नायिका सुहानाको भक्ति यात्रा : १७ वर्षको उमेरमा प्रेम टुटेपछि भगवान् कृष्णमा समर्पण

नायिका सुहानाको भक्ति यात्रा : १७ वर्षको उमेरमा प्रेम टुटेपछि भगवान् कृष्णमा समर्पण

'ए मेरो हजुर ३' बाट चलचित्रमा डेब्यु गरेकी नायिका सुहाना थापाका लागि नेपाली चलचित्र क्षेत्र पुस्तैनी नै हो। नायिका झरना थापा र निर्माता सुनिलकुमार थापाकी एक्ली छोरी उनले अमेरिकामा साइकोलोजी विषयमा स्नातक गरेकी छिन्। कोरोना सङ्क्रमण सुरु हुनु अघि नै घोषणा भएको 'ए मेरो हजुर ४' को काम भर्खरै सकाएकी छिन् उनले।

पाँच वर्ष भयो उनको मन अहिले भगवान् कृष्णतिर लागेको छ। इस्कोन मार्फत आध्यात्मिक पथ पच्छ्याउने प्रयासमा छिन् उनी। चलचित्र यात्रासँगै अध्यात्म यात्रामा केन्द्रित भएर सुहानासँग उकेराकर्मी सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

अहिले के गरी बित्दै ६ दिन ?

ए मेरो हजुर ४ को सुटिङ¨को बाँकी काम सकियो। त्यसपछि फुर्सदमै छु। घरमै छु अहिले।  कोरोनाको कारण मेरो मात्रै होइन सबैको जीवन नै अस्तव्यस्त र अन्योलमा पर्यो। अहिले म अब जीवनको यात्रा कसरी अगाडि बढाउने भन्ने योजनामा छु।

एक वर्षको कोरोनाको कहरको प्रभाव कस्तो रह्यो ?

पहिलो पटक लकडाउन हुँदा सबैलाई व्यस्त जीवनबाट आरामको समय मिलेको जस्तो अनुभव भएको थियो। मेरो लागि पनि होली डे जस्तै लाग्यो। फुर्सदको समय धार्मिक अध्ययनमा लगाउन मन लाग्यो।

३ महिना लगाएर महाभारत पढेँ ,अनलाइन क्लास गरेँ। होलिडेको अनुभव बिस्तारै कैद जस्तो हुन थाल्यो। ४ महिना घर भित्रै कैद जस्तै बस्दा ममा भएको भगवान् प्रतिको आस्था उस्तै रह्यो। तर धेरै कुरा मिस भयो। घुम्न जाने, मन्दिर जाने, साथीहरुसंगको भेटघाट सबै बन्द भयो। घर भित्रै एउटै किसिमबाट बस्दा मोनोटोनस भयो। उकुसमुकुस नै भयो। कोरोनाको जोखिम कम भएसँगै सबै खुल्दा त खेलौना हराएर रोइरहेको बच्चाले खेलौना पाएझै भयो। फेरि कोरोना कहर शुरु भएको छ। थाहा छैन आगामि दिन के हुन्छ।

अध्यात्ममा लागेको तपाईँलाई त यस्तो भयो भने अरूलाई झन् कति गाह्रो भयो होला है ?

मैले आध्यात्मिक पुस्तकहरू पढ्दा र त्यसको अभ्यास गर्दा जीवन नदी जस्तै बग्नु पर्छ भन्ने लाग्थ्यो। तर म अध्यात्मतिर लागे पनि पुरै भक्ति भावमै समर्पित भई सकेको थिइन। ४ महिना त यस्तै पुस्तकहरू पढेर, ध्यान गरेरै बिताए। तर मानव शरीरले धेरै कुराहरू माग्दो रहेछ। साधुहरू त्यतिकै साधु बनेका होइन रहेछ। उनीहरूले आफ्नो इन्द्रियलाई नियन्त्रण गरेर साधनामै लागेका हुन्। म त यो क्षेत्रको लागि भर्खर जन्मेको नाबालक न हु। बिहान चिया खानुपर्ने व्यक्तिलाई चिया नखाऊ भन्दा नै कति गाह्रो हुन्छ। अध्यात्म क्षेत्र त समुन्द्र नै हो। जति गहिरिँदै गयो अझै डुब्दै जानु पर्नै।

खाऊ -खाऊ, लाऊ-लाऊ भन्ने उमेरमा कृष्णको भक्ति भावमा कसरी लाग्न पुग्यो ? 

१७ वर्षको उमेरमा ट्याजिडीमा परेँ। ब्रेक अप हुँदा नेपालमै थिए। मन सम्हाल्न गाह्रो थियो। आफूलाई म एकदमै रमाइलो, कुल र रोमान्टिक लाग्थ्यो। तर ब्रेकअपले म को हुँ, जीवन के हो, माया के हो र सम्बन्ध के हो भन्ने प्रश्नहरूले सतायो। मसँग कोही छैन भन्ने लाग्दै गर्दा भागवत गीता पढ्न पाए। मेरो एक्लोपनाको साथीको रूपमा कृष्णलाई पाए र कृष्णमै समर्पित हुँदै गए। शायद बच्चैदेखि यसमा समर्पित भएको भए म पनि पुरै भक्तिभाव भित्र समाहित हुन्थे. होला। दिमाग खलबल भएको बेला अध्यात्ममा लागेको हुँदा मेरो मन स्थिर हुन गाह्रो भयो।

कृष्णभक्तीमा लागे पछि के कस्तो सोचहरू आए?

म भावलाई शून्य बनाउन थालेँ । म आफ्नो खोजीमा लागेँ। ध्यान, प्रवचन र आध्यात्मिक पुस्तकहरू मेरो अभिन्न अगं बन्दै गयो। इख र डाहालाई छोड्दै भजन र मन्त्रहरूमा डुब्दै गए । म कृष्णमा डुब्दै गए ।

अव त्यस्तै हुन कतिको सम्भव छ ?

मानव जातीलाई समय र अवस्थाले धेरै कुरा सिकाउने र गराउने रहेछ। मेरो ५ वर्ष अघि ब्रेकअप भएर अध्यात्ममा लागे पछि अब कुनै रिलेसनमा बस्दिन सिधै बिहे गर्छु भन्ने लाग्यो। तर ४ महिना घर भित्रै बस्दा मेरो उकुसमुकुसले साथी चाहिन्छ भन्ने भाव आउन थाल्यो। फेरि कोहीसँग रिलेसनमा बस्दैमा मेरो आध्यात्मिक भाव बन्दै हुने भन्ने कुरा त अव सम्भव छैन। 

बिहान उठे देखि गरिने ध्यान, मन्त्र उच्चारण, मन्दिर जाने र आध्यात्मिक पुस्तकहरू पढ्ने कुराहरू जीवन रहुन्जेल रहन्छ। तर रिलेसनमा हुँदा अटेचमेन्ट बढ्छ, म र मेरो भन्ने भाव स्वतः : आउने रहेछ। 

महाभारत ले के सिकायो ?

महाभारत पढे पछि राजनीतिका कुराहरू बुझ्ने मौका मिल्यो। महाभारत हरेक राजनीतिमा लागेका व्यक्तिले पढ्न र बुझ्नु पर्ने रहेछ।

युधिष्ठिरलाई जङ्गल पठाउँदा उनीसङग गएका सय जना ब्राह्मणलाई ख्वाउन नपाउँदाको दुखले सरकार जनताप्रति कतिको उत्तरदायित्व हुनु पर्छ भन्ने बुझाउँछ। तर यहाँ त जनताको केही मतलब छैन, खाली आफ्नै स्वार्थमा  दगुरेका छन्। जनताको जिम्मेवारी त सरकारको हो नि? अहिले नै हेर्नु न जनता आफै अहिलेको अवस्थासङग लड्न बाध्य छन्। हरेक दिन जटिल समस्याहरू देखि रहेका छन्। तर नाकाहरू, सीमाहरू बन्द गर्ने सुरसार नै देख्दिन।

यसो भए सरकारबाट पुरै असन्तुष्ट हो?

बिचमा अमेरिका पनि पुगेको थिए। कोरोनाको रूप उता अझै विकराल देखेँ। तर त्यहाँका जनताहरू खुसी नै छन्। उनीहरू घर बसिबसी सरकारबाट राहत पाइरहेका छन्। उनीहरू लामो बिदामा जस्तै रमाइ रहेको पाए। तर नेपालको अवस्था त्यस्तो थिएन। सुरुका केही महिना हुनेखानेहरूको लागि बिदा जस्तै भए पनि अरू सामान्य जनताहरूलाई निकै कठिन थियो। कतिको जागिर नै गयो, खानलाई धौधौ भएर सडकमै आए। यही एक वर्ष भित्र आत्महत्या गर्ने र डिप्रेसनमा जाने व्यक्तिहरू धेरै भए। यसको जिम्मा त सरकारको हो नि हैन र? यस्तो अवस्थामा सरकारबाट कसरी सन्तुष्ट हुने?

अध्यात्मसँगै अभिनय यात्रा त चल्छ होला नि। केही छ भावी योजना?

चलचित्र 'ए मेरो हजुर ३' आएको २ वर्ष भइसक्यो। अव ४ को तयारी छ। पहिलो प्रयासलाई नै धेरै दर्शकलै रुचाउनु भयो। मलाई डर थियो, मामु, बाबाको नामले म हराउने हो कि भन्ने। तर मेरो अभिनयलाई रुचाउनु भयो। म अभिनय सिकेर, बुझेर आएको थिइन। अव ममा अझै बढी चुनौती थपिएको छ। अझै राम्रो अभिनय गर्नैपर्छ मैले। दर्शकहरूले एउटा छवि बनाइ दिएका छन्। एकदमै ज्ञानी, सोझी। यी सबै कुराले मलाई प्रेसर अनुभव गराइरहेको छ। मान्छे न हो गल्ती हुन सक्छ। राम्रो छविलाई कायम राख्न सारै गाह्रो कुरा हो। 

११ बैशाख, २०७८, २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।