गण्डकी प्रदेश सांसद शाहीको विषयमा जनमोर्चाले थाल्यो छानबिन 

गण्डकी प्रदेश सांसद शाहीको विषयमा जनमोर्चाले थाल्यो छानबिन 

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद खिमबहादुर शाही अस्पतालमा भर्ना भएको विषयमा छानबिन थालेको छ। प्रदेश सभा बैठक चलिरहँदा बेपत्ता भएका सांसद शाही पोखराको चिरक अस्पतालमा भेटिएका थिए।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने समयमा उनको खोजी भएको थियो। जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सांसद शाही मतदानको बेलामा भएको अनुपस्थित रहस्यमय भएको भन्दै छानबिन थालेको जानकारी दिए। 

‘सांसद शाही आज बिहान सम्पर्कमा आउनु भएको छ,’अध्यक्ष केसीले भने,‘छानबिन गरेर नेपाली जनतालाई सत्य तथ्य सार्वजनिक गर्छौ।’ 

उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति निकालेर गण्डकी प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको प्रस्ट र दृढ नीति रहेको उल्लेख गरेकी छन्। उनले यो गतिविधिलाई अस्वाभाविक रूपमा लिएको बताएकी छन्। 

सांसद शाहीको सरकारी अस्पतालमा स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि अकस्मात् रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा बुझन असमर्थ रहेको उपाध्यक्ष पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।  

१६ बैशाख, २०७८, १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।