उकेरा काेलम

बाघलाई कुकुर बाँध्ने साँङ्लोले बाँधेर डुलाउँथे हरिकृष्ण

ईश्वरकुमार मैनाली


तस्बिर : कृष्पा श्रेष्ठ ।

ललितपुर, कुमारीपाटीका हरिकृष्ण श्रेष्ठ कुनै बेला कुकुर बाँध्ने साँङ्लोले बाघलाई बाँधेर डोर्‍याउँदै जावलाखेलस्थित नर्सरी वरिपरि डुल्थे। उनले कुकुरलाई जस्तै बाघ डोर्‍याएको देखेर मान्छेहरु भन्ने गर्थे, ‘यो हरिको मुटु त बाँदरको जस्तो छ।’

मान्छेले बाँदरको जस्तो मुटु भने पनि हरिकृष्णको मन भने अति नै कमलो छ रे।

‘जनावरलाई माया गर्ने मान्छेको मन पनि कही कडा हुन्छ त?,’ उनले भने, ‘जनावरलाई जसले पायो त्यसले माया गर्नै सक्दैन नि। ठूलो छाती भएको मान्छे चाहिन्छ। जनावर हो, कुन बेला के गर्छ थाहै हुँदैन। जनावरले जे गरे पनि सधैं उसको ख्याल गरे पो माया, नत्र त के माया।’

हरिकृष्णले जीवनको ऊर्जाशील समय पशुपक्षीको स्याहारमा नै बिताए।

‘म अहिले ५८ बर्षको भएँ। २०३६ सालमा १६ वर्षको हुँदा मैले चिडियाखानामा जागिर खाएको,’ उनी भन्छन्, ‘अब त जागिरभन्दा पनि बानी भइसक्यो। बिदाको दिन पनि एक पटक यहाँ नआई मनै मान्दैन।’

उसो त हरिकृष्ण बिदामा पनि घर बस्दैनन् अचेल।

‘घर बसेर के गर्ने? दिक्क लाग्छ। बिदा-सिदा केही मतलब छैन। तीन वर्ष जस्तो हुन लाग्यो, बिदामा पनि दिनभरि यतै बस्छु। मनलाई आराम हुन्छ।’

हरिकृष्णको अवकाश अवधि नजिकिँदै जाँदा चिडियाखानासँगको लगाव झन् बढेको छ।

सुरुवाती पाँच वर्ष सेक्युरिटी गार्ड भएर काम गरेका हरिकृष्ण त्यतिबेला देशमा सुरक्षा व्यवस्था राम्रो भएकोले काम गर्न आनन्द भएको अनुभव सुनाउँछन्।

‘त्यसपछि मैले तीन वर्ष नर्सरीमा काम गरें। त्यहाँ पनि राम्रै थियो। चराचुरुङ्गीसँग बस्न निकै रमाइलो हुन्थ्यो। पछि मलाई अफिसमा तान्दिए। २०४६ सम्म अफिसमा नै थन्किएँ।’

अफिस भित्रको काममा भने त्यति रमाउन नसकेको उनले सुनाए।

‘अफिसभित्र काम गर्न मन नलागेपछि फेरि पशुपक्षीको सेवामै फर्किएँ,’ उनी भन्छन्, ‘चिडियाघरमा चार ब्लक छन्। ती सबैमा मैले काम गरेको छु। सबै जनावरसँग कतै न कतै ठोक्किएको छु।’

धेरैजसो जनावरसँग घुलमिल भए पनि हात्तीसँग त्यति नजिक नभएको अनुभव उनीसँग रहेछ।

‘पहिलापहिला हात्ती चढेर पिपलको पात खोज्न गइयो तर हात्तीसँग त्यति लगाव भने भएन,’ उनले भने, ‘बरु बाघसँग मेरो लगाव ज्यादा छ।’

हरिकृष्णले बाघको स्याहार गरेको ८ वर्ष भयो।

‘दुई पटक गरेर मैले ८ वर्ष बाघको सेवा गरें,’ उनी भन्छन्, ‘२०४६ अघि ६ वर्ष र त्यसपछि दुई वर्ष बाघको सेवा गर्ने मौका पाएँ। अब रिटायर्ड हुन दुई वर्ष बाँकी छ।’

हाल चिडियाखानामा भएका सबै बाघ मान्छे खाएर ल्याइएका बाघ हुन्।

‘अहिले चिडिया खानामा पाँच वटा बाघ छन्। सबै मान्छे खाएर आएका। भनेको मान्दैनन्। मनाउन निकै गाह्रो छ,’ हरिकृष्ण भन्छन्, ‘उतिबेला मैले बाघ डोर्‍याएर हिँडेको देखेर मान्छे जिब्रो टोक्थे। अहिलेका बाघ जति रत्याउन खोजे पनि मान्दैनन्। आफैंले हुर्काएको जस्तो नहुने जंगलबाट ल्याइएका बाघ।’

आजभन्दा २२ वर्षअघि हरिकृष्णले डुलाएको बाघको चर्चा स्थानीयले आज पनि गर्छन् रे।

‘पुराना कर्माचारी र स्थानीयबासीले आज पनि मेरो तारिफ गर्छन्। बच्चा हुर्काए जसरी हुर्काएको थिएँ। आफैं हुर्काएपछि जस्तो चाह्यो त्यस्तै बनाउन सकिने रहेछ,’ हरिकृष्ण आफूले हुर्काएको बाघको कथा सुनाउँछन्, ‘ठूली-सानी नाम गरेका दुई बाघका डमरु चितवनबाट ल्याइएका थिए। मेरो भागमा सानी परी। त्यसलाई मैले नै हुर्काएँ। आफ्नै छोरीजस्ती थिई।’

राष्ट्रिय प्रकृति कोष सदर चिडियाखानाका कर्मचारीमध्ये पुराना भइसके हरिकृष्ण। उनकै आँखाअघि उनैले हुर्काएका धेरै जनावरले संसार छाडे। सानीले पनि संसार छाडी तर हरिकृष्णलाई समय गएको पत्तै भएन।

‘समय गएका पत्तै नहुने। आफूले मान्छेको बच्चा जसरी हुर्काएको, स्याहार गरेको जनावर मर्दा मन खल्लो हुने। फेरि विस्तारै नयाँ जनावर आउँछ। त्यसलाई रत्याउन थाल्यो। त्यो पनि  मर्छ। फेरि आर्को आउँछ। यसरी समय बितेको पत्तै नहुने,’ उनी भन्छन्, ‘चाडबाड जेजे भए पनि चैन नहुने मनमा। पहिलापहिला आमाहरु माइत जाँदा घर फर्कन हतारो भए जस्तो हुन्छ, चिडियाखाना फर्कन जहाँ गए पनि।’

मान्छे जस्तै हुन् जनावर पनि। खान दिनै पर्‍यो। स्याहार गर्नै पर्‍यो। किसानले खेतीपाती गर्‍या जस्तै हो जनावरको हेरचाह पनि। अहिले हिप्पो, बाँदर, वनमान्छे, भालु, बाघको हेरचाह हरिकृष्णको जिम्मामा छ। हुन त अरु साथी पनि छन् तर बाघलाई खाना भने बढीजसो उनै खुवाउँछन्।

चिडियाखानाको बाघलाई दिनमा ६ किलो राँगाको मासु दिइन्छ। बिरामी भयो भने कुखुराको पनि दिइन्छ। जनावरको स्वभाव अनुसारकै खाना दिइने उनी बताउँछन्। भन्छन्, ‘हामीले भात खाएजस्तै त हो नि।’ यति लामो समयसम्म सँगै रहँदा पनि कहिल्यै जनावरले क्षति नपुर्‍याएको उनी सुनाउँछन्।

जनावरसँग खेल्ने रहर नै पुगेको छैन रे हरिकृष्णलाई। उमेरको हदबन्दी नभए चिडियाखानामा अझै काम गर्ने इच्छा भएको उनी बताउँछन्।

‘दुई वर्ष बाँकी छ। त्यसपछि रिटायर्ड लाइफ,’ उनले भने, ‘रिटायर्ड भए पनि आउन त दिनको एक पटक आउनुपर्ला। मनले पनि के मान्ला र खै!’

हरिकृष्ण रिटायर्ड लाइफमा गर्ने कामको योजना पनि तयार पारेका छन्। रिर्टायर्ड हुने बित्तिकै आमालाई तिर्थाटन गराउने उनको योजना रहेछ। भन्छन्, ‘आमालाई तिर्थाटन गराइसकेपछि म लखनउ जान्छु।’

लखनाउ जानुको कारण अलि रोचक छ उनको। लखनउको चिडियाखानाको खुब तारिफ सुनेका हरिकृष्णले त्यो चिडियाखाना कस्तो रहेछ त भन्ने जिज्ञासा मेटाउन त्यहाँ जान लागेको बताए।

आमालाई तिर्थाटन र आफू लखनउमा घुमिसकेपछि हरिकृष्ण पसल चलाएर बस्ने योजनामा छन्।

‘पहिला मेरो किराना पसल थियो। दुईभाइ छोरा छन्। तिनले पसलमा समय दिएनन्। बुढियाले मात्र गर्न गाह्रो भएर छाडेका थियौं। अब त्यो पसल चलाउँछु,’ हरिकृष्ण विगत सम्झिँदै भन्छन्, ‘हामी पहिलेबाटै सुकुम्बासी जस्ता थियौं। हाम्रा खलक सबैको सम्पत्ति थियो तर हाम्रो थिएन। बाजेहरुले केके गरेर सिध्याएछन्। खेतीपाती गर्न जमिन छैन। पढेलेखेको मान्छे पनि होइनौं। त्यतिबेला गुनिला मान्छे थिए र बाको ठाउँमा जागिर पाइयो धन्न।’

हरिकृष्णका बा कृष्णलाल पनि चिडियाखानामा जनावरको हेरचाह गर्थे। उनी बासँगै चिडियाखाना गइरहन्थे। बाले पशुपक्षीको सेवा गरेको देखेर उनलाई पनि रहर लाग्थ्यो। बाको रिटायर्ड हुने बेला भइसकेको थ्यो। उनी घरको एक्लो छोरो। उनलाई बाकै ठाउँमा जागिर मिल्यो।

हरिकृष्णलाई छोराहरुलाई पनि चिडियाखानामै जागिर लगाउन पाए हुन्थ्यो जस्तो लाग्छ।

‘पहिले पो मान्छे इमान्दार छ, काम गर्नसक्छ भनेपछि हाकिमहरुले दया गर्थे। अहिले त नेताको पावर चाहिन्छ। हामी जस्तालाई कसले मतलब गर्ला र,’ हरिकृष्णले भने।

हरिकृष्णलाई आफ्नो पेसासँग गर्व रहेछ। उनले ज्यानै धरापमा राखेर भए पनि जनावरको सेवा गरे। बाघ-भालु लगायत जस्तै खतरनाक जनावर भए पनि  हेरचाह गर्दिनँ भन्ने कुरा पनि भएन। ‘तिनको आशिषले राम्रै होला नि,’ उनी आशावादी देखिए।

हरिकृष्णले नयाँ कर्मचारीलाई हिंस्रक जनावरसँग कसरी बचेर स्याहार गर्ने भन्ने सिकाएका छन्।

‘आफ्नो रिटायर्डको बेला भइहाल्यो। जनावरको भर हुँदैन, कुन बेला के गर्छ।  साथीभाइलाई सधैं एक सेकेन्ड ध्यान तलमाथि भयो ज्यान तलमाथि हुनसक्छ भनेर सचेत गराउँछु,’ उनी भन्छन्, ‘हाम्रो सुरक्षा साधन भनेको हाम्रै विवेक हो। दिनकै जोखिमसँग खेल्नुपर्छ। राज्यले सुरक्षा सामग्री व्यवस्थित गरे राम्रो हुन्थ्यो।’

हरिकृष्णलाई आफ्नो ठाउँमा आफू जस्तै मान्छे आइदिए बाघहरुले सुख पाउँथेजस्तो लाग्दो रहेछ।

‘अहिले बाली (बर्दियामा मान्छे खाएपछि चिडियाखाना ल्याइएको नयाँ बाघ) थपिएको छ। त्यो डरलाग्दो छ। एउटा पोथी छे जतती। त्यो अलि ज्ञानी छे। प्रताप, महाराज, बाङ्गेलाई सम्हाल्न सजिलो छैन,’ उनले भने।

बर्दियाबाट ल्याएको बाघको नाम उनैले राखेका रहेछन्। ‘बर्दियाबाट ल्याएको बाघको नाम बाली मैले नै राखेको हुँ,’ उनी भन्छन्, ‘बाघको स्वभाव, ल्याइएको ठाउँ र शारीरिक अवस्था हेरेर नाम राख्छौं।’

हरिकृष्ण बालीको एक किस्सा सुनाउँछन्, ‘बाली ल्याएपछि पत्रिकामा बाघले आँखा तर्‍यो, फलाम टोक्यो, केके भनेर समाचार आएछ। १५-२० जना पत्रकार थिए। म बाघको भाषा अलिअलि बुझ्ने मान्छेले चाल पाइनँ। पत्रकारको आँखा बडो तेजिलो हुने रहेछ। समाचार नै पो आए छ, बाघले कुन्नि केके गर्‍यो भनेर।’

भाषा बुझ्न र बुझाउन खोजे जनावर पनि मान्छे जस्तै हुन्छन् भन्ने लाग्छ हरिकृष्णलाई।

‘पहिला यहाँ नेपालमा नपाइने हिप्पोको जोडी थियो। खेलौना खाएर पोथी मरी। त्यसको एक महिनाको बच्चा थियो। मैले नै स्याहार गरें। आमा मरेको शोकले  खाँदै नखाने। उनी भन्छन्, ‘त्यो बेला कति साथी त्यो हिप्पोको बच्चालाई खुवाउन खोज्थे मान्दैनथ्यो। तर मसँग अलि सहज मान्थ्यो। किनकी म उसलाई बुझ्न खोज्थें। हामीले जस्तै जनावरले पनि हामीलाई बुझ्न खोज्छन्। उनीहरुको भाषा पकड्न सक्यौं भने जस्तै हिंस्रक जनावर भए पनि हानि गर्दैन।’

मान्छेकै व्यवहारका कारण जनावरले हानि गरेको हो जस्तो लाग्छ हरिकृष्णलाई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी....

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त....

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि....

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे।  सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन....

‘श्रीमतीको सपना पूरा गर्न सहरमा पसिना बगाउँदै छु’

सहरमा कोही व्यस्त छन्, घडेरी खन्न। कोही कौसीमा करेसाबारी बनाउँदै छन्। कोरोनाले सहरका मानिसलाई समय दिएको छ। उनीहरु समय कटाउन अनेक हर्कत गरिरहेका छन्। सरकारले....