग्छ। 

अर्थपूर्ण कार्टुनको अभाव देखिएको छ अहिले। पछिल्लो पुस्ताले मिहिनेत गरे जस्तो लाग्दैन। फोटो राख्यो अनि पेनले दुई चार अक्षर लेख्नु कार्टुन हैन। क्यारिकेचर त्यसमा आउँदैन।

यो पुस्ताले आफूले आफूलाई ठगिरहेको छ। प्रविधिमा भर पर्नुपर्छ तर क्षमता आफूमा हुनुपर्छ। कार्टुनिस्ट हुनलाई क्यारिकेचरको तालिम आवश्यकता पर्छ, सेन्स अफ ह्युमर आफैंमा हुने हो। आफूले आफूलाई नतिखार्ने हो भने कार्टुनिस्टको भविष्य नराम्रो देखिँदैन।
 
नेपाल रिपब्लिक मिडियाका आर्ट डिजाइन इडिटर रविन सायमीसँग उकेराको नियमित स्तम्भ चौथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....