लुम्बिनीमा शङ्कर रमिता : सांसदको 'किर्ते' हस्ताक्षर, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा झिकाएर शपथ

लुम्बिनीमा शङ्कर रमिता : सांसदको 'किर्ते' हस्ताक्षर, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा झिकाएर शपथ

माओवादी केन्द्र प्रवेश गरेकी सांसदको समेत नाम राखेर बहुमत देखाएका पोखरेलले किर्ते गरेको भन्दै नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दल प्रदेश प्रमुखको कार्यालय बाहिर धर्नामा बसेका थिए।

विपक्षी दलका सांसदको अवरोधका कारण प्रदेश प्रमुखको कार्यालयमा गएर शपथ खान नसक्ने भएपछि पोखरेलले डिआइजी रवीन्द्र धानुकलाई परिचालन गराएर प्रहरी बल प्रयोग गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा झिकाएर मुख्यमन्त्रीको शपथ खाए।

अविश्वासको प्रस्तावमा छलफलका लागि प्रदेश सांसदका विशेष अधिवेशन बस्ने भएपछि उनले आजै राजीनामा दिएका थिए। राजीनामा दिएपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले उनकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि उप निर्वाचनमा नेकपाबाट जितेकी सांसद विमला कुमारी खत्री वलीले माओवादी केन्द्रमा प्रवेश गर्ने निर्णय गरेकी थिइन्।

त्यसको जानकारी सभामुखलाइसमेत गराए पनि उनले आफ्नो पक्षमा बहुमत रहेको दाबी पेस गर्दा उनको समेत हस्ताक्षर गरेर बुझाएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्तिको निर्णय गरेका थिए।

सो निर्णयको विरोधमा ४२ सांसदले हस्ताक्षर बुझाए पनि अन्तमा बल प्रयोग गरेर शपथ खाइछाडे।

प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको कार्यालयमा लैजान प्रहरीले धर्नामा बसेका सांसदहरूलाई लछारपछार पारेको थियो। सांसद हटाउन प्रदेश डिआइजी रवीन्द्र धानुक आफैँ खटिएका थिए।

१९ बैशाख, २०७८, २२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।