कैलालीमा कोरोना संक्रमण भयावह, लकडाउनको तयारी

कैलालीमा कोरोना संक्रमण भयावह, लकडाउनको तयारी

कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै सरोकारवालाले लकडाउन गर्न स्थानीय प्रशासन समक्ष आग्रह गरेका छन्।

मंगलबार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमणलाई नियन्त्रण बाहिर जान नदिन समयमै लकडाउन गर्न सुझाव दिएको हो।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कोरोना रोकथामका लागि लकडाउन नै प्रभावकारी विकल्प भएको बताए। अवस्था विकराल हुँदै गइरहेको छ,’ अध्यक्ष कुँवरले भने, ‘हामीसँग संक्रमितको उपचारका लागि स्वास्थ्य पूर्वाधारहरू छैनन्, त्यसैले अहिले नै लकडाउनमा जानु उपयुक्त हुन्छ।’

भारतबाट आउने सबैलाई परीक्षणको दायरामा ल्याउन अत्यन्त जरुरी रहेको उनले बताए। उनले थपे, ‘संक्रमितहरूलाई आइसोलेसनमा र रिपोर्ट नेगेटिभ आउनेहरूलाई परीक्षणपछि मात्रै घर पठाउनुपर्छ।’

कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको सेती प्रादेशिक अस्पतालमा कार्यरत डा निराजनदत्त शर्माले बताए। ‘संक्रमण र मृत्युदर तीव्र छ,’ उनले भने, ‘समयमै संक्रमण नियन्त्रण गर्न सकिएन भने विकराल अवस्था आउँछ।’

संक्रमितले अस्पताल भरिभराउ हुन थालेको उनले बताउ। उनले भने, ‘आइसियुमा बेड पाउनै गाह्रो भइसकेको छ। अस्पतालमा उपकरण भएर मात्रै हुँदैन, तिनलाई प्रयोगमा ल्याउने दक्ष जनशक्ति पनि चाहिन्छ, त्यो हामीसँग छैन। संक्रमितको उपचारका लागि जनशक्ति थप्न पनि आवश्यक छ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापाले सक्रिय संक्रमितको सख्या बढ्दै गइरहेकाले लकडाउन गर्न आवश्यक रहेको बताए। ‘लकडाउनको विकल्प छैन, संक्रमणबाट बच्न सबैले सचेतना अपनाउनुपर्छ’, उनले भने।

सरोकारवालासँगको छलफलमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अवस्था अनुसारको व्यवस्था गरिने बताए। संक्रमितको संख्या बढ्दै गइरहेको छ, अवस्था नियन्त्रणभन्दा बाहिर जान नदिन हामीले एक साताका लागि निषेधाज्ञा अथवा लकडाउन गर्छौँ।’

आवश्यक तयारी गरेर केही दिनमै निर्णय गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

१४ बैशाख, २०७८, १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।