हिमालपारि कोरोना : उपचारमा चुनौती, निषेधाज्ञाको तयारी

हिमालपारि कोरोना : उपचारमा चुनौती, निषेधाज्ञाको तयारी

काठमाडौंः हिमालपारिको जिल्ला मनाङमा ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। दोस्रो वेभ सुरु भएपछि मनाङमा अहिलेसम्म ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

मनाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णु लामिछानेका अनुसार दोस्रो वेभ सुरु भएयता २५ जनाको पिसिआर परीक्षण गर्दा यो संख्यामा संक्रमित देखिएका हुन्। संक्रमण देखिएसँगै मनाङमा त्रास देखिएको छ।

स्वास्थ्य पूर्वाधारको अभाव तथा सडक र यातायातको राम्रो सुविधा नभएका कारण संक्रमण बढेको अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता थपिएको छ।  

‘हामीले शंका लागेर परीक्षण गर्न आउनेलाई मात्र परीक्षण गर्ने गरेका छौँ। परीक्षणलाई बढाउने हो भने संख्या बढ्ने देखिन्छ,’ सिडिओ लामिछाने भन्छन्, ‘२५ जनाको परीक्षणमा ७ जनामा देखिनु संख्याले कम देखिए पनि प्रतिशतका हिसाबले बढी हो।’

संक्रमण देखिएकाहरु ४ जना चामे गाउँपालिका र ३ जना मनाङ निस्याङ गाउँपालिकाको मनाङ गाउँका हुन्। सिडिओ लामिछाने  संक्रमितमा सामान्य रुघाखोकी मात्रै लागेको र सामान्य अवस्थामा सेल्फ आइसोलेसनमा बसेको बताउँछन्।

संक्रमितहरुको ट्राभल हिस्ट्री हेर्दा २ जना श्रीमान्–श्रीमती पोखराबाट मनाङ आएको र बाँकीको कुनै ट्राभल हिस्ट्री देखिँदैन।

कोरोनापछि आवातजावत सामान्य रहेको मनाङमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण देखिएपछि झनै चुनौती थपिएको छ।

जिल्लामा एउटै पनि भेन्टिलेटर र आइसियु सञ्चालनमा छैनन्। यससँगै गम्भीर प्रकृतिका संक्रमित थपिएमा के गर्ने भन्ने चिन्ता थपिएको सिडिओ लामिछाने बताउँछन्। सदरमुकाम चामेमा मनाङ अस्पतालको अक्सिजन सपोर्ट गर्नेगरी ७ वटा बेड तयारी अवस्थामा छन।

जिल्लाका ४ गाउँपालिकाले पनि आफ्नो तर्फबाट केही स्थानमा क्वारेन्टिनको व्यवस्था मिलाएका छन्। जिल्लामा एउटै पनि कोभिड अस्पताल छैनन्।

‘जिल्लामा आइसियु छैन। भेन्टिलेटर छ तर, चलाउने जनशक्ति छैन,’ उनी भन्छन्, ‘जिल्लामा तीन जना एमबिबिएस डाक्टर छन्। तर उहाँहरुमा पनि यसको सञ्चालनबारे जानकारी रहेन छ। यसका लागि तालिम या नयाँ जनशक्ति आवश्यक पर्छ। त्यो तत्काल सम्भव देखिँदैन।’

जिलामा निषेधाज्ञा लगाउने तयारी गरिएको उनले जानकारी दिए। ‘अहिलेलाई मास्क अनिवार्य गरिुएको छ। स्वास्थ्य प्रोटोकल पालना गर्ने, भेला बैठकहरु स्थगित गरिएका छन्। नेपाल प्रहरीमार्फत ‘मास्क खै’ अभियान र कोरोना सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेका छौ,’ उनले उकेरासँग भने।

मनाङमा यसअघि २० जनामा संक्रमण देखिएको थियो। जिल्लामा कोरोना संक्रमणका कारण अहिलेसम्म कसैले ज्यान गुमाएको तथ्यांक छैन।

२० बैशाख, २०७८, १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।