कभर स्टोरी

कोरोना नियन्त्रणमा काठमाडौँ महानगरको बिजोग : २६ वटा वडा आइसोलेसनहीन, रमिते जनप्रतिनिधि

महानगर भित्र वडा २ मा १, वडा ९ मा ९, वडा १३ मा २, वडा १५ मा १, वडा, १६ मा ४ र वडा २६ मा १५ गरी ३२ वटा संस्थागत आइसोलेसन छन्। बाँकी २६ वटा वडामा कुनै संस्थागत आइसोलेसन नै छैन।

ईश्वरकुमार मैनाली


काठमाडौँ : कोरोनाको दोस्रो कहरमा काठमाडौँ महानगरपालिका क्षेत्रमा सङ्क्रमितहरूको सङ्ख्या बढिरहे पनि स्थानीय निकायको तयारी भने सुस्त छ। ३२ वटा वडा रहेको यस नगरपालिकामा कोरोना सङ्क्रमित नभएको कुनै वडा छैन। सरकारले महानगरसहित काठमाडौँलाई कोरोना सङ्क्रमणको उच्च जोखिमको सूचीमा राखेर निषेधाज्ञा जारी गरिसकेको छ।

तर कोरोना सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको व्यवस्थापनमा महानगर नेतृत्व रमिते बनेको छ।

काठमाडौँ महानगरको ३२ वटा वडामध्ये१६ वटा वडामा कोभिडको उपचार गर्ने अस्पतालै छैन। ३२ वडामध्ये  वडा ४ मा कोरोना सङ्क्रमणबाट सबै भन्दा बढी १८ जनाको मृत्यु  भइसक्यो। वडा नम्बर १० र ६ मा क्रमशः १८ र १५ जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ। महानगरको सोमबारसम्मको तथ्याङ्क अनुसार वडा १० मा दुई र वडा ६  मा हाल २२ जना सक्रिय सङ्क्रमित छन्।

कोरोनाको उपचारको लागि महानगरको वडा १४ र १५ मा ८–८ वटा अस्पताल छन्।  वडा ४ मा ७, वडा ३२ मा ६, वडा ३१ मा ५,वडा ३ मा ४, वडा १६ र २६ मा ३–३ कोरोनाको उपचारका लागि अस्पताल छन्। वडा १, ७, २०, २९ मा २–२ वटा अस्पताल छन् भने वडा २, १२, र ३० मा एउटा अस्पताल छ।

तर वडा ५, ६, ८, ९, १०, ११, १७, १८, २१, २२, २३, २४, २५, २७ र २८ अस्पतालविहीन छन्। यी वडाहरूमा कोरोना सङ्क्रमणबाट ९९ जनाले ज्यान गुमाइसकेका छन्।

२६ वटा वडामा छैन संस्थागत आइसोलेसन

कोरोना सङ्क्रमण फैलन नदिन सरकारले संस्थागत आइसोलेसन बनाउनुपर्ने बताएको थियो। दैनिक दुई हजार रुपैयाँ तिर्नु पर्ने सरकारी नियमपछि संस्थागत आइसोलेसनमा सङ्क्रमितहरूको चाप कम हुन थाल्यो। अहिले काठमाडौँ महानगरमा  जम्मा ३२ वटा मात्र संस्थागत आइसोलेसन छन्।

महानगर भित्र वडा २ मा १, वडा ९ मा ९, वडा १३ मा २, वडा १५ मा १, वडा, १६ मा ४ र वडा २६ मा १५ गरी ३२ वटा संस्थागत आइसोलेसन छन्। बाँकी २६ वटा वडामा कुनै संस्थागत आइसोलेसन नै छैन।

सोमबारसम्मको तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकामा ३६ हजार ३ सय ६७  कोरोना सङ्क्रमित पुगे। यसमा निको भएकाहरूको सङ्ख्या घटाउँदा पनि अहिले पाँच हजार पाँच सय ३२ सक्रिय सङ्क्रमित छन्।

महानगरको तथ्याङ्क अनुसार २ सय भन्दामाथि सक्रिय कोरोना सङ्क्रमित भएको वडा सङ्ख्या ९ वटा रहेको छ।

सबैभन्दा बढी वडा नम्बर ६ मा चार सय २० सङ्क्रमित छन्। वडा १६ मा तीन सय ४६ जना सङ्क्रमित छन्। वडा १५ मा ३ सय १८, वडा १३ मा २ सय ९३, वडा ३१ मा २ सय ८९, वडा ८ मा २ सय ७४ जना सङ्क्रमित छन्। वडा ११ मा २ सय ३१ जना, वडा २९ मा २ सय २० जना सङ्क्रमित छन् भने वडा १७ मा २ सय १० जान सक्रिय सङ्क्रमित छन्।

रमिते जनप्रतिनिधि

वडाहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि जनप्रतिनिधिहरू भने रमिते देखिन्छन्। उनीहरू आफ्नो वडाका नागरिकै उस्तै भन्दै उल्टो आफैँ पन्छिन्छन्। कामपा वडा १४ कि  वडा अध्यक्ष शोभा सापकोटा जनता अटेरी भएका कारण वडाले केही गर्न नसक्ने बत्ताउँछिन्।

‘भिडभाड नगरौँ भनेर सेवाग्राही भन्दा नराम्रो मान्छन्। बाझ्न आउँछन्। ठुली भइस् भन्छन्,’ उनी भन्छिन्‘ अफिसमा दुरी कायम गर्न सकिने अवस्था पनि छैन। जनता हामीले भनेको टेर्दैनन्।’

वडा ३२ की जनस्वास्थ्य अधिकृत मैया सुइजु भन्छिन् कोही शङ्कास्पद सङ्क्रमित क्लिनिकमा आए अस्पताल पठाउने र स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने गरेको बताउँछिन्।

वडा १६ का अध्यक्ष मुकुन्द रिजालले कोरोना नियन्त्रणका लागि कुनै विशेष प्याकेज नभएको बताउँछन्। उनले वडाले सकेको सहयोग गर्ने त हो भनेर पन्छिए।

वडा १८ र २४ को चमत्कार

महानगरपालिका भित्र वडा १८ र २४ कोरोना सङ्क्रमितका हिसाबले सबै भन्दा कम देखिएका छन्। वडा १८ मा हाल सम्म १ सय ३८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ।

जसमध्ये ४ जना  हाल होम आइसोलेसनमा छन् र  ३ जनाएको कोरोनाको कारण मृत्यु भएको छ। आइसोलेसनमा भएका सबै सक्रिय सङ्क्रमित हुन्।

त्यस्तै वडा २४ मा हाल सम्म १ सय ७५ जनामा मात्र कोरोना देखिएको । जसमध्ये १ सय ७४ जना निको भइसकेका छन्।

वडा २४ महानगर भित्रको शून्य मृत्यु भएको एक मात्र वडा हो। 

वडा १८ का अध्यक्ष नुच्छे काजी महर्जन कनट्याक्ट ट्रेसिङका कारण कोरोना नियन्त्रण प्रभावकारी भएको दाबी गर्छन्। तर वडाकै तथ्याङ्कमा हालसम्म उनीहरूले ४ सय २८ जनाको मात्र कनट्याक्ट ट्रेसिङ गरेको देखिन्छ।

कोभिड नियन्त्रणका लागि सबै भन्दा बढी कनट्याक्ट ट्रेसिङ वडा ३२ र ९ ले गरेको छ। 

वडा ३२ ले ४ हजार ८ सय ४४ र वडा ९ ले ३ हजार २ सय ५८ जनामा कन्ट्याक्ट ट्रेसिङ गरेको महानगरको तथ्याङ्कमा उल्लेख छ। वडा ३२ मा एक हजार ५५ र वडा ९ मा ८ जनामा पिसिआर नतिजा पोजेटिभ आएको थियो।

त्यस्तै ९ वटा वडामा २ हजार भन्दा बढीमा कनट्र्याक्ट ट्रेसिङ गरिएको थियो।

५ वटा वडामा १ हजार भन्दा बढीमा कनट्र्याक्ट ट्रेसिङ भएको काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागको तथ्याङ्कमा उल्लेख छ।

महानगर भित्र सबै भन्दा कम कन्ट्याक्ट ट्रेसिङ वडा १ र वडा २४ ले गरेका छन्। हालसम्म वडा १ ले २ सय ८० जनामा कनट्याक्ट  ट्रेसिङ गरेको मा १६ जना पोजेटिभ देखिएका थिए भने वडा २४ ले २ सय २४ जनामा कनट्र्याक्ट ट्रेसिङ गरेकोमा १८ जनामा  कोरोना पोजेटिभ देखिएको छ।

दोस्रो कहर नियन्त्रणको छैन योजना

काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य तथा वडा ४ का अध्यक्ष मोहन विष्ट कोरोना नियन्त्रणका लागि के गर्ने भनेर छलफलमै रहेको बताए।

‘हामी तयारी मा छौँ। पुराना क्वारेनटाइन सबै डिसमिस भयो,’ उनले भने‘अब कोरोना सकियो भन्ने ठानेका थियौँ। मान्छेले नि त्यस्तै व्यवहार देखाए। फेरी बढ्न थाल्यो। तयारी गर्नेबारे छलफल हुँदै छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विश्वासको मतमा ओलीको दाउ : पाए बहुमतको नेतृत्व, नपाए मध्यावधि निर्वाचन

यी घटनाक्रमसँगै ओली सरकारको निरन्तरता या अरू विकल्प भन्ने निर्णय संसद्को अङ्कगणितले गर्नेछ। तर,अंकगणितिय हिसाबमा यसै हुन्न सक्ने अवस्था भने देखिँदैन। प्रधानमन्त्री ओलीले वैशाख २७....

कमिसन मागेर खोप रोकेको आरोपित कम्पनीलाई नै खोप ल्याउने अनुमति

कोभिशिल्ड र कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनीलाई अनुमति पत्र दिएको विभागका महानिर्देशक भरत भट्टराईले जनाकारी दिए। २२ गतेको निर्णय अनुसार विभागले आयात अनुमतिका लागि....

कोरोना कालमा धन्दा : अस्पताल भन्दै झुक्क्याएर होटलमा, होटल सञ्चालक र चिकित्सक संलग्न

फेसबुकमा कोभिड १९ इमर्जेन्सी ग्रुप पेजमा राखिएको यो सन्देश फैलिएको छ अहिले। सङ्कटको बेलामा कसैले आफ्नो निजी सवारीसाधनलाई एम्बुलेन्स बनाएका छन् त कसैले अस्पतालको बेड....

झोले कम्पनीले चलखेल गरेर खोप ल्याउन दिएनन् : स्वास्थ्य प्रवक्ता

सरकारले सिधै कम्पनीलाई ८० प्रतिशत भुक्तानी गरेर खोप किन्ने प्रक्रिया अगाडि बढाएपछि सेरमका नेपाली एजेन्टले कम्पनीलाई नभई आफूलाई ८० प्रतिशत भुक्तानी दिन माग गरेको र....

काभ्रे स्वास्थ्य कार्यालय प्रमुख भन्छन्–‘सबै अस्पताल भरिइसक्यो, सङ्क्रमित थपिए कहाँ लगेर उपचार गर्ने?’

जिल्लामा उपलब्ध आइसोलेसन,भेन्टिलेटर तथा कोभिड अस्पतालका बेड सङ्क्रमितबाट भरिइसकेका छन्। जटिल प्रकृतिका सङ्क्रमितको उपचारमा समस्या सुरु भइसक्यो। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका अनुसार तत्काल नयाँ सङ्क्रमित....