प्रदेश १ : प्रतिपक्षी दलको विरोधबीच प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य 

प्रदेश १ : प्रतिपक्षी दलको विरोधबीच प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य 

सभामुख प्रदीपकुमार भण्डारीले आज राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। 

प्रतिपक्षी दलको विरोधबीच सभामुख भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले पठाएको पत्र पढ्दै अधिवेशन अन्त्यको घोषणा गरे। अधिवेशन अन्त्यको घोषणा गरिँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसद्ले विरोध जनाएका थिए। 

प्रदेश सरकारको सिफारिसका आधारमा संविधानको धारा १८२ (२) बमोजिम अधिवेशन अन्त्य भएको संसद् सचिवालयले जनाएको छ। 

हिउँदे अधिवेशन सुरु भएदेखि नै संसद् राम्ररी चल्न सकेको थिएन। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबल भएपछि प्रदेशसभा बैठक भाँडिएको थियो। 

सर्वाेच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता बदर गरी नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि मुख्मन्त्रीविरुद्ध तत्कालीन ने क पा को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्ताव असफल भएको थियो। 

त्यसपछि कांग्रेस, माओवादी केन्द्र, जसपाले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम सुचारु हुनुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र परेको आयोजनाको काम सुचारु गर्नुपर्नेलगायत माग राखेर तीन पटक संसद् अवरुद्ध गरेका थिए। 

आज (आइतबार)को बैठकमा पनि ती दलले सोही माग दोहोर्याएपछि सभामुख भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्। 

५ बैशाख, २०७८, १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।