धेरै पहिले कुनै गाउँमा निकै दयालु मान्छेहरु बस्ने गर्थे । उनीहरुले आफ्नो घरमा चराहरुलाई बस्नको लागि समेत गुँडजस्तै ठाउँ बनाईदिएका थिए । त्यो गुँडमा चराचुरुंगीहरु बस्ने गर्थे । यस्तै एउटा घरको गुँडमा एउटा परेवा पनि बस्ने गथ्र्यो । परेवा पनि निकै इमानदार थियो । उसले आफ्नो घरको मालिकलाई निकै सम्मान पनि गर्थ्यो । घरमालिकले पनि परेवालाई निकै माया गर्थे । परेवाको लागि तोरी ,चामल, गहुँजस्ता दाना पनि दिईराख्ने गर्थे । एकदिन अर्कै जंगलबाट आएको एउटा कागसँग उसको भेट भयो । काग निकै छट्टु थियो कुरै कुरामा परेवाले आफ्नो घरमा घरमालिकले आफुलाई निकै माया गर्ने कुरा सुनायो । अनि त्यो गाउँमा अरु चराहरु पनि बस्ने गरेको कुरा भन्यो । कागलाई पनि त्यो गाउँमा बसेर आरामसँग जिवन विताउन मन लाग्यो अनि उसले आफुलाई पनि सँगै बसाल्न परेवालाई फकाउन थाल्यो । परेवाले आफ्नो मालिकलाई चोरी मन पर्दैन त्यसैले ज्ञानी भएर बस्ने गरेमा कागलाई आफ्नै गुँडमा बस्न दिन्छु भन्यो । काग छट्टु थियो । उसले त्यो घरमा बसेर अरु मिठा मिठा खानेकुराहरु पनि चोरेर खान पाईन्छ भन्ने आश गरेको थियो तर परेवासँग निकै इमानदार भएको नाटक गर्न थाल्यो । परेवाले उसको कुरा पत्याउँदै आफ्नो गुँडमा बास दियो ।
उकेरा जुनियर
एकदिन त्यो घरमा घरमालिकले केही अचार छानामा सुकाएको थियो । जब बिहान परेवाले दाना खोज्न जाउँ भनेर कागलाई भन्यो, कागले आफुलाई सञ्चो नभएको नाटक गर्दै गुँडमै बस्छु भन्यो तर उसको मनमा छानामा सुकाएको अचार चोर्ने बिचार आएको थियो । परेवाले कागको कुरा पत्यायो र कागलाई गुँडमै आराम गर्न लगाएर आफु दानाको खोजिमा गयो ।
घरका मालिकले गुँडमा बसिरहेको कागलाई माया गरेर केही चामलहरु ल्याएर दिए । आफुलाई त्यस्तो माया गरेकोमा कागले पनि अचम्म मान्यो ।
केहीबेरपछि घरका मालिक कतै गएको मौका पारेर कागले गुँडबाट यताउता चियाएर हेर्दै छानामा सुकाएको अचार चोर्न गयो । उ छानामा गएर बोतलको अचारमा टेक्ने बित्तिकै माटोको भाँडो अचानक चिप्लिएर त्यहाँबाट भुईंमा खसेर फुट्यो । कागको बदमासी देखेर घरको मालिक रिसाउँदै कागलाई झटारोले हाने । कागलाई झटारो लाग्ने बित्तिकै कागको पखेटा नै भाँचियो तर जेनतेन गरी काग त्यहाँबाट भाग्यो ।
यसरी लोभले गर्दा काग अब त्यो ठाउँ छाडेर जानुपर्ने भयो । उसले चोरी नगरेको भए त्यो घरका मालिकले उसलाई अवश्य पनि खानेकुरा दिने थिए तर अब मालिकले पनि चोरी गर्ने कागलाई चिनिसकेका थिए । त्यसपछि काग त्यो ठाउँमा कहिल्यै पनि आएन ।
२०७८ वैशाख १८ गते १६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।