प्रदेश

प्रदेश १ : कोरोना सक्रिय, प्रदेश सरकार निष्क्रिय

विनय बाह्रकोटी


इटहरी : गत शनिबार प्रदेश १ मा १ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखियो। त्यसको भोलिपल्ट (आइतबार) १ सय २२ जना कोरोना संक्रमित थपिए। 

आज (सोमबार) प्रदेश १ मा २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५ पुगेको छ। 

कोरोना संक्रमण बढेसँगै विराट मेडिकल कलेजले तीन दिनयता संक्रमितको उपचारसमेत थालेको छ। 

मेडिकल कलेजका सय शय्यामध्ये ४१ शय्यामा कोरोना संक्रमित राखिएका छन्, जसमध्ये ६ जना भेन्टिलेटरमा छन्। भेन्टिलेटरको पर्खाइमा रहेकाको संख्या चार छ। 

मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की कोरोना संक्रमितको उपचार गर्दा अन्य बिरामीले सेवा नपाउने चुनौती बढ्दै गएको बताउँछन्।

०००

संक्रमितको संख्या थपिँदै गए पनि सरकारले कोरोना रोकथाम र नियन्त्रणमा खासै चासो दिएको देखिँदैन। न सरकारले संक्रमितको कन्ट्याक ट्रेसिङ लगायतमा चासो दिएको छ न त होल्डिङ सेन्टर, क्वारेन्टिन र आइसोलेसनको अवस्थाबारे सरकार जानकार नै छ। 

अघिल्लो वर्ष स्थानीय, प्रदेश र संघीय सरकारले निर्माण गरेका होल्डिङ सेन्टर, क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे प्रदेश सरकार जानकार देखिँदैन। 

प्रदेश सरकारले चतरास्थित सिद्धबाबा आश्रममा बनाएको आइसोलेसन सेन्टर पनि काम नलाग्ने अवस्थामा पुगेको छ। त्यस्तै, नेपाली सेनाले झापामा बनाएको अस्थायी क्वारेन्टिन अहिले अस्तित्वमै छैन। 

प्रदेश सरकार र सुन्दरहरैचा नगरपालिकाको समन्वयमा पूर्वाञ्चल विश्वविद्यालयमा बनेको आइसोलेसन सेन्टरका उपकरण काम नलाग्ने अवस्थामा पुगेको उपकुलपति यादवराज कोइरालाले बताए। उनका अनुसार पुनः आइसोलेसन सेन्टर संचालन गर्दा पहिलेजत्तिकै खर्च हुने देखिएको छ। 

०००

गत शुक्रबार सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका अनुगमन गरिन्। त्यसपछि नाकामा स्वास्थ्य जाँचमा कडाइ हुने आश गरिएको थियो। तर, त्यो हुन सकेको छैन। 

०००

कोसी अञ्चल कोभिड अस्पतालका संयोजक एपोलो भगत अस्पताल भर्ना भएका बिरामीबारे मात्र जानकारी लिन सकिएको बताउँछन्। 

हाल कोसी अञ्चल कोभिड अस्पतालमा ३५ जना कोरोना संक्रमितको उपचार भइरहेको र तीमध्ये ५ जना सघन उपचार कक्ष (आइसियु)मा भर्ना भएको उनले जानकारी दिए। 

प्रदेश सरकारले कोसी अञ्चल कोभिड अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ। 

तर, प्रतिष्ठानका सहायक प्रवक्ता चुणामणि पोखरेल पुरानो उपकरण काम नलाग्ने भएको र नयाँ उपकरण आइनसकेकाले उपचारमा समस्या भएको बताउँछन्। 

उता प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले अस्पतालमा आएका संक्रमित र उपचाररत बिरामीबारे सरकारले चासो दिइरहेको बताउँछन्। 

०००

क्वारेन्टिन सञ्चालन र व्यवस्थापनको जिम्मा पाएको आन्तरिक मामिला मन्त्रालयले अहिले कतै पनि क्वारेन्टिन र होल्डिङ सेन्टर सञ्चालन गर्न सकेको छैन। 

तर, प्रदेशका आन्तरिक मामिलामन्त्री हिक्मत कार्की यसअघि सञ्चालनमा रहेका क्वारेन्टिन बन्द भइसकेकाले पुनः सञ्चालन र व्यवस्थापनको तयारी भइरहेको दाबी गर्छन्। सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गरी त्यसको व्यवस्थापन भइरहेको उनकाे भनाइ छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दुई वटा प्लान्ट सञ्चालन भए पनि कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव कायमै

कोभिड अस्पतालहरूमा अक्सिजनको माग साबिकभन्दा दोब्बरले बढेको छ। अन्य अस्पतालभन्दा प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको संकट बढी नै झेल्नुपरेको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा.....

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....