निषेधाज्ञाले समय पाएकी गायिका रचना परीक्षाको तयारीमा

निषेधाज्ञाले समय पाएकी गायिका रचना परीक्षाको तयारीमा

काठमाडौँ : कोभिड १९ को दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञाले धेरैलाई असर गरेको छ। तर गायिका रचना रिमाललाई भने राम्रै फाइदा भएको छ।

काठमाडौँमा हुँदा दैनिक २ देखि ४ वटा गीत रेकर्डिङमा व्यस्त भएकी रचना अहिले झापा बिर्तामोड घरमा बसेर कक्षा १२ को परीक्षाको तयारी गरिरहेकी छन्।

उनी नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी हुन्। पढ्दा पढ्दै गायनमा एक्कासि चर्चामा आएपछि रचनाको पढाई कमजोर भएको थियो। अहिले सरकारले गरेको निषेधाज्ञाले आफूलाई निकै फाइदा भएको उनले बताएकी छन्।

रचनाले टेलिफोन कुराकानीमा भनिन्, ‘काठमाडौँमा निषेधाज्ञा हुने भएपछि घर आएको छु। गीत रेकर्डिङ भन्दा भन्दै पढ्न पाएको थिइन्। अहिले मलाई लकडाउनले निकै फाइदा भएको छ। घरमा आएर साथीसँग बसेर पढिरहेको छु।’

रचना रिमालको पछिल्लो समय ‘सम्झिने पानी छम्किने, उनको प्रीति पहिलो हो की मेरो प्रीति पहिले, फोटो फिरिममा, मिनरल वाटर लगायत गीत चर्चामा छन्। रचना टिकटकमा समेत सक्रिय छिन्। अहिले लकडाउनको सदुपयोग गर्दै पढाइमा ध्यान दिएको उनले बताइन। ‘अरू बेला पढ्न नै पाइदैन्, यो बन्दको बेला गीत रेकर्डिङ पनि हुँदैन। त्यसैको फाइदा स्वरूप पढिरहेको छु’ उनले भनिन्। 

२० बैशाख, २०७८, १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।