‘फूलबुट्टे सारी’ को रचनागर्भ : गीत फ्लप भएपछि गायक नै बेपत्ता

‘फूलबुट्टे सारी’ को रचनागर्भ : गीत फ्लप भएपछि गायक नै बेपत्ता

१२ वर्षअघिको कुरा हो। रक गायकका रुपमा आफूलाई स्थापित गराइरहेका मार्मिक लामाले मलाई एउटा गीत बनाइदिन अनुरोध गरे। सुरुमा त  मलाई अचम्म लाग्यो। किनभने, रक शैलीका गीत गाउने भाइ मार्मिकले गीत बनाइदिन भनेपछि कस्तो खालको गीत बनाइदिने भनेर मलाई सोच्न बाध्य पार्यो।

त्यतिबेला बेला मलाई खासै धेरैले चिन्दैनथे। अहिलेको जस्तो राजनराज शिवाकोटीको नाम कसले लिन्थ्यो र?

मार्मिकलाई सुहाउने गीतबारे सोच्दासोच्दै, एक-दुई हरफ कपीमा कोर्दाकोर्दै ‘फूलबुट्टे सारी’ शब्द फुर्यो। यसैमा मैले अर्को शब्द कोरें, ‘कान्छीको केस फिँजारिएछ’।

यो गीत रक शैलीमा गाउन मिल्ने भयो। शब्द र गीत मार्मिक भाइलाई सुनाएँ। यो शब्दले मार्मिकको गायनमा नयाँ स्वाद दियो। गीतका शब्द पनि राम्रै बने। मेरो शब्द-संगीतमा मार्मिकको स्वर भरेर गीत रेकर्ड गराइएको थियो। तर त्यतिबेला गीतले चर्चा बटुल्न सकेन।

गीत फ्लप भएपछि गायक गायब
यो गीत रेकर्ड भएपछि मैले एउटा एल्बममा समावेश गरेको थिएँ। मेरो संगीत र मार्मिकको स्वरमा गीत एकदमै राम्रो बनेको थियो। आफ्नो सिर्जना हरेकलाई राम्रो लाग्छ नै। मलाई पनि राम्रो लागेको थियो। गीतलाई एउटा सिडीमा समावेश गरेर सार्वजनिक गरें तर खासै चलेन।

गीत नचलेपछि मार्मिक लामा भाइ बेपत्ता भए। उनी बेपत्ता भएपछि मैले पनि खासै खोजी गरिनँ। १२ वर्षसम्म मार्मिक र मेरो भेटघाट नहुँदा मैले उनलाई बिर्सिसकेको थिएँ भने यो गीतलाई पनि। तर १२ वर्षपछि सामाजिक सञ्जालले यो गीतलाई माथि उठाउने काम गरेको हो।

मैले बिर्सिएको गीत
‘फूलबुट्टे साडी’ बोलको गीत मैले बिर्सिएको गीत हो। यो गीत टिकटकमा हिट हुँदा पनि मेरो गीत हो भनेर पत्तै पाएको थिइनँ। एक वर्षअघि टिकटकमा हल्का छाउँदै गरेको थियो। दसैँको समयमा धेरैले यो गीतमा टिकटक बनाइसकेका थिए। तर यो बेलासम्म मेरो गीत हो भन्ने मलाई लागेको थिएन।

गत वर्षको दसैं आउनु केही दिनअघि अमेरिकामा बस्दै आएका रोशन मैनाली भाइले ‘दाइ तपाइँको ‘फूलबुट्टे साडी’ बोलको गीत त टिकटकमा निकै हिट छ नि भनेर सोधे। मैले आफ्नै गीत हो कि होइन भनेर सम्झनै सकिनँ।

साँच्चै भन्नुपर्दा उनले यसरी सोध्दा मलाई भने सपना जस्तो लागिरहेको थियो। सुरुमा त लेखेको, कम्पोज गरेको गीत हो कि होइन भन्ने पनि लाग्यो।  घरीघरी हो कि क्या हो जस्तो पनि लागिरहेको थियो।

यसको कभर गीतहरु युट्युबमा छ्याप्छ्याती थिए। म निकै घोत्लिएँ। युट्युुबमा कभर भिडियोहरु फूलबुट्टे सारीकै छन्। अनि मेरो गीत हो कि हैन भनेर पत्ता लगाउन कभर गीत गाएका दमौलीका एक जना गायक प्रतीक गुरुङलाई फोन गरेर सोधें। उनले ४ वर्षअघि कभर गीत बनाएर युट्युबमा राखेका रहेछन्।

उनले पनि ‘फुलबुट्टे सारी’ का गीतकार, संगीतकार र गायकको नाम भनेपछि मलाई १२ वर्षअघिको सम्झना आयो। प्रतीकले मेरो नाम भनेपछि यो गीत लेख्ने संगीत गर्ने मान्छे मैंं हो। गायक मार्मिक लामा हुन् भनेपछि उनले मैले भने बमोजिम नाम परिवर्तन गरे।

व्यवस्थित गर्न पुनः रेकर्डिङ
१२ वर्षअघि रेकर्ड गरेको यो गीत अहिले यसरी चर्चा पाउँदा मेरो मन पोल्न थाल्यो। टिकटक र युुट्युबमा कभर भर्सन जताततै बन्न थालेपछि मलाई पुनः गीत रेकर्ड गर्न मन लाग्यो।

मैले गायक मार्मिक लामालाई भेट्न बोलाएँ। उनी आए र पुनः गीतको एरेन्ज गरियो। गत वर्षको लक्ष्मीपूजाको करिब दस दिनअघि रि–एरेन्ज गर्दै रातारात भोकल हालियो।

म्युजिक भिडियो बनाइयो। देवीथान म्युजिकको युुट्युब च्यानलमा अपलोड गरियो। पहिलो दिन १०-१२ हजार पटक दर्शकले हेरे। विस्तारै यो गीतले लाख भ्युज पायो। यो गीतको केही सातामै युुट्युबमा एक करोड भ्युज पाउन सफल भयो ।

नसोचेको सफलता
मैले ‘फुलबुट्टे सारी’ यति हिट होला भनेर सोचेको थिइनँ। १२ वर्षअघि बजारमा ल्याएको गीतले पुनः रेकर्ड गरेपछि पाउला भन्ने अपेक्षा ममा हुने नै भएन। चार वटा भर्सनमा निकाल्दा के होला भन्ने मनमा डर थियो।

शब्दहरु मिलाएर फिमेल तथा चाल्र्ड भर्सनमा गीत बाहिर आएपछि थप चर्चा भयो। युगाण्डाकी गायिका वियोन्सी र पन्जावी गायकले गीतलाई आफ्नै आवाजमा कभर गीत गाएपछि थप चर्चा पायो। यो मेरो लागि नसोचेको सफलता हो।

५ बैशाख, २०७८, ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।