सुनसरी एमालेमा विवादै-विवाद, ओली समूहमै दुई ध्रुव

सुनसरी एमालेमा विवादै-विवाद, ओली समूहमै दुई ध्रुव

इटहरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएर पुरानै अवस्थामा फर्किएको नेकपा एमाले पनि फुटको संघारमै छ। हालको संस्थापन पक्ष मानिएको केपी शर्मा ओली समूह र माधव नेपाल समूहबीचको विवादले सुनसरीमा कारबारी र बचाउको नयाँ अभ्यास सुरु भएको छ।

ओली समूहका अध्यक्ष रेवतीमरण भण्डारी र अर्का अध्यक्ष रमेश बस्नेत नेतृत्वको कमिटीबीच जनप्रतिनिधिलाई स्पष्टीकरण माग गर्ने र बचाउ गर्ने होडबाजी चलेको छ। संस्थापन इतर समूहका जनप्रतिनिधिलाई केन्द्रित गरी स्पष्टीकरण माग गरिएको हो।

वैशाख १६ गते बिहीबार भण्डारीले सुनसरीका ५ जना जनप्रतिनिधिसँग स्पष्टीकरण मागे। जसमा बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगर, रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष डेगराज फुयाल, धरान १५ का वडाध्यक्ष नरेश इवारुम, इनरुवा ३ का वडा सदस्य सरोज बराल र इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य गौरीमान परियार परेका छन्।

सूर्य चिह्नबाट चुनाव लडेर पार्टीको निर्देशन बिना कमिटी गठन गर्दै हिँडेको भन्दै स्पष्टीकरण माग गरिएको हो। राजनीतिक दल सम्बन्धी ऐन २०७३ र पार्टीको विधान बमोजिम कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएिको भण्डारीले बताए।

३ दिनभित्र चिक्त बुझ्दो जवाफ पठाउन भन्दै पत्रमार्फत जानकारी गराइएको थियो। आइतबार बिहानसम्म पनि कुनै जवाफ नआए कारबाहीका लागि केन्द्रमा सिफारिस गरिने अध्यक्ष भण्डारीले जानकारी दिए। त्यसपछि दल त्याग गरेको मानिने र सोही अनुसार अगाडि बढ्ने उनले बताए।

भण्डारी अध्यक्ष भएको समूहले सोधेको स्पष्टीकरणलाई अर्का अध्यक्ष बस्नेतले कारबाही गर्ने र स्पष्टीकरण सोध्ने काम आधिकारिक कमिटीले मात्र गर्नसक्ने भन्दै विज्ञप्ति निकालेका छन्। भण्डारी पार्टीको पूर्वअध्यक्ष मात्र रहेको र हालको अध्यक्ष आफू भएको प्रष्ट पार्दै उनले स्पष्टीकरण माग्ने कुनै आधार नभएको बताए।

शुक्रबार एक विज्ञप्तिमार्फत उनले अनाधिकृत कमिटीले बन्द कोठामा बसेर षड्यन्त्रपूर्वक ढंगले गरेका निर्णयको घोर भत्र्सना गर्ने बताएका छन्। आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

उता जनप्रतिनिधीहरु भने आफूहरुलाई यसबारेमा अहिलेसम्म कुनै पनि जानकारी नआएको बताउँछन्। रामधुनी– ५ का वडाध्यक्ष फुयालका अनुसार अहिलेसम्म कुनै पनि सूचना प्राप्त नभएकाले जवाफ दिइरहन नपर्ने तर्क गर्छन्। जेठ २ गतेको निर्णयले जसरी ओली पार्टी अध्यक्ष भए त्यसैगरी बस्नेत पनि सुनसरी पार्टी अध्यक्ष भएको उनको दावी छ।

ओली समूहका दुई ध्रुव
स्पष्टीकरण माग भएकै दिन अध्यक्ष ओली समूहबाट सुनसरीमा दुई जना इन्चार्ज भएका छन्। यसअघि स्थायी कमिटीको निर्णय अनुसार इन्चार्ज भएका जगदीश कुसियतसँगै भगवती चौधरीलाई पनि इन्चार्ज बनाइएको छ। जसका कारण ओली समूहभित्र पनि विवाद सुरु भएको छ। एउटै जिल्लामा २ जना इन्चार्ज तोकिएको सर्कुलर आएपछि नेता तथा कार्यकर्ताहरु अलमल्लमा परेका छन्।

ओली समूहकै अध्यक्ष रेवतीरमण भण्डारीले आफूले सुनेको तर कसरी २ जना इन्चार्ज भए भन्ने बारेमा थाहा नभएको प्रतिक्रिया दिए। कुसियतसँगै अन्तरपार्टी सर्कुलरमा भने चौधरीलाई पनि जिल्ला इन्चार्ज तोकिएको छ।

कुसियत इन्चार्ज बनाउने निर्णय बाहिर आएसँगैै चौधरीले असन्तुष्टि जनाएकी थिइन्। केपी बाले धोका दिएको तथा पार्टी महासचिव विष्णु पौडेलले दलाली गरेको आरोप उनले लगाइन्।

बैठकबाट असन्तुष्ट हुँदै निस्किएकी चौधरीले स्थायी कमिटीको निर्णय सार्वजनिक हुँदा भने दुई वटा जिम्मेवारी पाइन्। सहकारी तथा गरिबी निवारण विभाग सहित इन्चार्जको जिम्मेवारी पाएसँगै उनले आफूमाथि न्याय भएको प्रतिक्रिया दिइन्। उता एउटै जिल्लामा दुई जना इन्चार्ज हुँदा कार्यकर्ताहरु भने अलमलमा परेका छन्।

नेकपा विभाजन भएर नेकपा एमाले नै भएपछि चौधरी सुनसरी पार्टी अध्यक्षको लाइनमा थिइन्। उनलाई अध्यक्ष बनाउन एउटा सिङ्गो समूह नै लागिपरेको थियो। पछि इन्चार्जमा व्यवस्थापन गर्ने कुरा उठेपछि चौधरी चुप भइन्। इन्चार्ज पनि नपाउने छाँटकाँट बुझेपछि उनले विरोध जनाएकी थिइन्।

सुनसरी ३ निर्वाचन क्षेत्र रहेकी चौधरी यसअघि ३ पटकसम्म चुनावमा पराजित भएकी हुन्। नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित चौधरीले २०७४ को निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्चमा निवेदन समेत दिएकी छिन्। सामान्य विषयमा पनि विवाद सिर्जना गर्ने बानीले उनी पार्टीभित्र आलोचित पनि छिन्।

२० बैशाख, २०७८, १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।