कभर स्टोरी

काभ्रे स्वास्थ्य कार्यालय प्रमुख भन्छन्–‘सबै अस्पताल भरिइसक्यो, सङ्क्रमित थपिए कहाँ लगेर उपचार गर्ने?’

केशवप्रसाद पाण्डे


काठमाडौँ : कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसँगै काभ्रेपलान्चोक जिल्लामा आइसोलेसन, भेन्टिलेटर र अस्पतालमा बेड अभावको सुरु भएको छ।

जिल्लामा उपलब्ध आइसोलेसन,भेन्टिलेटर तथा कोभिड अस्पतालका बेड सङ्क्रमितबाट भरिइसकेका छन्। जटिल प्रकृतिका सङ्क्रमितको उपचारमा समस्या सुरु भइसक्यो। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका अनुसार तत्काल नयाँ सङ्क्रमित थपिए कहाँ राखेर उपचार गर्ने अन्योल सुरु भइसक्यो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अप्रिल १ देखि आइतबार ४ बजेसम्ममा जिल्लामा चार सय कोरोना भाइरस सङ्क्रमित पुगिसके। जिल्लामा २ मात्र कोभिड अस्पतालमा सङ्क्रमितको उपचार भइरहेको छ। 

स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र कुमार झा सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपामा रहेको शिर मेमोरीयल अस्पतालमा मात्र सङ्क्रमितको उपचार भइरहेको छ।

‘जिल्लाका सबै भेन्टिलेटर,आइसियु,एचडियू युनिट,अक्सिजन सर्पोटेड बेडहरू भरिइसके।,’ स्वास्थ्य कार्यालय प्रमुख झा भन्छन्,‘अहिले नै कोही सङ्क्रमित थपिए भने उपचार गर्न सक्ने अवस्था छैन।’

उनी जिल्लामा सङ्क्रमणको अवस्था संवेदनशील अवस्थामा पुगेको बताउँछन्। 

‘एकदम क्रिटिकल छ अवस्था। त्राहिमाम् छ, दैनिक मृत्यु भइरहेको छ। काठमाडौँ लगेर उपचार गर्ने अवस्था छैन,’उनले उकेरासँग भने,‘सबै स्थानीय तहमा अझै आइसोलेसन तयार हुन सकेको छैन। दुई हप्ता अगाडि निर्णय भए पनि स्थानीय तहले काम गर्न सकेनन्।’

जिल्लामा अत्यधिक कोरोना सङ्क्रमित रहेका नगरहरूमा बनेपा, पनौती र धुलिखेल नगरपालिका छन्। सक्रिय सङ्क्रमितमध्ये बनेपामा १ सय २०,पनौतीमा १ सय ६ र धुलिखेलमा १ सय ६ जना छन्। 

कोरोनाकै कारण जिल्लामा ६७ सङ्क्रमितको निधन भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ। 

जिल्लाका १३ वटै स्थानीय तहमा सङ्क्रमण देखिएको छ। सबैभन्दा कम सङ्क्रमित हुने स्थानीय तहमा महाभारत गाउँपालिकामा पर्छ। स्वास्थ्य कार्यालयले महाभारतमा १ जना मात्र सङ्क्रमित रहेको जानकारी दिएको छ। 

आइसियु,भेन्टिलेटर भरिए,आइसोलेसन बन्दै 

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा उपलब्ध आइसियु,भेन्टिलेटर र एचडियु तथा अक्सिजन सर्पोटेड बेडहरू भरिइसकेको छन्।

स्वास्थ्य कार्यालय प्रमुख झाका अनुसार धुलिखेल अस्पतालमा ४ भेन्टिलेटर र १४ आइसियु र २५ एचडियू युनिट छन्। त्यस्तै शिर मेमोरियल ४ आइसियु र २० बेडको आइसोलेसन छ। तर,यी सबै सङ्क्रमितले भरिइसकेका छन्। 

स्थानीय तहहरूमा भने आइसोलेसन बेड बन्ने क्रममा रहेका छन्। हालसम्म पाँचखाल नगरपालिकामा १० आईसोलेसन बेड,पनौती नगरपालिकामा ५० बेडको आइसोलेसन बन्ने क्रममा छ। 

बनेपा नगरपालिकाले भने आइतबारबाट ५० बेडको आइसोलेसन बेड सहितको उपचार सुरु गरिसकेको छ। 

‘संवेदनशीलतालाई हेरेर निषेधाज्ञा’

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले सङ्क्रमितको सङ्ख्या बढेसँगै आज राती १२ बजेबाट लागु हुने गरी जिल्लामा निषेधाज्ञाको घोषणा गरेको छ। 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) काभ्रेपलान्चोक शिवराम पोखरेल सङ्क्रमणको संवेदनशीलतालाई हेरेर निषेधाज्ञा जारी गरिएको बताउँछन्। 

‘सङ्क्रमण नियन्त्रण गर्न नाकाहरू र राजमार्गहरूलाई निषेध गरेका छौँ। त्यसको परिणामलाई हेरेर थप निर्णय गर्छौँ,’उनी भन्छन्,‘समग्रमा अवस्था सामान्य नै छ। भेन्टिलेटर र आइसियु चाहिएको अवस्थामा भने जिल्लाको क्षमताले धान्न नसक्ने स्थिति छ।’ 

सिडिओ पोखरेलले जिल्लामा थप २ अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गर्न लागिएको र आईसोलेसनहरु अक्सिजन सहितको बनाउने तयारी भइरहेको जानकारी दिए। 

‘जिल्लामा नेपाल सरकारको आफ्नै अस्पताल छैनन्। काठमाडौँ विश्वविद्यालय अस्पताल, नमो बुद्ध नगरपालिकामा रहेको अस्पताललाई कोभिड डेडिकेटेड अस्पतालको रूपमा विकास गर्न लागिएको छ,सिडिओ पोखरेलले भने,‘पालिकाहरूमा बन्ने आइसोलेसन वार्डहरूमा अनिवार्य अक्सिजन व्यवस्था गर्न लागिएको छ। 

‘अहिलेसम्म धानेका छौँ’

सङ्क्रमण उच्च देखिएका स्थानीय तहहरू तत्कालको अवस्थामा सङ्क्रमितको व्यवस्थापनमा समस्या नरहेको दाबी गर्छन्। उनीहरू अवस्था जटिलतातिर बढेसँगै नियन्त्रणको तीव्र तयारीमा जुटेको दाबी गर्छन्।

जिल्लामा सबैभन्दा बढी सङ्क्रमण देखिएको बनेपा नगरपालिकाले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहे पनि गम्भीर खालका सङ्क्रमित नरहेकाले हालसम्मको व्यवस्थापनमा कुनै कठिनाइ नभएको दाबी गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती बनेपास्थित शिर मेमोरीयल अस्पतालमा २० बेडको आइसोलेसन थप गरी उपचारको व्यवस्था गरिएको, ४ अक्सिजन सहित ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको र ५० बेडको क्वारेनटिन तयारी अवस्थामा राखिएको बताँउछन्। 

‘सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ। सङ्क्रमितहरू भेन्टिलेटरमै राख्नुपर्ने अवस्था छैन,’उनी भन्छन्,‘स्वास्थ्यको मापदण्ड पालना र अनुगमन सचेतना अभियान सञ्चालन गरिरहेका छौँ।’

सङ्क्रमितको सङ्ख्याका आधारमा दोस्रो नम्बरमा रहेको पनौती नगरपालिकामा सङ्क्रमित भएकाहरू सबै जना घरमा नै छन्।

नगर प्रमुख भीम न्यौपाने पनौतीमा संक्रमितहरुको अवस्था प्रगति उन्मुख भएको दाबी गर्छन्। उनी नगरपालिकाले आशङ्का लागेका र सङ्केत देखिएकाको स्वाब सङ्कलन गरेर दैनिक परीक्षणका लागि पठाउने गरेको बताँउछन्। 

‘दैनिक परिक्षणीका साथै ३० बेडको आइसोलेसन तयार पारिएको छ। आइसोलेसनमा डाक्टर सहित ७ जना स्वास्थ्यकर्मीको टोली खटाउने तयारी गरिरहेका छौँ,’उनी भन्छन्,‘१२ वटै वडामा माइकिङ गरेर सचेतना गरिरहेका छौँ। वडा नम्बर १० खोपासी बजारको निश्चित क्षेत्र सिल गरेका छौँ।’ 

खोपासीमा विवाहको कार्यक्रममा कोरोना फैलिएको थियो। वडा सचिव सहितका कर्मचारीमा पनि सङ्क्रमण देखियो। 

त्यस्तै तेस्रो नम्बरमा रहेको धुलिखेल नगरपालिकाले नगरपालिकाको सेवा बन्द गरेर व्यवस्थापन गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुँईटेल अवस्था जटिल हुनेतर्फ सचेत हुँदै नियन्त्रणका लागि तयारी अवस्थामा रहेको बताउँछन्। 

उनी सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो सङ्क्रमणको समयमा नै तयार भएको क्वारेन्टाइनलाई आइसोलेसनको रूपमा व्यवस्थापन गरेको बताउँछन्।

‘धेरैजसो सङ्क्रमित होम आइसोलेसनमा नै छन्। अघिल्लो चरणकै जस्तो जटिल त भएको छैन,’उनी भन्छन्,‘जटिल अवस्था आउन सक्ने भएकाले तयारी चाहिँ गरिरहेकै छौँ। भरसक नियन्त्रणका उपाय अवलम्बन गरेका छौँ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विश्वासको मतमा ओलीको दाउ : पाए बहुमतको नेतृत्व, नपाए मध्यावधि निर्वाचन

यी घटनाक्रमसँगै ओली सरकारको निरन्तरता या अरू विकल्प भन्ने निर्णय संसद्को अङ्कगणितले गर्नेछ। तर,अंकगणितिय हिसाबमा यसै हुन्न सक्ने अवस्था भने देखिँदैन। प्रधानमन्त्री ओलीले वैशाख २७....

कमिसन मागेर खोप रोकेको आरोपित कम्पनीलाई नै खोप ल्याउने अनुमति

कोभिशिल्ड र कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनीलाई अनुमति पत्र दिएको विभागका महानिर्देशक भरत भट्टराईले जनाकारी दिए। २२ गतेको निर्णय अनुसार विभागले आयात अनुमतिका लागि....

कोरोना कालमा धन्दा : अस्पताल भन्दै झुक्क्याएर होटलमा, होटल सञ्चालक र चिकित्सक संलग्न

फेसबुकमा कोभिड १९ इमर्जेन्सी ग्रुप पेजमा राखिएको यो सन्देश फैलिएको छ अहिले। सङ्कटको बेलामा कसैले आफ्नो निजी सवारीसाधनलाई एम्बुलेन्स बनाएका छन् त कसैले अस्पतालको बेड....

झोले कम्पनीले चलखेल गरेर खोप ल्याउन दिएनन् : स्वास्थ्य प्रवक्ता

सरकारले सिधै कम्पनीलाई ८० प्रतिशत भुक्तानी गरेर खोप किन्ने प्रक्रिया अगाडि बढाएपछि सेरमका नेपाली एजेन्टले कम्पनीलाई नभई आफूलाई ८० प्रतिशत भुक्तानी दिन माग गरेको र....

एक्काइस वर्षपछि कपनमा भेटिइन् हेरोइनको अन्तर्राष्ट्रिय तस्कर गोपी

थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियातिर पक्राउ पर्ने नेपालीले उनको नाम पोलिइरहन्थे। लागू औषध अनुसन्धानमा संलग्न नेपालका प्रहरी नेपाल भित्रिने खेैरो हेरोइन र सेतो हेरोइनमा उनको कनेक्सन केलाइरहन्थे।....