साताका गीत - मधेसमा मैनादेखि हुन्न कसैकोसम्म 

साताका गीत - मधेसमा मैनादेखि हुन्न कसैकोसम्म 

काठमाडौँ : कोरोना कहरकाबीच पनि यो साता विभिन्न नयाँ गीत सङ्गीत सार्वजनिक भएका छन्। अन्य व्यवसाय खस्किए पनि गीतसङ्गीतको व्यापार भने बढेको छ। यो साता युट्युब मार्फत १० वटा गीत सार्वजनिक भएका छन्। 

अन्जु पन्तको ‘प्रेम फुल‘ 

गायिका अन्जु पन्तको आवाजमा नयाँ गीत ‘प्रेम फुल’ बोलको गीत सार्वजनिक भएको छ। सुमित्रा थुलुङ आश्रुधाराको शब्द तथा डी.आर अटुको सङ्गीत रहेको यो गीतमा मायालु जोडीबिचको प्रेमको संवाद र प्रेममा पाएको पीडा देखाइएको छ। यो गीत गाउन आफूलाई निकै अप्ठ्यारो लागेको गायिका अन्जुले बताइन्।

सुनिल गिरीको ‘लेकाली भेगैमा’ 

लोक पप गायक सुनिल गिरीले पनि आफ्नो आवाजमा ‘लेकाली भेगैमा’ बोलको गीत सार्वजनिक गरेका छन्। प्रतिबद्धको शब्द रचना समावेश गरिएको गीतमा गायक सुनिल कै सङ्गीत र एरेन्ज रहेको छ। यस गीतको भिडियोमा सुनिल आफैले अभिनय गरेका छन्। 

गीतमा सुनिललाई पोखराकी उर्मिला गुरुङले अभिनयमा साथ दिएकी छन्। भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिबद्ध र विष्णु कुमार बुढाको पनि अभिनय देख्न सकिन्छ।

गीतको भिडियोलाई जितु तामाङले खिचेका हुन् भने मनोज कार्कीले  सम्पादन गरेका छन्। म्युजिक भिडियोलाई गायक स्वयमले निर्देशन गरेका छन्।

देवी ओलीको ‘कति निष्ठुरी’ 

गीतकार राजकुमार फुयाँलको शब्द रचनामा ‘कति निष्ठुरी’बोलको गीत सार्वजनिक भएको छ। गीतमा देवी ओलीको स्वर र विकाश चौधरीको सङ्गीत रहेको छ। गीतको म्युजिक भिडियोमा रोशनी कार्की, सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीले अभिनय गरेका छन्। 

गीतमा वैदेशिक रोजगारीमा युवाहरू जाँदा नेपाली समाजमा हुने गरेको घटनालाई देखाउन खोजिएको छ। यस गीतको भिडियोलाई आवेश बज्राचार्यले खिचेका हुन भने माधव बेलबासेले सम्पादन गरेका छन्। भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन्। 

विकास र सिर्जना अभिनीत ‘सोची हेरन’ 

सुदिप भण्डारीले आफ्नो आवाजमा ‘सोची हेरन’ दर्शक तथा श्रोतामाझ लिएर आएका छन्। उनले प्रेममा हुने त्याग, तपस्या तथा मिलनको कथालाई समेटेर ‘सोची हेरन’बोलको गीत सार्वजनिक गरेका हुन्। गीतकार डी.पी खनालले लेखेका यो गीतमा शङ्कर थापा ‘स्माइल’ले सङ्गीत भरेका छन्। गीतमा सन्देश रुचालको सङ्गीत संयोजन रहेको छ।

बाध्यता र सामाजिक जिम्मेवारी भित्रको प्रेम कथा समेटिएको यस गीतको भिडियोमा विकास लामिछाने र सिर्जना जिसीले अभिनय गरेका छन्। गीतको भिडियोमा अनिल कुमार मानन्धरको छायाकंन तथा दिन्शन शाहको  सम्पादन रहेको छ। त्यस्तै, भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन्।  

केहरसिंह प्यासीको ‘मधेसमा मैना’

गायक केहरसिंह प्यासीको स्वरमा ‘मधेसमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक प्यासीलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन्। रविन लामिछानेले लेखेको गीतमा श्यामस्वेत रसाइलीले एरेन्ज गरेका छन् भने गीतको लय ऋषि खड्काको छ। 

मौसम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अभिनेता तथा पल शाह र अञ्जली अधिकारीको अभिनय रहेको छ। यस गीतको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन्। 

११ वर्षिया सगुनको ‘गल्ती के थियो खै’ 

११ वर्षिया गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा ‘गल्ती के थियो खै’ श्रोता तथा दर्शकमाझ आएको छ। गीतमा बालबालिकाको मायालाई देखाउन खोजिएको छ। यस गीतमा अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ।

चन्दन  र  प्रतिभाको ‘उषाको किरण’ 

यसै साता अस्ट्रेलियामा छायाङ्कन गरिएको म्युजिक भिडियो ‘उषाको किरण’ सार्वजनिक भएको छ।  प्रेमिल शैलीको यस गीतमा राजेशराज जोशीको आवाज सुन्न सकिन्छ। जगदीश आचार्य र गायक जोशीले संयुक्त रूपमा गीतका शब्द लेखेका हुन्। 

म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जनले अभिनय गरेका छन्। उनीहरूबिचको प्रेम र रोमान्स भिडियोमा देख्न सकिन्छ। किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका छन्।  

हिराकाजीको ‘मिठो धोका’ 

विदेशमा बसेर नेपाली साङ्गीतिक क्षेत्रमा रमाइरहेका गीतकार तथा निर्देशक हिरा काजी थापाको नयाँ गीत ‘मिठो धोका’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सुजाता बर्माको आवाज रहेको छ भने सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ। गीतकार थापाको शब्द रहेको गीतलाई म्युजिक एरेन्ज भने उदय राज पौडेलले गरेका छन्।

गीतको भिडियोलाई उत्तम हुमागाईँले छायाङ्कन गरेका छन् भने गौरव गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ। भिडियोमा मोडल भद्र जङ्ग कुँवर, समीक्षा पोखरेल, रिया क्षेत्री, प्रवीण डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरलाई फिचर्ड गरिएको छ। 

सुनिता र खेमराजको ‘मोही पार्ने मदानी’

गायिका सुनिता ठकुरी र खेमराज गौतमको स्वरमा‘मोही पार्ने मदानी’ बजारमा आएको छ। दीपेन्द्र डाँगीको सङ्गीत संयोजन रहेको गीतको शब्द खेमराज गौतम र लय अर्जुन बोहराले लेखेका हुन्। 

‘मोही पार्ने मदानी’ गीतको भिडियोलाई वीरेन्द्र ओलीले निर्देशन गरेका हुन् भने हरिस महराको छायाङ्कन र दीपक विष्टको सम्पादन रहेको छ। सुनिता ठकुरीको आफ्नै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतको  भिडियोलाई सुजन गोर्खालीले कोरियोग्राफी गरेका हुन। 

सुनिता दुलालको ‘हुन्न कसैको’

लोक दोहोरी गायिका सुनिता दुलालले एकपछि अर्को गीत श्रोता तथा दर्शक माझ लिएर आएकी छन्। उनले हालै ‘हुन्न कसैको’ बोलको भिडियो नयाँ वर्षको शुभकामना सहित सार्वजनिक गरेकी हुन्। 

यस गीतमा पनि आफ्नो घरपरिवार छोडेर बाध्यतावश लाहुर जान परेका आम नेपालीको कथा व्यथालाई समेटिएको छ। सामाजिक यथार्थतालाई प्रस्ट्याउन खोजिएको यस गीतमा दिनेश परियार र सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ।

‘हुन्न कसैको’ बोलको गीतमा लय, शब्द तथा सङ्गीत संयोजन गायक  दिनेश परियारकै रहेको छ। यस गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोलाका अलावा प्रकाश कुमार दर्लामी, सौगात जङ्ग थापा, साइमन भट्टराई, कमला बस्नेत, समीक्षा भुजेल लगायत कलाकारको अभिनय रहेको छ।

भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायाङ्कन सुजन श्रेष्ठको छ। यस गीतको म्युजिक भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाङ्कन गरिएको गायिका सुनिताले बताइन्। भिडियोलाई गायिका दुलालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

१० बैशाख, २०७८, ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।