कर्णालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

सुर्खेत : कर्णालीमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। आज प्रदेश अस्पताल कालागउँमा कालिकोट नरहरिनाथ गाउँपालिकाका ७३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।

आज बिहान ११ बजेतिर उनको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलले  जानकारी दिए। उनका अनुसार वैशाख ११ गते अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ। कर्णालीमा एकै दिन  ३ सयभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। हिजो बुधवारसम्म थप ३ सय ११ जनामा कोरोना देखिएको छ। 

प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसिआर परीक्षणमा १ सय ३४ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको  छ। जसमध्ये सबैभन्दा धेरै २ सय १५ जना सुर्खेतका छन्।  

दैलेखमा ३२, जुम्लाका ८, जाजरकोटका ७, सल्यानका २९, रुकुम पश्चिमका ९, कालिकोटका १०, डोल्पाका १ र अन्य प्रदेशका ३ जना कोरोना सङ्क्रमित रहेका छन्। योसँगै कर्णाली प्रदेशमा कुल सङ्क्रमित हुनेको सङ्ख्या ८ हजार ८ सय ९५ पुगेको छ।

कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ८१ पुगेको छ। तीमध्ये सुर्खेतमा ६ सय १६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ। 

१६ बैशाख, २०७८, ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।