बिरामी भएर अस्पताल भर्ना भएको हुँ : गण्डकी प्रदेश सांसद शाही 

बिरामी भएर अस्पताल भर्ना भएको हुँ : गण्डकी प्रदेश सांसद शाही 

काठमाडौँ : राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद खिम विक्रम शाहीले स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएको बताएका छन्। पार्टी निर्णय प्रति प्रतिबद्धता कायमै रहेको बताउँदै उनले बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख गरेका छन्। 

सांसद शाहीले आज विज्ञप्ति निकालेर आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएको उल्लेख गरेका छन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने बेला सांसद शाही सम्पर्क विहीन भएका थिए।

‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णय प्रति प्रतिबद्धता कायमै छ।’ शाहीले निकालेको विज्ञप्तिमा लेखिएको छ। 

उनले आफ्नोबारेमा समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामीक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगर्न अनुरोध गरेका छन्। ‘अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने दिन हिजो स्वास्थ्य संसदमा जाने तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर अस्पताल जानेक्रममा म बेहोस भएछु,’ उनले विज्ञप्तिमा लेखेका छन्,‘म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु।’

शाही बागलुङ क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्र २ को ‘ख’ बाट प्रदेश सभामा विजयी भएका थिए। जनमोर्चाले शाही बेपत्ता भएको विषयमा आन्तरिक छानबिन गरिरहेको बताएको छ। सांसद सदनमा उपस्थित नहुनु अस्वाभाविक भएको भन्दै जनमोर्चाले छानबिन थालेको बताएको हो।  

१६ बैशाख, २०७८, १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।