कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न महानगरको परिपत्र 

कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न महानगरको परिपत्र 

महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले नगर कार्यपालिकाको निर्णय अनुसार संक्रमण देखिएका विद्यालय आजैबाट बन्द गर्न परिपत्र गरिएको जानकारी दिए।

‘बिहीबार नगर कार्यपालिकाले गरेको निर्णय अनुसार आजैबाट लागू हुने गरी विद्यालय बन्द गर्न परिपत्र गरेका छौँ,’ उनले भने, ‘शिक्षक, विद्यार्थी र कर्मचारीमा कोरोना देखिएका विद्यालय कम्तीमा एक हप्तासम्म बन्द गर्न परिपत्र गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्न भनिएको हो।’

शिक्षा विभागका अनुसार नक्सालस्थित नन्दिरात्रि माध्यमिक विद्यालय, कलंकीस्थित एलआरआई माध्यमिक विद्यालय, चाबहिलस्थित मित्र आधारभूत विद्यालय, प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।

संक्रमण नदेखिएका विद्यालयलाई भने सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिइने विभागले जनाएको छ। ‘संक्रमण नदेखिएका विद्यालयलाई भने सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिइने छ,’ विभाग प्रमुख सुवेदीले उकेरासँग भने।

पछिल्लो समय विद्यालय कोरोनाको हटस्पट बन्ने जोखिम बढ्दै गएपछि सरकारले १४ जिल्लालाई जोखिमयुक्त जिल्ला घोषणा गर्दै विद्यालय सञ्चालन नगर्न आग्रह गरिसकेको छ। जोखिमपूर्ण जिल्लाको सूचीमा उपत्यकाका तीन वटै जिल्ला परेका छन्।

३ बैशाख, २०७८, ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।