कभर स्टोरी

एक्काइस वर्षपछि कपनमा भेटिइन् हेरोइनको अन्तर्राष्ट्रिय तस्कर गोपी

लागू औषध अनुसन्धानमा संलग्न नेपालका प्रहरी नेपाल भित्रिने खेैरो हेरोइन र सेतो हेरोइनमा उनको कनेक्सन केलाइरहन्थे। उनीहरूका लागि गोपी कुनै तिलस्मी पात्र झैँ थिइन्। नाम बाहेक थप केही पहिचान हात परेको थिएन प्रहरीको।

प्रजु पन्त/केपी ढुंगाना


काठमाडौँ : धादिङ सत्यदेवी–१ की गोपी तामाङ। सामान्य किसान परिवारकी सदस्य। साधारण लेखपढ मात्र गर्न सक्ने उनको क्षमता। तर जोडिएको अपराध अन्तर्राष्ट्रिय लागू औषध तस्करी।

थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियातिर पक्राउ पर्ने नेपालीले उनको नाम पोलिइरहन्थे। लागू औषध अनुसन्धानमा संलग्न नेपालका प्रहरी नेपाल भित्रिने खेैरो हेरोइन र सेतो हेरोइनमा उनको कनेक्सन केलाइरहन्थे। उनीहरूका लागि गोपी कुनै तिलस्मी पात्र झैँ थिइन्। नाम बाहेक थप केही पहिचान हात परेको थिएन प्रहरीको।

लागू औषध सम्बन्धी अपराध अनुसन्धानमा लामो समय संलग्न पूर्व डिआइजी हेमन्त मल्लका अनुसार लागू औषध कारोबारमा उनको नाम पोलिएको सन् १९९९ तिरै हो। त्यो बेला अर्का नेपाली नागरिक मानसिंह घलेसँगै गोपीको नाम समेत पोलिएको थियो।

उनको नाम र ठेगाना आयो पनि। तर अन्य विवरण थिएन प्रहरीसँग।

२०६५ चैत ३० गते तत्कालीन लागु औषध नियन्त्रण इकाईले बालाजुको बशन्तनगरमा रहेको गोपीको घरमा छापा मार्‍यो। त्यो बेला बल्ल प्रहरीले उनको नागरिकताको फोटोकपी फेला पार्‍यो। पहिलो तस्बिर त्यही थियो उनको।

२०७८ वैशाख १ अगाडिसम्म गोपीलाई चिन्ने एक मात्र आधार त्यही नागरिकताको फोटोकपीमा रहेको श्याम श्वेत तस्बिर मात्र थियो।

१७ दिनदेखि गोपी नेपालको कारागारमा छिन्। प्रहरी उनको पक्राउलाई लो प्रोफाइलमै राखेर अनुसन्धानमा जुटेको छ।

०००

पूर्व डिआइजी मल्लका अनुसार धादिङ, लमजुङ, नुवाकोटका महिला र पुरुषहरू बैंकक, इन्डोनेसिया, भारत अनि नेपालमै सेतो हेरोइन सहित पक्राउ पर्न थालेपछि इकाई यो जालो पहिल्याउन अनुसन्धानमा जुुुुटेको थियो।

अनुसन्धान गर्दै जाँदा ती जिल्लाका युवा–युवतीलाई पाकिस्तान लगेर त्यहाँबाट हेरोइनको भरिया बनाएर विभिन्न देश पठाउन दुई नेपाली नागरिक सक्रिय रहेको खुलेको थियो।

'पहिलो देखिए मानसिंह, जो पछि इन्डोनेसियाको प्रहरीको इन्काउन्टरमा मारिए। दोस्रो यिनै गोपी तामाङ,' मल्लले भने। 

प्रारम्भमा यी दुवै जनाको काम लागु औषध बोक्ने भरिया खोजिदिने नै थियो। गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर पाकिस्तान पूर्याउने अनि त्यहाँबाट खैरो र सेतो हेरोइन बोकाएर विभिन्न देशमा पठाउन यी दुवै सक्रिय थिए। पछि आफेै नाइके भए।

‘पहिला यी दुवै जनाको काम लागु औषधका अन्तर्राष्ट्रिय समूहको सहयोगीको रूपमा थियो,’ मल्ल भन्छन्‘तर पछि बिस्तारै उनीहरू समूह बनाएर आफैँ तस्करीमा सक्रिय भए।’

यी दुवै लागु औषधविरुद्ध सक्रिय अन्तर्राष्ट्रिय सुरक्षा सञ्जालको मोस्ट वान्टेड सूचीमा समेत थिए। तर न उनलाई नेपाल प्रहरीले फेला पार्न सकेको थियो, न त अन्य देशका प्रहरीले।

लागु औषध नियन्त्रणको अनुसन्धानमा खटिएका प्रहरीको २१ वर्षको मिहिनेतले अहिले प्रहरीसँग गोपीको नयाँ तस्बिर मात्रै हैन, लागु औषध कारोबारको इतिबृती खुलाउन गोपी आफैँ उपस्थित छिन्। पुरानो मुद्दामा उनी पूर्पक्षका लागि कारागारमा छिन्। ब्युरो उनको जालोको छानवीनमा छ।

देवीमाया खोज्न कपन पुग्दा

२ वर्ष जति भइसकेको थियो देवीमाया तामाङ नेपाल आएर बसेकी। उनी कपनको एक घरमा डेरामा बस्दै आएकी थिइन्।

वैशाख १ गते दिउसो २ बजेतिर लागु औषध नियन्त्रण ब्युरोको टोली बुढानीलकण्ठ नगरपालिकामा रहेको घरको दोस्रो तलामा पुग्यो।

एक कोठामा उनै देवीमाया आराम गरेर बसिरहेकी थिइन्।

प्रहरीले उनलाई खानतलासी पुर्जी दियो। प्रहरीले धादिङबाट २०७० कार्तिक २४ गते जारी भएको देवीमायाको नागरिकताको नक्कल फेला पार्‍यो। खोज्दै जाँदा दराजमा अर्को नागरिकता पनि फेला पर्‍यो। जहाँ लेखिएको थियो गोपी तामाङ। ठेगाना धादिङ, सत्यदेवी गाविस। दोस्रो नागरिकताले प्रहरी झस्कियो। गोपी ब्युरोका प्रहरीका लागि परिचित नाम थियो। त्यही केरकारहुँदा उनले आफु गोपी भएको स्विकारिन्।  
एक व्यक्ति, पाँच परिचय

धादिङ जिल्लाको दुर्गम मानिने तत्कालीन दार्खा गाविसकी गोपी लागु औषधको भरिया खोज्दै आफैँ तस्करीको नाइके बनिसक्दा सञ्जाल चलाउन खप्पिस भइसकेकी थिइन्। त्यसैले त जति गरे पनि उनी सुरक्षा निकायको पकडमा आउन सकिनन् यत्रो वर्ष।

सेतो र खैरो हेरोइनको कारोबारमा कहलिएकी उनले कारोबारमा संलग्न मुसा नाम गरेका तान्जानियन नागरिकसँग विवाह गरिन्। नेपाल छाडेर पाकिस्तानको लाहोरमा बस्न थालिन्। त्यहीबाट नेपालमा आफ्नो सञ्जाल चलाउँथिन् उनी।

उनी पाकिस्तानमा रहेको सूचनाको आधारमा नेपाल प्रहरीले इन्टरपोल मार्फत खोजी नगरेको हैन। तर फेला परिनन्। परुन् पनि कसरी। प्रहरी काइँली भनिने गोपी तामाङ भनेर खोजी गर्थ्यो। तर उनको परिचय नै पाँच वटा थियो।

सुविधा अनुसार उनी आफूलाई कहिले ‘काइँली’, कहिले ‘माया’ कहिले ‘फूलमाया’, कहिले कालीमाया’, कहिले ‘देवीमाया’ को रूपमा परिचय गराउँथिन्।

२०६५ मा प्रहरीले उनको घरमा छापा मारेर छोराछोरीलाई समेत नियन्त्रणमा लिएको थियो। त्यो बेला उनको नागरिकता फेला पारेपछि मात्र उनको सक्कली परिचय खुलेको थियो गोपी तामाङ।

उनको नागरिकता नम्बर थियो ४१०३। अनि राहदानी नम्बर थियो ८९७४२। यी दुवै परिचय प्रहरीकोमा पुगेपछि उनले आफूलाई पाकिस्तान र अफगानिस्तानको बोर्डरमै सीमित गरिन्।

उनले त्यही बसेर यता धादिङमा रहेका सहयोगी मार्फत नेपाली नागरिकलाई भरिया बनाएर कहिले सेतो हेरोइन बोकाइन्। कहिले चरेस।

छ वर्ष अगाडि मारिएका मानसिंङ

उनका ३८ भन्दा बढी सहयोगी पक्राउ परे नेपालमा। तर उनलाई पक्राउ गर्न सकेन प्रहरीले। पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले उनलाई ट्याक गर्ने काम भने छाडेन।

पछिल्लो केही वर्ष भने उनी निष्क्रिय देखिएकी थिइन्। तर उनी निष्क्रिय भएकी हैनन्, उनले आफ्नो कानुनी परिचय नै बदलेकी रहिछिन्।

सन् २०१६ मा गोपी कानुनी रूपमा देवीमाया तामाङ बनिसकेकी थिइन्। उनले सोही नाममा ०९५७८७८८४ नम्बरको राहदानी समेत लिइसकेकी थिइन्।

प्रहरीले उनलाई गोपी र पुरानो राहदानी नम्बरको आधारमा खोजी गरिरहेको थियो। उनी भने देवीमाया बनेर निर्बाध घुमिरहेकी थिइन्। र, लागु औषधको र्याकेट चलाइरहेकी थिइन्।

नेपालबाटै सेतो हेरोइनको कारोबार

कोरोना कहरसँगै अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित हुँदा लागु औषधका कारोबार समेत ठप्प भएका थिए। कोरोनाको पहिलो कहर सुस्त भएको भन्दै सरकारले आन्तरिकसँगै बाह्य सम्पर्क समेत खुल्ला गरे लगत्तै कारोबारी सक्रिय भए।

२०७७ चैत २६ गते पाकिस्तानबाट आएको एयर अरेबियाको विमानबाट उत्रिए धादिङ खनियाबास गाउँपालिका–१ का दावा लामा तामाङ। उनी संयुक्त अरब ईमिरेट्स (युएई)को सारजाह हुँदै आएका थिए।

पहिलो त पाकिस्तान हुँदै आएको। दोस्रो धादिङको। स्वभाविकरुपमै उनी प्रहरीको टार्गेटमा पर्ने नै भए। विमानस्थलमा उत्रिए लगत्तै उनलाई ब्युरोको टोलीले नियन्त्रणमा लियो ।

प्रहरीले उनको लगेज लगायतका सबै जाँच गर्‍यो। तर केही फेला परेन। उनलाई नियन्त्रणमा लिएर प्रहरी अस्पताल लगेर सिटी स्क्यान गराउँदा पेटभरी क्याप्सुल देखियो। प्राकृतिक रूपमा मलद्वारबाट ९३ वटा क्याप्सुल निस्कियो। सबै जोख्दा तौल निस्कियो नौ सय ग्राम। ती सबै क्याप्सुलमा खैरो हेरोइन भरिएको थियो।

‘विशेष सूचनाको आधारमा हामी विमानस्थलमा निगरानीमै थियौँ। उनी आएपछि नियन्त्रणमा लियौँ,’ लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता ऋषिराम कँडेलले भने‘ उनको सिटी स्क्यान गर्दा क्याप्सुल देखिएपछि सूचना सत्य निस्कियो। सबै क्याप्सुल जोख्दा नौ सय ग्राम खैरो हेरोइन रहेको पुष्टि भयो। अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ।’

‘मोटी दिदी’ले पूर्यायो  गोपीसम्म

कँडेलका अनुसार प्रारम्भिक बयानमा उनी मौन नै रहे। प्रहरी प्राविधिक अनुसन्धानमा जुट्यो। उनीसँग रहेको मोबाइलको कल लगको आधारमा अनुसन्धान गर्दा जाँदा होनिमाया तामाङ र बयस बहादुर गुरुङसम्म पुग्यो प्रहरी।

‘अनुसन्धानमा हेरोइन भित्र्याउन होनिमायाको प्रमुख भूमिका देखियो,’ कँडेलले भने‘ तर उनीहरू एक अर्का विरुद्ध केही सूचना दिन तयार थिएनन्।’

बयानमा उनीहरूले कुरा चपाएपछि प्रहरी डिजिटल अनुसन्धानमा केन्द्रित हुँदा दावाको मोबाइलमा नम्बर सेभ भएको नाम देखियो ‘मोटी दिदी’।

नम्बर ट्रेस गरेर हेर्दा काठमाडौँको कपनतिर सक्रिय रहेको देखेपछि सोही समूहको अर्को सदस्य भएको आशङ्कामा प्रहरीले लोकेसन हेर्‍यो। अनुसन्धानमा ‘मोटी दिदी’ उपनाममा राखिएको नम्बर गोपीको भएको खुलेपछि प्रहरी घरसम्म पुगेर पक्राउ गरेको थियो।

पाँचौँ केसमा बल्ल फन्दामा

चैतमा फेला परेको नौ सय ग्राम खैरो हेरोइन गोपी जोडिएको पाँचौँ मुद्दा हो। यस भन्दा अगाडि उनी विरुद्ध चार वटा मुद्दा ब्युरोमै छ।

ब्युरोका प्रवक्ता कँडेलका अनुसार ब्युरोको अनुसन्धानमा गोपी समूहका सदस्य पक्राउको श्रृङखला २०६५ बाट सुरु भएको देखिन्छ। २०६५ चैतमा ३० मा  प्रहरीले बालाजुमा रहेको गोपीको घरमा छापा मारेको थियो।

गोपी नेपाल आएको सूचनामा पत्याएर प्रहरीले घरमा छापा मारेको थियो। प्रहरीले गोपीलाई फेला पार्न सकेन। उनको समूहको दावा लामा, नरेश तामाङ, डोलकुमारी तामाङ, अनिता गुरुङ, मुङसाङ तामाङ, तिलमाया तामाङ सहित तीन जना तान्जानियन नागरिक पक्राउ परेका थिए।

त्यो बेला एक सय ५४ ग्राम सेतो हेरोइन फेला परेको ब्युरोको रिर्पोटमा उल्लेख छ। गोपी विरुद्ध अभियोग लागेको यो नै पहिलो घटना थियो।

काठमाण्डौँ जिल्ला अदालतले दुई जनाको मुद्दा मुल्तबीमा राख्दै अन्यलाई ५ वर्ष कैद र १० हजार जरिवाना गरेको थियो।

अनुसन्धानमा सो हेरोइन क्याप्सुल बनाएर निलेर  पाकिस्तानबाट नेपाल ल्याएको र तान्जानीयन नागरिक अवेदी मोहम्मद म्यानामासीलाई बेचेको खुलेको थियो।

अनुसन्धानमा उनीहरूले डलरलाई क्याप्सुल आकारमा बनाएर निलेर पाकिस्तान लैजाने र सेतो हेरोईन किनेर ल्याउने गरेको खुलेको थियो।

उनीहरूले आफूहरूले गोपी तामाङसँग सेतो हेरोइन खरिद गर्ने गरेको बताएका थिए। अनुसन्धानमा पाकिस्तानमै बस्ने गोपी तामाङबाट डोल कुमारी तामाङ र तिलमाया तामाङले पाकिस्तानबाट ल्याएको सेतो हेरोइन दावा लामालाई दिने र लामाले तान्जानीयन नागरिकलाई बेच्ने गरेको खुलेको ब्युरोको अनुसन्धानमा उल्लेख छ।

त्यसपछि गोपी जोडिने अपराधको घटनाक्रम रोकिएन। बढिरह्यो। २०६५ देखि २०६७ सम्ममा ब्युरोले गोपी समूहको ४ समूह पक्राउ परे।

२०६९ भदौ ५ मा सामाखुसीबाट १ सय १२ ग्राम सेतो हेराइन सहित बुद्धि कुमार गुरुङ पक्राउ परेका थिए। अनुसन्धानमा उनलाई पाकिस्तान बोलाउने र हेरोइन क्याप्सुल निलेर नेपाल पठाउन गोपीकै संलग्नता खुलेको थियो।

२०६७ साउन १२ मा गोगंबुबाट शम्भु बहादुर तामाङ थिङ, विजय कुमार लामा र टेक बहादुर गुरुङ पक्राउ परेका थिए। उनीहरू पनि गोपी समूहकै सदस्य रहेको अनुसन्धानले देखायो।

अनुसन्धानमा तामाङले सो हेरोइन पाकिस्तानबाट भारत हुँदै नेपाल ल्याएको खुलेको थियो।

टेक बहादुर गौशालामा स्मार्ट मेन पावरमा प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेका थिए। वैदेशिक रोजगारीमा संलग्न रहेकै बेला गोपी समूहकी सदस्य याङ लामासँग चिनजान भएपछि उनी लागु औषधको कारोबारमा आएको खुलेको थियो।

विदेश जान इच्छुक सदस्य फन्दामा

प्रहरी अनुसन्धानमा गोपी  समूहले विदेश जाने तयारीमा रहेकाहरूलाई विभिन्न प्रलोभन देखाएर लागु औषधको भरिया बनाउने गरेको खुलेको थियो।

२०६७ साल फागुन २ मा पक्राउ परेका कुलबहादुर तामाङ र शर्मिला तामाङ बैँकक जान लागेको बेला पक्राउ परेका थिए।

शर्मिला जापान जाने प्रयास असफल भएपछि कालीमायाको सम्पर्कमा आएपछि गोपी समूहमा लागेको खुलेको थियो। उनलाई बैंककमा सामान लिएर जानुपर्ने भन्दै फकाएको बयानमा खुलेको थियो। उनी थाइल्यान्डबाट श्रीलङ्का जानेक्रममा पक्राउ परेकी थिइन्। अनुसन्धानमा कालीमाया बनेर शर्मिलालाई बैंकक पठाउने उनै गोपी भएको खुलेको थियो।

पहिला भरिया, पछि नाइके

प्रहरी अनुसन्धानमा गोपीको अपराध यात्रा लागु औषधको भरिया खोज्ने क्रममा सुरु भएको देखिन्छ। उनी कसरी लागु औषधको अन्तर्राष्ट्रिय सञ्जालको सम्पर्कमा पुगिन् त्यो भने खुलेको छैन।

उनको अपराध यात्रा धादिङको सत्यदेवीबाटै सुरु भएको देखिन्छ। सत्यदेवीका युवा–युवतीलाई भरिया बनाएर पाकिस्तान पठाउनेक्रममा उनको सम्बन्ध तान्जेनियन नागरिक मुसासँग भएको र उनी उतै पाकिस्तान गएर आफैँ समूह सञ्चालन गर्न थालेको अहिलेसम्मको अनुसन्धानमा खुल्छ।

उनको समूहका अधिकांश सदस्यहरू बैङ्कको जेलमा छन्। ब्युरोको तथ्याङ्क अनुसार हेरोइनको भरिया बनेर बैंकक जाँदा पक्राउ परेका सत्यदेवीकै ३८ भन्दा बढी युवाहरू अहिले पनि बैङ्कको विभिन्न जेलमा छन्।

‘गोपी तामाङ र मानसिंह घलेको अपराधमा प्रवेश पहिला सहयोगीकै रूपमा भएको देखिन्छ,’ पूर्व डिआइजी मल्लले भने‘ सहयोगी पठाउँदा पठाउँदै उनीहरू आफैँ समूह परिचालन गर्न थाले।’

घले २०७२ वैशाखमा इन्डोनेसियामै मारिए। मारिनु अगाडि घले इन्डोनेसियासँगै अस्ट्रेलियन सरकारको समेत मोस्ष्ट वान्टेड सूचीमा थिए।

गोपी मानसिंहझैँ प्रभावशाली भइनन्। उनी तान्जेनियन नागरिकसँग लागेर पाकिस्तानमा बसेर नेपालबाट लागु औषधको भरिया मगाएर विभिन्न देशमा हेरोइन पठाउन सक्रिय भइन्।

२०७२ फागुन मा ९० किलो चरेस सहित हेरमान तामाङ लगायतका पक्राउ परेपछि काइँलीले नेपालबाट रित्तै भरियालाई पाकिस्तान बोलाउन छाडेर नेपालबाट चरेस बोकाएर पाकिस्तान बोलाउने र त्यहाँबाट हेरोइन बोकाएर बैंकक लगायतका देश पठाउने गरेको खुलेको थियो।

कमजोर भएपछि नेपाल 
गोपी एक पटक नेपाल आउँदा हेलिकप्टर चार्टर गरेर सत्यदेवी गएको सुनाउँथे ब्युरोका प्रहरी। नेपालमा रहेका उनका परिवारका सदस्य मात्र हैन आफन्तको आर्थिक हैसियत बदलिनुमा गोपीकै योगदान देखिन्थ्यो। तर उनी पक्राउ पर्दा भने त्यस्तो देखिइनन्।

गोपीलाई पक्राउ गर्ने टोलीमा रहेका ब्युरोका एसपी कँडेलका अनुसार कपनका रहेको उनको कोठामा पुग्दा उनको आर्थिक अवस्था कमजोर देखिएको थियो।

‘यति लामो समय अन्तर्राष्ट्रिय रूपमै लागु औषधको सञ्जाल चलाउने नाइकेको कोठा जस्तो थिएन,’ कँडेलले भने‘कोठाको अवस्था सामान्य थियो। प्रहरी पुग्दा प्रारम्भमा उनले हैन भने पनि पछि स्वीकार गरिन्।’

प्रारम्भिक अनुसन्धानमा उनी २ वर्ष अगाडि नै पहिचान बदलेर नेपाल आएर बसेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।

‘तान्जानियनसँग छोड पत्र भएपछि नेपाल फर्किएको जस्तो देखिन्छ,’ कँडेल भन्छन्‘ अहिले उनी पुरानो केसमा केन्द्रीय कारागारको महिला गृहमा पुगेकी छिन्। हाम्रो अनुसन्धान भने जारी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विश्वासको मतमा ओलीको दाउ : पाए बहुमतको नेतृत्व, नपाए मध्यावधि निर्वाचन

यी घटनाक्रमसँगै ओली सरकारको निरन्तरता या अरू विकल्प भन्ने निर्णय संसद्को अङ्कगणितले गर्नेछ। तर,अंकगणितिय हिसाबमा यसै हुन्न सक्ने अवस्था भने देखिँदैन। प्रधानमन्त्री ओलीले वैशाख २७....

कमिसन मागेर खोप रोकेको आरोपित कम्पनीलाई नै खोप ल्याउने अनुमति

कोभिशिल्ड र कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनीलाई अनुमति पत्र दिएको विभागका महानिर्देशक भरत भट्टराईले जनाकारी दिए। २२ गतेको निर्णय अनुसार विभागले आयात अनुमतिका लागि....

कोरोना कालमा धन्दा : अस्पताल भन्दै झुक्क्याएर होटलमा, होटल सञ्चालक र चिकित्सक संलग्न

फेसबुकमा कोभिड १९ इमर्जेन्सी ग्रुप पेजमा राखिएको यो सन्देश फैलिएको छ अहिले। सङ्कटको बेलामा कसैले आफ्नो निजी सवारीसाधनलाई एम्बुलेन्स बनाएका छन् त कसैले अस्पतालको बेड....

झोले कम्पनीले चलखेल गरेर खोप ल्याउन दिएनन् : स्वास्थ्य प्रवक्ता

सरकारले सिधै कम्पनीलाई ८० प्रतिशत भुक्तानी गरेर खोप किन्ने प्रक्रिया अगाडि बढाएपछि सेरमका नेपाली एजेन्टले कम्पनीलाई नभई आफूलाई ८० प्रतिशत भुक्तानी दिन माग गरेको र....

काभ्रे स्वास्थ्य कार्यालय प्रमुख भन्छन्–‘सबै अस्पताल भरिइसक्यो, सङ्क्रमित थपिए कहाँ लगेर उपचार गर्ने?’

जिल्लामा उपलब्ध आइसोलेसन,भेन्टिलेटर तथा कोभिड अस्पतालका बेड सङ्क्रमितबाट भरिइसकेका छन्। जटिल प्रकृतिका सङ्क्रमितको उपचारमा समस्या सुरु भइसक्यो। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका अनुसार तत्काल नयाँ सङ्क्रमित....