किर्ते प्रमाण पत्रको आधारमा चिकित्सक बनेको आरोपमा सात जना पक्राउ

किर्ते प्रमाण पत्रको आधारमा चिकित्सक बनेको आरोपमा सात जना पक्राउ

काठमाडौँ : किर्ते शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सात जनालाई पक्राउ गरेको छ।

ब्युरोले बङ्गलादेशमा एमबिबिएस अध्ययन गर्न जान एसएलसीको मार्क सिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्क लगायतका विवरणहरू सच्याई किर्ते मार्क सिट बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले किर्ते मार्क सिटको आधारमा बङ्गलादेशमा एमबिबिएस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएको र उनीहरूले व्यक्तिगत लाभको लागी नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्क सिट किर्ते गरी लिखत सम्बन्धी कसुर अपराध गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

ब्युरोले लिखत सम्बन्धी कसूरमा काठमाण्डौं जिल्ला अदालतबाट म्याद लिई सप्तरीका  मोहमद सिद्दिक, महोत्तरीका सुभाष प्रसाद साह, धनुषाका मोहम्मद शाहिद राजा, मनाङका दिपेन्द्र गौतम, सप्तरीका अखिलेश कुमार देव, पल्लवी सिंह र ललितपुरका फराज हुसेन खाँलाई पक्राउ गरेको हो।

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा चिकित्सक बनेका सिद्धिकी न्युरो अस्पताल विराटनगर, साह जनकपुर चिल्ड्रेन हस्पिटल, राजा दिर्घायू गुरु हस्पिटल, गौतम चौरझारी मिसन हस्पिटलमा कार्यरत रहेको ब्युरोले जनाएको छ।

६ बैशाख, २०७८, ००:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।