कर्णाली प्रदेश अस्पतालमा अक्सिजन अभाव, सिलिन्डर लिन कुरुवाको हानथाप

कर्णाली प्रदेश अस्पतालमा अक्सिजन अभाव, सिलिन्डर लिन कुरुवाको हानथाप

सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव देखिएको छ। प्रदेश अस्पतालमा दैनिक कोरोना संक्रमित थपिँदै गएपछि अक्सिजन अभाव हुन थालेको हो।

अक्सिजन अभाव हुन थालेपछि बिरामीका आफन्तले सिलिन्डर लिनका लागि हानथाप गर्ने गरेका छन्। बिरामीको चाप धेरै र सिलिन्डर कम भएपछि कुरूवाले आफ्ना बिरामीका लागि सिलिन्डर लिन खोसाखोस गरेपछि प्रहरी परिचालन समेत गरिएको थियो।

कर्णाली प्रदेश अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेहरुका आफन्तले अक्सिजनकै अभावमा मृत्यु हुने गरेको गुनासो गर्दै आएका छन्।

हरेक दिन नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने र टाढाको बाटो भएकोले पनि आपुर्तिमा विभिन्नि समस्या परेको कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए।

‘अहिले हामीले अक्सिजन नेपालगञ्जबाट ल्याउने गरेका छौं। दैनिक हामीलाई १३० वटा जति सिलिन्डर आवश्यक पर्छ, तर पनि १२० वटा जति सिलिण्डर नेपालगञ्जबाट ल्याउँदै आएका छौं,’ फोकल पर्सन डा. पौडेलले भने, ‘नेपालगञ्जबाट पनि ल्याउन सहज छैन, सुदूरपश्चिम लगायतका प्रदेशहरुले पनि त्यहीँबाट अक्सिजन लिने हुँदा यहाँसम्म ल्याउन ढिलो हुन्छ, त्यसैले पनि अक्सिजनको अभाव देखिएको हो।’

सुर्खेतका निजी अस्पताल, क्लिनिक र मेडिकलबाट अक्सिजन ल्याउँदा पनि माग अनुसार पूर्ति गर्न नसकिएको डा. पौडेलले बताए।

सुर्खेतको कोरोना अस्पतालमा अहिले ४५ जना संक्रमित छन्। समुदायस्तरमा फैलिएको संक्रमणका कारण दैनिक १० देखि १५ जना अक्सिजन दिनुपर्ने नयाँ संक्रमितहरु अस्पताल पुग्ने गरेको पौडेलले बताए।

‘कर्णाली प्रदेश अस्पतालमा एउटा अक्सिजन प्लान्ट सञ्चालनमा छ। त्यसले २४ घण्टामा जम्मा १० वटा मात्रै सिलिन्डर भर्न सक्छ। अहिलेकै अवस्था केही दिनसम्म रह्यो भने अक्सिजन नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउँछ,’ डा. पौडेलले भने, ‘नयाँ भवनमा दुई वटा नयाँ अक्सिजन प्लान्ट बन्दैछन्। त्यसले केही राहत हुनेछ।’

आइतबारसम्म कर्णालीमा एक हजार सात सय ८८ जना संक्रमित आइसोलेसनमा रहेका छन्। ३१ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ। हालसम्म कर्णालीमा जम्मा ५४ जनाको मृत्यु भएको छ।

अक्सिजन अभाव भएपछि अस्पताल सारियो
अक्सिजन अभाव भएपछि ‘कोभिड विशेष अस्पताल’ लाई पुरानो भवनमा सारिएको छ। प्रदेश अस्पतालको उत्तरतर्फको पुरानो भवनमा सारिएको छ।

गम्भीर अवस्थाका अक्सिजन प्रयोग गरिरहेका बिरामीबाहेक अन्यलाई आइतबार बिहानदेखि नयाँ अस्पतालमा सारिएको फोकल पर्सन डा. पौडेलले जानकारी दिए।

नयाँ अस्पतालमा अक्सिजन प्लान्ट जडान भएकोले कोभिडका करिब एक सय जनासम्म बिरामीलाई उपचार गर्न सकिने उनको भनाइ छ।

निःशुल्क अक्सिजन जुटाउने अभियान
प्रदेश अस्पतालमा अक्सिजनको अभाव देखिन थालेपछि सुर्खेतका केही युवाहरुले बिरामीका लागि अक्सिजन जुटाउने अभियान सुरु गरेका छन्।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुदीप पुरीको अगुवाइमा मिलन श्रेष्ठ, धर्म आचार्यले अक्सिजन जुटाउने अभियान सञ्चालन गरेका हुन्।

‘अहिलेसम्म १० वटा अक्सिजनका खाली सिलिन्डर जुटाई भर्नका लागि नेपालगञ्ज पठाइसकेका छौं,’ उपाध्यक्ष पुरीले भने, ‘दुई वटा सिलिन्डर किनेर समस्यामा परेका दुई जना बिरामीहरुलाई हस्तान्तरण गरेका छौं। हाम्रो यो अभियानमा अहिलेसम्म १२७ जनाबाट नगद दुई लाख ९ सय २९ रुपैयाँ संकलन भएको छ।’

बिरामीको ज्यान बचाउनका लागि अक्सिजन जुटाउने अभियानमा साथ दिन युवाहरुले अपिल पनि गरेका छन्।

यही अभियानबाटै अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा दिने गरी अगाडि बढेको उपाध्यक्ष पुरीको भनाइ छ।

२० बैशाख, २०७८, १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।