श्रीमानलाई विष खुवाएर मार्ने श्रीमती पक्राउ

श्रीमानलाई विष खुवाएर मार्ने श्रीमती पक्राउ

भक्तपुर : भक्तपुरमा श्रीमतीले पर–पुरुषसँगको सम्बन्धका कारण श्रीमानको हत्या गरेको खुलेको छ।

श्रीमान् विष्णु थापा मगरलाई विषादी मिसाएर खाना खुवाएको र उपचारका क्रममा उनको मृत्यु भएको भन्दै परेको उजुरीका आधारमा प्रहरीले श्रीमती पार्वती थापा मगरलाई पक्राउ गरेको जनाएको छ। 

२०७२ सालमा वैदेशिक रोजगारीबाट फर्केका भक्तपुर सुर्यविनायकका विष्णुलाई पार्वतीले विषादी मिसिएको खाना खुवाउँदा मृत्यु भएको परीक्षणबाट खुलेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। 

विषादी मिसिएको खाना खाएका विष्णुको मध्यपुर अस्पताल भक्तपुरमा मृत्यु भएको थियो। प्रहरीले मृतक विष्णुको भिषेरा, घटनास्थलबाट उठाइएको गहतको दाल, अण्डा करी र मुछिएको खानामा कीटनाशक विषादी फेला परेको जनाएको छ। 

पार्वती विरुद्ध मृतकका भाइ लोक बहादुर थापा मगरले कर्तव्य ज्यान शीर्षकमा उजुरी दिएका थिए। प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतले दिएको आदेश अनुसार पार्वतीलाई दुई दिनअघि पक्राउ गरेर थप अनुसन्धान भई रहेको छ।  

१० बैशाख, २०७८, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।