सरकारले आत्मसमर्पण गरेपछि सक्रिय भयो समुदाय : च्यासलवासीले बनाए आइसोलेसन केन्द्र  

सरकारले आत्मसमर्पण गरेपछि सक्रिय भयो समुदाय : च्यासलवासीले बनाए आइसोलेसन केन्द्र   

स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत अब सङ्क्रमित बढे अस्पतालको बेडमा राखेर उपचार गर्न नसक्ने भनेपछि झस्किएकाहरू आफ्नो बुताले भ्याएसम्मको स्वास्थ्य सुविधासहित आइसोलेसन केन्द्र बनाउन जुटे। त्यसैको उदाहरण हो च्यासलको समुदाय। 

यो आइसोलेसन बन्नुको कारण कोरोना सङ्क्रमितलाई सामान्य सुविधा समेत दिन नसक्ने लाचार स्वास्थ्य संयन्त्र नै देखियो।

०००

ललितपुरको च्यासलका श्याम व्यञ्जनकारलाई दश दिन अगाडि फोन आयो। फोन गर्नेले आफ्नो परिवारका सदस्य कोरोना आक्रमित भएकाले उपचारको लागि अस्पताल मिलाइदिन आग्रह गरे।

श्यामले आफूले चिने जानेका सबै अस्पतालमा फोन गरेर बेडका लागि आग्रह गरे। तर अहँ बेड पाए पो! जता फोन लगाए पनि सामान्य अक्सिजन सपोर्ट दिएर राख्नसक्ने बेड समेत खाली नभएको जवाफ आएपछि उनले बुझे कोरोनाको दोस्रो लहरको प्रभाव कुन हदसम्म फैलिइसकेको रहेछ भन्ने।

‘अहिले अलि अलि मानिसलाई कोरोना आक्रमण हुँदा त यस्तो छ। भोलि भयावह आउँदा के होला? अझ आफ्नै टोलमा कोरोना आयो भने के होला?’ 

च्यासल टोलको अध्यक्ष समेत रहेका उनलाई पुरै उपचारै गर्न सकिने पूर्वाधार बनाउन नसके पनि सामान्य अक्सिजन सर्पोट दिन सक्ने ठाउँ त बनाउन सकिन्छ कि भन्ने लाग्यो। जानिबुझेकासँग कुरा गरे। टोलमा आइसोलेसन केन्द्र बनाउन सुझाव आएपछि उनी तातिए।

‘टोलमा कोरोना आइहाल्यो भने के गर्ने भनेर टोलकै एक जना डाक्टरसँग कुरा गरे,’  श्याम भन्छन् ‘अहिले अस्पतालमा बिरामीको चाप एकदमै बढेकोले सके टोलमै आइसोलेसन सेन्टर सुरु गर्ने सल्लाह आयो।’  

त्यसपछि श्यामले स्थानीय क्लबका युवाहरूसँग समन्वय गरेर टोलकै सार्वजनिक भवनमा ‘आइसोलेसन सेन्टर’ बनाउन कस्सिए। र बनाए पनि। 

च्यासलमा अहिले कोरोना सङ्क्रमित कोही पनि छैन। एक जना सङ्क्रमित भएकोमा उनी पनि निको भएर फर्किसके। तर च्यासलवासीको प्रयासमा शनिवारबाट च्यासलमा ५ बेड सहितको आइसोलेसन सेन्टर सुरु भइसक्यो। 

आइसोलेसन सेन्टरका लागि टोलमै आर्थिक सङ्कलन गरे उनले। सङ्कलन भयो पनि। बेड किन्न समस्या पनि भएन। कोरोना सङ्क्रमितलाई अक्सिजन पनि चाहिन्छ भनेपछि उनी त्यसको जोहोमा लाग्दा भने १० दिन बित्यो रे। 

‘समय परिस्थिति भयावह नहोस्’ उनी भन्छन्, ‘अहिले ५ जना  बिरामीको लागि बेड बनाएका छौ। समस्या पर्यो भने अर्को ५ वटा सम्म थप्न सक्ने क्षमता छ।’

धेरै गाह्रो भयो भने मात्र अस्पताल पुर्याउने र साधारण सङ्क्रमितलाई त्यही उपचार गर्ने उनीहरूको उद्देश्य छ। साधारण उपचारको लागि ४ जना स्थानीय चिकित्सक सहयोगका लागि राजी भएका छन्।  

आइसोलेसनको उपचारको नेतृत्व  सम्हालेकी छन् डा. समीरा व्यान्जनकारले। उनी अहिले अल्का अस्पतालमा कार्यरत छिन्।

‘हाम्रो मुख्य उद्देश्य टोलमा भएका नर्मल कोरोना सङ्क्रमितको लागि आइसोलेसन सेन्टर बनाउने हो’ उनले उकेरासँग भनिन ‘घरमा आइसोलेसन बस्नको लागि नमिल्ने अनि अक्सिजनको सर्पोट समेत चाहिनेलाई यो ठाउँ बनाएका हौ।’

एक व्यक्तिलाई भएको कोरोना संक्रमण अरू व्यक्तिमा नफैलियोस् भनेर आइसोलेसन सेन्टर सुरु गरेको डा. समीरा बताउँछिन्।

त्यहाँ कोरोनाको थप उपचार भने हुँदैन।  साधारण उपचार र थोरै अक्सिजन आवश्यक भएका संक्रमितको लागि उक्त सेन्टर निर्माण गरेको समिराले बताइन्। 

‘कोरोनाका जटिल बिरामीले बेड पाएका हुँदैनन्। तर साधारण बिरामीलाई बेडमा राखेर उपचार गरिरहेका हुन्छन् । त्यो समस्याको केही हदसम्म समाधान हुन्छ कि भनेर यो सेन्टर सुरु गरिएको हो,’ उनले भनिन् 'अलि जटिल भयो भने अस्पतालै पठाउँछौँ।'

१९ बैशाख, २०७८, २३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।