कभर स्टोरी

बहराइनमा हराएका बाबु खोज्न बिताएको ३७ वर्ष

सुरेन्द्र बजगाईं


तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : न आमा–बाबु रहे न श्रीमती। कोखभित्रै रहेको छोरा ३७ वर्षको भइसक्यो। तर अहिलेसम्म भेट्न पाएका छैनन् कालूराम खापुङले। घर खर्च धान्न, अनि सके केही बचत पनि गर्न भनेर अलेख बद्ध रूपमा ३७ वर्ष अगाडि बहराइन उडेका उनी उतै अड्किए। उनी भौतिक रूपमा बहराइनमा थिए। तर सरकारी कागजमा उनको रेकर्ड थिएन। 

न वर्ष भरी काम गरेर खान पुग्ने जग्गा, न कुनै रोजगारी। श्रीमती गर्भवती थिइन्। दुई छोरीका बुबा भइसकेका उनलाई घरको आर्थिक अवस्थाले पिरोल्न थाल्यो। अनि लागेका थिए बहराइनतिर।

त्यो पनि कानुनी  हैन गैर कानुनी माध्यमबाट । 

‘घरमा खाने अन्न थिएन,’ उनले भने ‘जसरी भए पनि विदेश जाने ध्याउन्नमा थिएँ। १२ जना अन्य साथीसँगै विदेश गएँ।’

बहराइन त पुगे। तर उतै अड्किए। परिवारसँग सम्पर्क नभएकै १३ वर्ष बितिसकेको थियो।

बिचबिचमा स्वदेश फर्कन नखोजेका हैनन् उनी। तर नेपाल छाडेदेखि नै कतै रेकर्ड नभएपछि उनको प्रयास सफल भएन। चाहेर पनि घर फर्कन सकेनन्। बहराइनमै अड्किरहे पहिचानहीन बने।

३७ वर्षपछि बल्ल उनी स्वदेश फर्किन सके। तर फर्कँदा पनि छोरा भेट्न भने पाएनन्।

कोखमै छाडेर हिँडेको छोरो पनि नेपाल टिक्न नसकेर उनीजस्तै श्रम बेच्न कतार पुगिसकेका थिए।

०००

बहराइनमा कालूराम

नयाँ बसपार्कस्थित मोनालिसा गेस्टहाउसको दोस्रो तल्लामा भेटिए झापाका उनै कालूराम। सोफामा बसिरहेका थिए उनी। आइतबार मात्र स्वदेश फर्किएका उनी अलमलमा देखिन्थे। थोरै बोल्थे उनी।

अनुहार पुरै मुजा परेको। उनी आफैँलाई थाहा छैन उमेरले कति नेटो कट्यो भनेर। उनले २०४१ मै घर छाडेका थिए। 

विदेश जाँदा उनका बाबुआमा, दाजु र दिदी हट्टाकट्टा नै थिए। उनी स्वदेश फर्कँदा ती कोही छैनन्। सबैको शरीर माटो बनिसक्यो।

आफ्नाको माया मरेको छैन उनको मनमा। त्यसैले त नेपाल फर्किए लगत्तै आमा–बाबु लगायतका परलोक हिँडेका १५ जनाको सम्झनामा उनी किरिया गर्न ललितपुरको हात्ती वनमा रहेको मन्दिरमा गए। 

त्यहाँ उनले आफ्नो परम्पराअनुसार किरिया गरे। आफन्तको नाममा छाक छाडे र एक रात त्यही बिताए।

०००

उनी घर फर्कने तरखरमा छन्। तर उनको मनले खोजिरहने कोही छैन घरमा। श्रीमान् फर्कन आसमा बाटो हेर्दाहेर्दै जिवनसङी परलोक हिँडिसकिन्। उनले अनुहारै हेर्न पाएनन्। छोरा कतारमा छन्।

अहिले घरमा कालूरामकी बुहारी छिन्। सानी नातिनी छिन्। आफ्नै बाबुले प्रत्यक्ष अनुहार हेर्न नपाएका हजुरबा हेर्न उनी कुरेर बसेकी छिन्। तर कालूराम अहिले काठमाडौँतिर अल्झिएका छन्।

उनलाई पनि थाहा छ घरमा छोरा नभेटे पनि नातिनी भने भेट्न पाउने छन्। तर अपसोच उनको हात रित्तै छन्। कुनै उपहार छैन नातिनीका लागि।

कमाउने सुरमा ३७ वर्ष अगाडि रित्तो हात बहराइन गएका उनी स्वदेश फर्कँदा पनि रिक्तै भए।

कालूरामको रामकहानी

ताप्लेजुङको सिनाम जन्मिएका कालूराम अलिअलि बुझ्ने हुँदा झापा झरे। बिहाबारी झापा झरेपछि नै भयो। दुई छोरी जन्मिए। तेस्रो सन्तान कोखमै थियो।

ताप्लेजुङबाट बुवा आमा र दाइ दिदीको पछि लागेर झापा झरेका कालूरामको आर्थिक अवस्था उँभो लाग्न सकेन। छोरी र श्रीमतीको हातमुख जोड्नै धौ–धौ भयो । घर धान्ने उपाय नभएपछि उनले मुगलान पस्ने सुर सके।

त्यति बेला नै उनका केही आफन्त लाहुरे भइसकेका थिए। उनीहरूको आर्थिक हैसियत राम्रै थियो। विदेश जान पाए आफ्नो परिवारको आर्थिक स्वास्थ्य पनि राम्रो हुने आसमा उनी सम्पर्क सूत्र खोज्नतिर लागे बिदेसिने।

कसरी बहराइन पुगे? कसले लग्यो उनलाई अर्काको नाममा? उनी खुलाउन तयार छैनन् अझै। 

उनले यति भने‘ म जाँदा सँगै अन्य १२ जना पनि थिए। तर उनीहरूको नाम थाहा छैन मलाई।’

अरूकै नाममा अनजान देश पुगेका उनी स्वदेश फर्कँदा कसको पासपोर्टमा बहराइन पुगेको सम्म थाहा छैन रे।

बहराइन बस्दा घरको सिलिङ बनाउने काम गरेको मात्रै थाहा छ उनलाई। अरू काम कता कता गरेँ भन्ने पनि बिर्सिसके रे उनले। बहराइन पुगेपछि उनले घरमा न चिठी पठाए, न सम्पर्क नै गरे। एकाएक सम्पर्कहीन बने उनी।

०००

गेस्ट हाउसमा कुराकानी गर्दा उनी खुल्न चाहेनन् धेरै। प्रायः प्रश्नमा ‘हो’ वा ‘होइन’ मात्र जवाफ दिए। 

छोरा ठुलो भएर फोन गर्दा कस्तो लाग्यो भन्दा उनले भने‘खुसी टेन्सन दुवै भयो।’ 

तनाव किन ? उनी बोलेनन्।

गेस्ट हाउसमा बस्दा  आफन्तसँग कहिलेकाहीँ बहराइनका कुरा गर्न खोज्छन् रे उनी। तर कुरा गर्दागर्दै बिचैमा रोकिन्छन् रे उनी। अघिल्लो रात उनले आफू गएको केही समयसम्म नेपाल आउन चाहेको तर, कागजात नै हराएको कारण फर्कन नसकेको बताएका रहेछन् आफन्तसँग।

‘ठाउँ ठाउँमा काम गर्थेँ । तर, आफू गैर कानुनी भएकोले पैसा दिँदैनथ्यो’ अघिल्लो रात कालूरामले भनेको कुरा सुनाउँदै उनका आफन्त भन्छन्, ‘घर फर्कन्छु भन्दाभन्दै फर्कन पाइएन ।’

बहराइनमा बस्दा उनको मनमा गढेको कुनै त्रास नेपाल आउँदा पनि सँगै आएछ।

उनी  कहिले–काहीँ आफूले बहराइनमा भोगेको दुःख बताउन खोज्छन् । तर, उनको बोली बिचैमा अड्किन्छ।

प्रमाण जुटाउनै कठिन भयो –दूतावास

कालूराम बहराइनमा लामो समयदेखि छन् भन्ने त्यहाँका धेरै नेपालीलाई थाहा थियो । बदमासी गर्दैनथे उनले। त्यसैले बहराइनको प्रहरीले पनि त्यत्ति वास्ता गर्दो रहेनछ उनलाई। 

पद सुन्दा बहराइनका लागि नेपालको राजदूत भएर गएदेखि नै कालूरामको अवस्था थाहा रहेछ। 

‘कालूरामको छोराले यहाँ रहेका नेपाली सङ्घसंस्थालाई र दूतावासलाई आफ्नो बाबु घर फर्काउन सकिन्छ कि भनेर पहल गरिरहेका रहेछन्’, राजदूत सुन्दास भन्छन्, ‘मैले उनलाई घर फर्काउन सकिन्छ कि भनेर पहल गरे पनि।’

दूतावासमा रहेको रेकर्ड खोज्दा कालूराम नाम गरेको व्यक्ति बहराइन आएकै देखिएन।

अझ बहराइनमा उनलाई चिन्नेहरूले ‘मन्त्री’ र ‘पुच्छर घरका कान्छा’ भनेर चिन्ने भएकाले उनको वास्तविक नाम कमैलाई थाहा थियो।

०००

जन्मदेखि नै आफ्नो बाबुको अनुहार नदेखे पनि उनको छोरा रनबहादुरले भने बाबु खोज्न छाडेका थिएनन्। उनले बहराइनमा भएका नेपालीलाई आफ्नो बाबुको नाम र हुलिया बताएर खोज्न सहयोग गर्न भनिरहन्थे। 

बहराइनबाट नेपाल फर्किएका केही व्यक्तिसँग रनबहादुरको भेट हुँदा उनीहरूले उनको बाबु ज्युँदै रहेको भनिदिन्थे। उनलाई बाबु भेट्ने हुटहुटी बढ्थ्यो। तर फेला पार्न सकेका थिएनन्। 

‘उनको नामै अर्कै भइसकेको रहेछ यहाँ,’ सुन्दा भन्छन्, ‘केही परिचय नै नभएकोले हामीलाई प्रक्रिया अगाडि बढाउन नै गाह्रो भयो।’ 

दूतावासले पहिला रनबहादुरलाई आफ्नो बाबुको नागरिकता खोज्न लगायो। तर, नागरिकताको प्रतिलिपि पाउनै सकेनन्। यो बिच दूतावासले प्रहरी प्रशासन, मन्त्रालय र अध्यागमनमा समन्वय गर्यो

सबैले नाता खुल्ने प्रमाण भयो भने लागेको हर्जाना तिरेर नेपाल फर्काउन सकिने जवाफ दिए।

बल्ल बल्ल छोराले नाता प्रमाणित बनाए। दूतावासले कालूरामलाई नेपाल फर्काउन पहल गर्‍यो। उनी नेपाल फर्कन सकिने भए तर हर्जाना १५ लाख निस्कियो। उनीसँग त्यत्रो पैसा थिएन। दूतावासको पहलमा ३५ हजार तिरेर नेपाल आउन पाउने भए। उनी स्वदेश फर्किन पाए।

बाबु र आमाको मुख एकै पटक हेर्ने मन थियो, सकिनँ

रनबहादुरले सानोमा साथीहरूसँग खेल्दा ‘तँ त बुबा नभएको मान्छे’ भनेर जिस्क्याएको अझै बिर्सिएका छैनन्।

साथीहरूले जिस्काउँदा उनको मन कुँडिन्थ्यो। बुबा भनेर बोलाउँदा टुप्लुक्क आए हुन्थ्यो नि भन्ने लाग्थ्यो रे। तर बहराइनमा भएका बाबु कहाँबाट आइपुग्थे र।

रनबहादुर हुर्कँदै गएपछि बाबु छन् तर विदेशमा भन्ने सुने। देशको नाम पनि थाहा पाए बहराइन। 

‘थाहा त पाए। तर के गर्नु। आफैँ लिन जान सक्ने भइएन,’ उनले उकेरासँग फोन सम्पर्कमा भने‘ २००७ देखि घर फर्काउन पहल गरेको थिए। धेरै समय लाग्यो।’

रनबहादुर र कालूरामको सम्पर्क सन् २००७ मा नै भएको रहेछ आफन्तका माध्यममार्फत। उनका आफन्त नेपाल फर्किए। त्यसको केही समयपछि उनका बुबाको फोन हरायो। फोन हराएपछि एकै पटक सन् २०१६ मा मात्र दुवै जनाको फोनमा कुरा भएछ।

‘मेरा केही साथीका आफन्त बहराइनमा छन् । बुबा त्यहाँ सकुशल हुनुहुन्छ भनेर आफन्तबाटै थाहा पाएको हुँ,’ उनले भने‘उनीहरूकै सहयोगमा बुबालाई नेपाल फर्काउन पहल गरेँ।’ 

रनबहादुर पनि वैदेशिक रोजगारका लागि कतार पुगिसकेका थिए। उनी कतार पुगे पनि बाबुलाई स्वदेश फर्काउने पहल छाडेका थिएनन्।

दूतावासले नाता प्रमाणित हुने कागजपत्र भए सजिलो हुने बताएपछि उनी कतारबाट सन् २०१९ मा स्वदेश फर्किए।

बाबुको नागरिकता पाइन्छ कि भनेर पुर्खौली जिल्ला ताप्लेजुङ पनि पुगे। तर भेटेनन्। ताप्लेजुङमा कालूरामको नाममा नागरिकता जारी गरेकै रहेनछ। झापामा पनि भेटिएन।

नागरिकता फेला नपरेपछि बाबुलाई स्वदेश फर्काउन नसकिने भइयो भनेर हार मानिसकेका रहेछन् उनले। त्यही बेला बहराइनको दूतावासबाट बाबु–छोराको नाता प्रमाणित भए पनि हुन्छ भनेपछि भने उनमा आस पलायो। नाता प्रमाणितको कागज बनाएर बहराइन पठाए।

र, कालूराम गत आइतबार स्वदेश फर्कन सफल भए।

उनी काठमाडौँ आए। तर उनको छोरा भने कतार पुगिसकेका थिए काम गर्न। 

रनबहादुरलाई बाबु र आमाको भेट गराउने ठुलो धोको थियो। तर, विसं २०७२ मा उनको आमाको मृत्यु भयो।

बाबु स्वदेश त फर्किए तर विमानस्थलसम्म लिन जान नपाउँदा उनी उतै कतारमा थकथकाइरहेका छन्।

तर सन्तोषको एक पाटो त भयो।

हराएका बाबु ३७ वर्षपछि जो घर फर्किए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विश्वासको मतमा ओलीको दाउ : पाए बहुमतको नेतृत्व, नपाए मध्यावधि निर्वाचन

यी घटनाक्रमसँगै ओली सरकारको निरन्तरता या अरू विकल्प भन्ने निर्णय संसद्को अङ्कगणितले गर्नेछ। तर,अंकगणितिय हिसाबमा यसै हुन्न सक्ने अवस्था भने देखिँदैन। प्रधानमन्त्री ओलीले वैशाख २७....

कमिसन मागेर खोप रोकेको आरोपित कम्पनीलाई नै खोप ल्याउने अनुमति

कोभिशिल्ड र कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनीलाई अनुमति पत्र दिएको विभागका महानिर्देशक भरत भट्टराईले जनाकारी दिए। २२ गतेको निर्णय अनुसार विभागले आयात अनुमतिका लागि....

कोरोना कालमा धन्दा : अस्पताल भन्दै झुक्क्याएर होटलमा, होटल सञ्चालक र चिकित्सक संलग्न

फेसबुकमा कोभिड १९ इमर्जेन्सी ग्रुप पेजमा राखिएको यो सन्देश फैलिएको छ अहिले। सङ्कटको बेलामा कसैले आफ्नो निजी सवारीसाधनलाई एम्बुलेन्स बनाएका छन् त कसैले अस्पतालको बेड....

झोले कम्पनीले चलखेल गरेर खोप ल्याउन दिएनन् : स्वास्थ्य प्रवक्ता

सरकारले सिधै कम्पनीलाई ८० प्रतिशत भुक्तानी गरेर खोप किन्ने प्रक्रिया अगाडि बढाएपछि सेरमका नेपाली एजेन्टले कम्पनीलाई नभई आफूलाई ८० प्रतिशत भुक्तानी दिन माग गरेको र....

काभ्रे स्वास्थ्य कार्यालय प्रमुख भन्छन्–‘सबै अस्पताल भरिइसक्यो, सङ्क्रमित थपिए कहाँ लगेर उपचार गर्ने?’

जिल्लामा उपलब्ध आइसोलेसन,भेन्टिलेटर तथा कोभिड अस्पतालका बेड सङ्क्रमितबाट भरिइसकेका छन्। जटिल प्रकृतिका सङ्क्रमितको उपचारमा समस्या सुरु भइसक्यो। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका अनुसार तत्काल नयाँ सङ्क्रमित....