उकेरा काेलम

‘श्रीमतीको सपना पूरा गर्न सहरमा पसिना बगाउँदै छु’

ईश्वरकुमार मैनाली


निषेधाज्ञाको दोस्रो दिन। अपराह्न ४ बजे। मानिसहरु समूह-समूहमा हिँडिरहेका छन्। धेरैले नाक-मुख मास्कले ढाकेका छन्। कसैका भने मास्कले चिउँडोको शोभा बढाएको छ। 

सहरमा कोही व्यस्त छन्, घडेरी खन्न। कोही कौसीमा करेसाबारी बनाउँदै छन्। कोरोनाले सहरका मानिसलाई समय दिएको छ। उनीहरु समय कटाउन अनेक हर्कत गरिरहेका छन्।

सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागू गरे पनि सार्वजानिक गाडी नचलेर गन्तव्यमा पुग्न दैडिएका यात्रु जस्तै हतारमा छन् मानिसहरु। सडकमा दगुरिरहेका मानिसहरु आ-आफ्ना अनुमान लगाइरहेका छन्ः
‘कोरोना डेन्जर छ। बँचेर हिँड्नुपर्छ।’
‘फलानो मर्यो रे। मलाई पनि सुगर, प्रेसर छ।’
‘काल नआई केही हुन्न। कोरोना-सोरोना केही छैन। यो सब फन्डा हो।’
‘भारतमा त त्यत्रा मान्छे मरे। हाम्रोमा त सोत्तर हुन्छन्।’
‘कोरोना राजनीति हो। बिदा नपाएर परिवारसँग टाइम कटाउन पाइया थिएन। गजब भा’छ।’

यी अनुमान गर्नेहरुको अनुहार हेर्दै म रोकिन पुगेँ उदयपुरका दिलिप कार्कीको अघिल्तिर।

सोधें, ‘तपाईंलाई कोरोनाको डर छैन? काम गरिरहनुभएको छ त लकडाउनमा पनि?’

‘डर छैन सर, बाँच्ने रहर भने छ,’ उनले भने।

‘के को रहर?’

‘दुनियाँ केले चल्छ, त्यसैको,’ उनी हाँसे।

‘मुखमा खोई त मुखौटो?,’ मैले सोधें।

‘दुःख गरी खानेलाई कोरोनासँग कामले बचाउँछ सर। कामले बचाउन सकेन भने भगवानले बचाउँछन्।’

‘भगवानले भन्दा त सरकारले बचाउला नि?,’ मैले फ्याट्ट सोधें।

‘हामीलाई बचाए कामले बचाउँछ। आफ्नो बलले बचाउँछ। अरु त केले बचाउला र?’

मतिर एक नजर लगाएर दिलिप सडक छेउ छरिएका बालुवा साबेलले सोहोर्न थाले।

‘तपाईसँग एक छिन् बात मारौं?,’ मैले भनें।

दिलिप हाँसे मात्र।

०००
कोठाबाट हिँड्दा आकास खुला थियो। दिलिपलाई भेट्दा सिमसिमे झरी परिसकेको थियो।

‘पानीले भिजायो, झन् गह्रौं हुने भो आमा,’ दिलिपले नुवाकोटकी कान्छीमाया तामाङलाई भने, ‘११ खेप भइसक्यो बालुवा। अब गिट्टी हौ।’

दिलिपले कान्छिमायाकै छोरी गंगामायाको थुन्से भर्दिए। गंगामाया चुपचाप गइन् बालुवा बोकेर।

दिलिपले मतिर हेर्दै भने, ‘बुढाबुढी मान्छे काम गर्न आउँछन्। मनै दुख्ने भन्या।’

मैले किन भनेर प्रश्न गर्नु अगावै दिलिपले भने, ‘पैसा बढो पापी छ। नभई नि हुँदैन। हेर्नूस् न, ती अघिकी आमालाई। तिनी ६० वर्ष कटिसकिन्। दुई छाक खान काम गर्नैपर्‍यो। जेजे डाउन भए पनि पैसा कमाउन डाउन भएपछि जिन्दगी चल्दैन।’

दिलिप कान्छीमायातिर हेर्दै लकडाउनतर्फ इशारा गरिरहेका थिए।

‘विचरा धेरै बोक्न सक्दिनन्। ठेकेदार कराउँछ,’ उनले भने।

‘हेर्दा हट्टाकट्टा त तपाईं हुनुहुन्छ, भारी तपाईंले पो बोक्न पर्ने,’ मैले भनें।

‘बोकें मैले पनि भारी। अहिले म मिस्त्री छु। मान्छे नभएर मात्र साबेल हानिराको,’ दिलिप भन्छन्, ‘अरुले ७ सय ज्याला पाउँदा म ९ सय ज्याला खान्थें तीन वर्ष अगाडि।’

दिलिप अहिले २३ वर्षका भए। नाडीमा भरिलो बल छ। लेबर काम भनेको बलले गर्ने हो। मसँग बल छ। त्यसैलाई प्रयोग गरेर पैसा कमाउनुपर्छ भन्ने दिलिपलाई सात कक्षा पढ्दैमा लागेको हो। तर एसएलसी त दिनैपर्छ, उनको मनले यसै भन्यो।

‘दिन त एसएलसी दिएँ। तर फेल। अब के गर्ने त?,’ उनी भन्छन्, ‘मान्छेले गर्ने भनेको सक्ने र जानेको काम हो। पढ्न सकिनँ। बल थियो हातमा, अब बल चलाउने काम गर्छु भनेर तीन वर्षअघि काठमाडौं आएँ।’

दिलिपको काठमाडौं भित्रको कथामा कुनै रोचकता छैन रे। तर काठमाडौंले दिलिपलाई दुबई, कतार जानेहरुको भन्दा कम पैसा भने दिएको छैन।

‘पहिल्यै लेबर काम गर्ने पक्का थियो,’ दिलिप काठमाडौं आउँदाको अवस्था सुनाउँछन्, ‘मसँगै पढेका धेरै साथीहरु पढाइ छाडेर पैसा कमाउन काठमाडौं आएका थिए। उनीहरु गाउँ जाँदा टन्न पैसा लिएर जान्थे।’

दिलिपलाई पनि पैसा खेलाउन मन थियो। तर उनको परिवार थियो, निम्न आर्थिक अवस्थाको।

‘आफूलाई मन लागेको गर्न नपाइने पैसा नहुँदा। मलाई पहिल्यै काठमाडौं आउन मन थियो। तर पढ्नपर्छ भनेर बसें। पढाइ पनि गतिलो गर्न सकिनँ,’ उनी भन्छन्, ‘साथीहरुसँग फोनमा कुरा मिलाएँ। काठमाडौं आएँ। लेबर भएर पनि अहिले राम्रो छ कमाइ। महिनामा ४० हजार त चोखो बच्छ।’

दिलिप बिहान खानामा १५० को मासुभात खान्छन्। खाजामा ५० रुपैयाँको चाउमिन खान्छन्। बस्ने कोठासम्म हिँडेरै पुग्छन्।

‘दिनको १८ सय छ मेरो। महिनाको ५० हजारभन्दा बढी हुन्छ। खाना र खाजामा ६ हजार जान्छ,’ उनी भन्छन्, ‘बस्न हामी १३ जना कामदार मिलेर बस्छौं। जाँड-रक्सी खान्नँ। फेसबुक सेसबुक, फोन यताउता गर्दा बाहिरी खर्च २ हजार हुन्छ। ४० त जसरी पनि बच्छ।’

दिलिप हरमहिना कम्तीमा ४० हजार घर पठाउँछन्। आमाले त्यो पैसा सुरक्षित राख्दिन्छिन्। उनी बल बेचेर कमाएको पैसाले घर बनाउने सपना देख्छन्। गाईघाटमा जग्गा किन्ने सप्ना देख्छन्। घरमा सटर निकालेर व्यापार गर्ने उनको योजना छ।

‘हामी  ५ भाइ, म काइँलो। कान्छो भाइ र आमा-बा मसँग छन्,’ उनी भन्छन्, ‘बल छउन्जेल कमाएको पैसाले घर बनाएर बा आमालाई राख्ने हो। एउटा सटरमा आफू, अर्कोमा बुढीलाई सटर हाल्दिएर व्यापार गरेर, खेती किसानी गरेर बस्ने सपना छ।’

दिलिपले सपना सुनाइरहँदा सिमसिम पानी परिरहेको थियो। उनले पसिना पुछे। कान्छीमाया छोरी गंगामायालाई लिएर गिट्टी बोक्न आइपुगिन्।

दिलिपले मलाई कान्छीमायाकी छोरी गंगामायाको कथा सुनाए।

‘काखे बच्चा छ यी दिदीको। दिनभरि यस्तो गह्रौं काम गर्छिन्,’ दिलिप भन्छन्, ‘कमजोर मान्छेलाई अलि कम भारी बोकायो भने ठेकेदार कराउँछ। बडो मन दुख्छ। तर के गर्नु मान्छेले खानको लागि काम त गर्नैपर्‍यो।’

०००
दिलिपले गत माघमा विवाह गरे। विवाह गरेपछि उनलाई महिलाप्रति झन् धेरै श्रद्धा जागेको छ रे। कारण महिलाको स्नेह र धैर्यता।

‘कस्तो गाह्रो गरी काम गर्दा पनि गाह्रो भयो भन्दैनन्,’ उनी भन्छन्, ‘यी गंगामाया जस्तै गरी त  हुर्काए होलान् हामीलाई हाम्रा बाआमाले। म त घर नबनाई बच्चा नजन्माउने।’

दिलिप आफ्नो योजनामा प्रष्ट छन्। त्यसैले श्रीमतीलाई उदयपुर, सल्लेरीमा नै राखेका छन्।

‘गाँउमा खेतबारी छ। बाआमा बाख्रापाठा पाल्छन्। भाइ पढ्दैछ १३ मा।  बुढी गाउँमा मेरो जिम्मेवारी बोकेर बसेकी छ। सहरमा म उसको सपना पूरा गर्न पसिना बगाउँदै छु।’

दिलिपको प्रेम विवाह भएको हो। उनी सकभर सुख दिने सोचमा छन् श्रीमतीलाई।

‘दिनभरि लेबर काम गर्‍यो। थकाई मेट्न साथीहरु भट्टीतिर जान्थे। म फेसबुक चलाएर बस्थें,’ दिलिप आफ्नो प्रेम-कथा सुनाउँछन्, ‘एकदिन फेसबुकमा राम्री केटी देखेँ। रिक्वेस्ट पठाएँ। एसेप्ट भयो। कुराकानी हुँदै गयो।  लभ पर्‍यो।’

दिलिपकी श्रीमती पनि पढाइ छाडेर बसेकी थिइन्। उनी सिलाइ-बुनाइ सिक्दै थिइन्। दिलिपलाई विहे चाडैं गर्छु भन्ने थिएन मनमा, तर पर्‍यो त्यस्तै।

‘केटीको घरमा अन्तै विहे गर्दिन लागे। ऊ मगर। म क्षेत्री। जात मिल्दैन भनेर केटीको घरबाट दिन मानेनन्,’ दिलिप भन्छन्, ‘केटी मलाई भगाऊ भन्छे। यसो विचार गरें, विहे गर्ने उमेर त भयो। लौ त नि भनेर भगाएर ल्याएँ।’

दिलिपले भगाएर त ल्याए तर समस्या सामाधान भएन। ससुराली पक्षले केटी फिर्ता लान खोजे। दिलिपले आँट गरेर भने, ‘नगर्नु गल्ती गरिहालें। सके सुख दिन्छु, नसके दुःख चाहिँ दिन्न। हामीलाई आशिर्वाद दिनूस्।’

दिलिपको कुराको उनको ससुरालीलाई प्रभाव परेछ। दिलिपको ससुराली  पनि उदयपुर नै हो।

‘उनीहरुले माने। टीका लगाइदिए,’ दिलिप भन्छन्, ‘बेलाबेला म फिल्म हेर्थे। फिल्मी पाराले भनेको मानिहाले।’

दिलिपकी श्रीमती अहिले १८ वर्षकी मात्र भइन्।

‘चाडैं विहे भयो। ठिकै छ। अब मिलेर कमाउने, जमाउने अनि सँगै रमाउने,’ दिलिप साबेल काँधमा राखे र फिस्स हाँसे।

०००
दिलिपलाई कामको खाँचो कहिले हुँदैन रे। तर समस्या सधैं राम्रा ठेकेदारको साथ नहुँदा हुन्छ रे।

‘जति बन्द भए पनि लेबर काम त पाइन्छ। खाली नै बस्न चाहिँ पर्दैन ज्यालामा काम गर्ने मान्छेलाई। तर ठेकेदार गतिलो भएन भने पैसामा किचकिच हुन्छ।’

काम गरेको पैसा भिख मागे जसरी मागिरहन दिलिपलाई दिक्क लाग्छ। बेलाबखत विदेशिने होकी भन्ने पनि आउनेरहेछ उनको मनमा।

‘काम गरेको पैसा टाइममा नआउँदा विदेशिनै ठिक जस्तो लाग्ने। तर आफ्नो देशमा नै राम्रो कमाइ हुन्छ लेबर गरेर नै। किन जाने विदेश भन्छु। फेरि काम गर्न थाल्छु,’ दिलिपले भने।

दिलिप काम गर्दै थिए। म उनको छेउमा उभिएर उनका कुरा सुन्दै थिएँ।

हामीलाई एक व्यक्तिले सुरुबाटै नियालिरहेका थिए।

ती व्यक्ति हाम्रो नजिक आएँ। र, मतिर हेर्दै दिलिपलाई भने, ‘गिट्टी खाँचो भयो। तँ गफ गरेर बस्।’

उनी फर्किए। दिलिप मेरो अनुहार हेरेर हाँसे। भने, ‘ठेकेदार। एकछिन उभिएको देख्न सक्दैनन्। सर, तपाई‌ं जानूस्। बरु नम्बर लानूस्। फोनमा कुरा गरौंला।’

०००
दिलिप गिट्टी भर्दै थिए। कान्छीमाया उनलाई हेरे हाँस्दै थिइन्। गंगामायाले भनिन्, ‘खुव गफिन पर्ने तँलाई, खाइस् गाली।’

दिलिप जस्ता हजारौं दिलिप, कान्छीमाया जस्ता हजारौं कान्छीमाया र गंगामाया जस्ता हजारौं गंगामाया निषेधाज्ञाको दोस्रो दिन अर्थात् मे एक तारिक (मजदुर दिवस) मा गर्दै थिए, छाकको जोहो बालुवा र गिट्टी बोकेर।

खाँदै थिए ठेकेदारको गाली हाँसी-हाँसी। सायद भन्दै थिए, ‘मेरा सन्तानहरु मजदूर हुनु नपरोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी....

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त....

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि....

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे।  सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन....

कान्तिपुर गाथा : दिवालिया पल्टिएको सरकार

कोरोना महामारीको यो मौसममा नेपाल सरकारले आफैंलाई ‘दिवालिया’ घोषणा गर्यो। सरकारले गुहार लगायो, अब जनताले आफनो जिम्मा आफैं लिनु पर्‍यो। पूरै नेपालको जिम्मा लिएको दावी....