महिला सांसदमाथि हातपात गर्ने डिआइजी धानुकलाई कारबाहीको माग

महिला सांसदमाथि हातपात गर्ने डिआइजी धानुकलाई कारबाहीको माग

बुटवल : लुम्बिनी प्रदेशका महिला सांसदहरूले आफूहरूमाथि डिआइजीसहितका पुरुष प्रहरीले हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका छन्।  

आज सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर महिला प्रदेश सभा सदस्यहरूले  प्रदेश प्रमुखको कार्यालयमा शान्तिपूर्ण धर्ना बसेका बेला प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकसहितका पुरुष प्रहरीले महिला सांसदमाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाए। 

प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शङ्कर पोखरेलको शपथ रोक्नका लागि धर्नामा बसेका महिला सांसदहरूमाथि हातपात र दुर्व्यवहार गर्ने प्रदेश प्रहरी प्रमुख डिआइजी धानुकसहित घटनामा संलग्न प्रहरीलाई कडा कारबाही हुनुपर्ने माग उनीहरूको छ।  

अल्पमतका मुख्यमन्त्रीले शपथ लिन पाइँदैन भन्दै शपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने माग सांसद निर्मला क्षेत्रीले गरिन। 

सांसद क्षेत्रीले भनिन्—'प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफै हातपातमा लागेको र महिला सांसदहरूको संवेदनशील अङ्गमा समेत हातपात गरेकोले हातपात र दुर्व्यवहार गर्ने प्रहरी प्रमुख धानुकसहितका प्रहरीलाई कडा भन्दा कडा कारबाहीको हुनुपर्ने माग गर्दछौँ।'

नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रदेश प्रहरी प्रमुख जस्तो व्यक्तिले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरूले कानुनी उपचार खोज्ने बताइन्। 

डिआइजी धानुकको नेतृत्वमा रहेको प्रहरी टोलीले प्रमुख प्रतिपक्षी दलका सचेतक निर्मला क्षेत्री, फूलमति ढेगामगर, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापा लगायतका महिला सांसद माथि दुब्र्यबहार गर्दै संवेदनशील अङ्गमा समेत हातपात गरेको प्रमुख प्रतिपक्षी संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए। 

तर, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र सिंह खड्काले धर्नामा बसेका महिला सांसदहरूमाथि दुर्व्यवहार भएकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। 

२० बैशाख, २०७८, १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।