गण्डकी प्रदेशका कोरोना सङ्क्रमित तीन सांसदलाई छुट्टै बस्ने व्यवस्था

गण्डकी प्रदेशका कोरोना सङ्क्रमित तीन सांसदलाई छुट्टै बस्ने व्यवस्था

पोखरा : गण्डकी प्रदेश सभाका तीन जना सदस्यलाई कोरोना सङ्क्रमण भएको छ। प्रदेश सभाका एक जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

सत्तारुढ नेकपा एमालेका सांसदले कोरोना परीक्षण गरेर मात्र प्रदेश सभाको बैठक राख्न माग गरेपछि सदस्य र कर्मचारी गरी १५१ जनाले हिजो स्वाब दिएका थिए। 

निर्देशनालयले प्रदेश सभा सचिवालयमा लिइएका स्वाब परीक्षण गर्दा तीन जना सांसद र एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएको सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए। 

प्रदेश सभा सचिवालयले कोरोना सङ्क्रमण पुष्टि भएका सांसदलाई छुट्टै हाजिर गराएर छुट्टै राख्ने व्यवस्था गरेको छ। कार्य व्यवस्था परामर्श समितिमा सङ्क्रमित सांसदलाई मतदान गर्न दिने सहमति भएकाले आजको बैठकमा बोल्न समय नदिने र छुट्टै राख्ने व्यवस्था भएको सचिवालयले जनाएको छ। 

प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि छलफल हुँदैछ। दिउँसो १ बजे बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकाएर मतदान गर्ने तयारी सचिवालयले गरेको छ।

सकेसम्म आजै अबेरसम्म बैठक बसेर भए पनि अविश्वासको प्रस्तावमाथि मतदान गराउने र नभए भोलि मतदान गराउने तयारी सचिवालयले गरेको सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए। 

१५ बैशाख, २०७८, ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।