उकेरा काेलम

कान्तिपुर गाथा : दिवालिया पल्टिएको सरकार

किशोर नेपाल


यो कथा मध्यकालदेखि सुनिन थालिएको थियो होला। केटाकेटीमा सुनिएको यो कथा कान्तिपुर शहरको विशेष व्यापारिक समाजमा चलेको एउटा चलन थियो- दिवालिया घोषणाको। घाटा र घोटालाका कारण व्यापार डुब्यो भने व्यापारीहरु आफ्नै दिवाला निकाल्थे। त्यसलाई भनिन्थ्यो- टाट पल्टिएको घोषणा।

कोरोना महामारीको यो मौसममा नेपाल सरकारले आफैंलाई ‘दिवालिया’ घोषणा गर्यो। सरकारले गुहार लगायो, अब जनताले आफनो जिम्मा आफैं लिनु पर्‍यो।

पूरै नेपालको जिम्मा लिएको दावी गर्ने सरकारले यो तीन शहर नेपालको जिम्मा कहिले पो लिएको थियो र? मानिसहरु लड्दै-पड्दै कान्तिपुर आउँथे। जाडोमा ठिंगुराउँथे। गर्मीमा सुस्काउँथे। बिहान बागमती स्नानका लागि आर्यघाट पुग्थे। नुहाएर पुण्य कमाउँथे। धर्मालुहरुका लागि बालिने पराल ताप्थे। घर फर्किन्थे। कर्कलाको छुकुनीसँग भात खान्थे।

उहिलेदेखि रमाइलो थियो कान्तिपुर। शहर ठूलो। मन्दिर ठूला। मन्दिरका पेटीमा हाकु पटासीमा सजिएका रमणीहरु एकअर्काका कपाल केलाइरहेका हुन्थे। जुम्रा टिपेको देखेर कोही लजाउँथे, कोही रमाउँथे। शहरका गल्लीहरु साना।

व्यापारीहरु धेरै। व्यापारमा सबै सप्रिँदैनन। घाटा लाग्छ। यी अहिलेदेखि नै हालियो नि। व्यापारीहरुको त के कुरा भो र? सरकार नै टाट पल्टिन्छन्। हिजैमात्र प्रधानमन्त्री ओली नेतृत्वको सरकार टाट पल्टियो। कसैगरी घाटा पूरा गर्न नसक्ने भएपछि उसले सोझै सरकार दिवालिया पल्टिएको घोषणा गर्यो।


सरकार र व्यापारमा घाटा लागेर टाट पल्टिनु कतै पनि राम्रो मानिँदैन। आत्म-सम्मान भएका व्यापारीले त टाट पल्टिएपछि आत्महत्यासम्म गरेको सुनिने गरिन्थ्यो। अहिलेको अवस्थामा सरकारले आत्महत्या गरेर मर्ने कुरा पनि आएन।

व्यापारीहरुलाई दिवालिया पल्टिने जस्तो अत्यधिक कष्टको अवस्थाबाट बाहिर ल्याउन सबै व्यापारीले सहयोगको भावना विकसित गरेका हुन्छन्। यसले टाट पल्टिएपछि हुने बेइज्जतीको चाललाई अलिकति कम गरेका हुनुपर्छ। अहिले त बैंकिङ पद्धतिको विकास भएको छ। व्यापारीको दिवालिया उठ्न लागेको थाहा पाएपछि बैंकले नै व्यापारीलाई जोगाउँछ। तर बैंकले सकेसम्म सरकारलाई जोगाउँदैन।

हिजोआजको समयमा टाट पल्टिएको व्यापारीले तामाको थालीमा दियो बालेर आफ्नो गद्दीमाथि राख्यो भने पनि कसैले त्यसको अर्थ केही बुझ्दैन। साहु टाट पल्टिएको संकेत बुझ्ने उपाय पनि हुँदैन। पहिलेको जमानामा कुनै एक जना व्यापारी आफनो कारोबारमा टाट पल्टिएपछि त्यो कुरा थाहा पाउनेले ढिंढोरा पिट्ने चलन थियो रे। एक पटक टाट पल्टिएको ढिंढोरा पिटिएपछि व्यापारीहरुका बीच लेनदेनमा धर्म फराक हुन्थ्यो रे। टाट पल्टिने व्यापारीका लेनदार र देनदार दुवैले एकअर्कालाई सघाउन लाग्थे रे।

यो पटक नेपाल सरकार टाट पल्टियो। शुक्रबार कोरोना महामारीले आक्रान्त जनताको बीचमा उभिएर सरकारले भन्यो- हामीले धान्न सकेनौं। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आयो। अब जनताले आफनो जिम्मा आफैं लिनु पर्यो। हामीले सकेनौं बाबा। हाम्रो केही सिप लागेन।

सरकारको यो निरीह कुरो सुनेर जनता छक्क परे। संचारकर्मी आरती बेलाले एफबीमा स्टाटस लेखिन्, ‘अब आफनो सुरक्षा आफ्नै हातमा।’

ओहो, यस्तो पनि हुन्छ र कतै?, धेरैको मनमा खुल्दुली उठ्यो।

भारत सरकारको सदासयमा दश लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं ओर्लिएपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले हौसिँदै, मस्किँदै, लस्किँदै तीन महिनाभित्र सारा नेपालीलाई खोप लगाइसक्ने सार्वजनिक राष्ट्रिय संकल्प सुनाएका थिए। अहिले प्रधानमन्त्री ओली नेतृत्वको सरकार जँड्याहका गोडा लरबराएझैं लरबराएको छ? यसमा नबुझिने कुरा केही छैन। भारतमा नै खोपको माग यति धेरै बढेको छ कि उसले छिमेकीलाई दिएको आफ्नो वचन कायम राख्न सकेन। अमेरिका, चीन र युरोपका भ्याक्सिन निर्माताहरुको भ्याक्सिन सेड्युल अलग प्रकारका थिए। यो अवस्थामा नेपालमा भ्याक्सिन आउन सक्ने सम्भावना नै थिएन।

यतिबेला पहिलो डोज भ्याक्सिन लगाएका नेपालीहरु दोस्रो डोज लगाउन पर्खिरहेका छन्। त्यो डोज कहिले आउँछ? त्यसको पत्तो खबर छैन। देशमा चिनियाँ भ्याक्सिन छिरेका छन्। तर, भारतीय भ्याक्सिन लगाउनेले चिनियाँ भ्याक्सिन लगाउन हुने हो कि होइन? सरकारले केही स्पष्ट बताएको छैन।

यही कारणले होला, प्रधानमन्त्री खडगप्रसाद शर्मा ओली नेतृत्वको अत्यन्त गतिशील नेपाल सरकार अहिले अत्यन्त तीब्र राजनीतिक छटपटीमा तैरिरहेको देखिन्छ। यति दह्रो, यति देशभक्त, यति सफा-सुग्घर, यो नेपाल सरकार प्लाष्टिकका पूmलहरुले सिंगारिएको शौचालय जस्तो बनेको छ। पूmलका रङहरुको कुनै संयोजन छैन। नीलो कोटमा हरियो टोपी!

राजधानी कान्तिपुर शहर। चारैतिर सुनैसुन र हिरैहिराले बनेका मन्दिरहरुको यो राजधानी शहरको आकाशमा चारैतिर गिद्धहरु विचरण गरिरहेका छन्। वैशाख महिनामा शहरमाथि आकाशमा गिद्धको भेला कान्तिपुर उपत्यकाका लागि मात्रै होइन, नेपाल देशकै लागि अपशकुन हो भन्ने बताएका छन् विद्वानहरुले।

तर, जनताले गर्ने के? यो देशको सरकार चलाउनेहरुको त मति नै मारिएको छ। संसदको दुईतिहाइ मतले बनेर टुक्राटुक्रामा विभाजित भएको प्रधानमन्त्री ओलीको चटकी सरकारको कुरै सुन्न छाडेका छन् जनताले। भर्खरै प्रधानमन्त्री ओलीले भनेका छन्, अम्बाको पातको अर्क खाऊ, कोरोना भगाऊ।

तर, खोई त? ती सिसिएमसीका प्रमुख भैखाएका प्रम कार्यालयका उप-प्रधानमन्त्री पोखरेल के गर्दैछन्? सहयोग स्वरुप आउने कोरोना विरोधी खोपबाट केही अतिरिक्त चुहिएला र खाउँला भन्ने सोच्दै होलान् अझै।

पोखरामा दीपक मनाङेले गणतन्त्र नेपालको ‘सुकीर्ति’ को झण्डा गाडेर प्रादेशिक मन्त्री पदको सपथ लिएपछि जनताले दीपकलाई ट्वाँ परेर हेरेको त सबैको आँखामा टल्किएको होला। प्रदेशमा होस् कि संघमा होस्, सरकारको मुल प्रवृत्ति नै गुण्डागर्दीमा टिकेको देखिएपछि यसलाई के भन्ने? केलाई नौटंकी भन्ने? यो त तपसिलमा गैसकेको प्रचण्ड–ओली नाटक-नौटंकी संवादको निरन्तरता रहेमात्रै कायम रहला।

जनताले बुझेका छन्, पापको घडा छचल्किँदैछ। एकपछि अर्को विपत्तिमा घेरिँदो छ देश। रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् जनता। थाहा छैन, कसरी, कसले, सम्हाल्ने हो यो देश।

देशको आकाश कञ्चन होस्। गिद्धहरुले विचरण गरेर यो कान्तिपुर शहरलाई सिनोको शहर नबनाउन्। यो शहरको शोषण रोकियोस्। यो शहरका गजुरहरु खुलून् र चम्कियून्। घन्टाहरु बजून टनटन, नूतन सनातन धून!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी....

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त....

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि....

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे।  सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन....

‘श्रीमतीको सपना पूरा गर्न सहरमा पसिना बगाउँदै छु’

सहरमा कोही व्यस्त छन्, घडेरी खन्न। कोही कौसीमा करेसाबारी बनाउँदै छन्। कोरोनाले सहरका मानिसलाई समय दिएको छ। उनीहरु समय कटाउन अनेक हर्कत गरिरहेका छन्। सरकारले....