कोरोना सङ्क्रमणका कारण भारतमा थप १० जना नेपालीको मृत्यु  

कोरोना सङ्क्रमणका कारण भारतमा थप १० जना नेपालीको मृत्यु  

काठमाडौँ : यो साता भारतमा थप १० जना नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। गैर आवासीय नेपाली सङ्घका अनुसार हालसम्म भारतमा मात्रै सङ्क्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ७१ पुगेको छ। 

यो साता साउदीमा पनि थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको सङ्घले जनाएको छ। सङ्घको स्वास्थ्य समितिको पछिल्लो तथ्याङ्क अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ। 

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना सङ्क्रमण भएको जानकारी दिए। ती मध्ये १७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन्।  

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यो साता मलेसिया, भारत, कुवेत, युएई र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।  

अध्यक्ष पन्तलाई कोरोना सङ्क्रमण   

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तलाई कोरोना सङ्क्रमण भएको छ। सङ्घको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तरण, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरूप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई हिजो आइतबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

कोरोना भाइरसको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो।  सङ्घका अनुसार पन्त अहिले होमआईसोलेसनमा छन्। 

२० बैशाख, २०७८, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।