कर्णालीमा मृत्यु भएका कोरोना संक्रमितको परिवारलाई एक लाख रुपैयाँ दिइने

कर्णालीमा मृत्यु भएका कोरोना संक्रमितको परिवारलाई एक लाख रुपैयाँ दिइने

सुर्खेत : कर्णाली प्रदेश सरकारले ज्यान गुमाउने काेराेना संक्रमितका परिवारलाई राहत प्याकेज घोषणा गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमित मृतकको परिवारलाई जनही एक लाख रुपैयाँ  राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने खतरा बढेपछि प्रदेश सरकारले यस्तो निर्णय गरेकाे आर्थिक मामिला तथा याेजना मन्त्री एवं सरकारकी प्रवक्ता बिमला केसीले जानकारी दिइन्।

मृत्यु भएका संक्रमित परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको प्रवक्ता केसीले बताइन्।

‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सबै तयारी गर्नमा कुनै कसर बाँकी राखेको छैन,’ प्रवक्ता केसीले भनिन्, ‘संक्रमणबाट बचाउने प्रयत्न गर्दागर्दै पनि प्रदेश भित्रका नागरिकको मृत्यु भएमा परिवारलाई राहत स्वरुप एक लाख रकम प्रदान गर्ने निर्णय गरिएको हो।’

विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको प्रवक्ता केसीको भनाइ छ । उनले उक्त रकम कोभिड-१९ सँग सम्बन्धित समस्या समाधानका लागि खर्च गरिने छ।

अस्पतालाहरुलाई थप बजेट
मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न अस्पतालहरुलाई थप बजेट प्रदान गर्ने निर्णय गरेको छ। प्रदेशका १० जिल्लामा रहेका जिल्ला अस्पतालहरुलाई एक-एक करोड रकम दिने निर्णय समेत गरेको छ।

यस्तै, कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी अस्पताल रुकुमपश्चिमलाई एक-एक करोड तथा मेहलकुना अस्पताल र दैलेख अस्पताललाई ५०-५० लाख दिने निर्णय गरेको हो। उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम पठाइने प्रवक्ता केसीले जानकारी दिइन्।

२० बैशाख, २०७८, ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।