'यो त ‘रअ’ को मान्छे, भेष बदलेर पशुपतीमा पानी बेचेर बस्छ भन्छन्'

'यो त ‘रअ’ को मान्छे, भेष बदलेर पशुपतीमा पानी बेचेर बस्छ भन्छन्'

केशवलाई त आफ्नो सपना अपूरो भएकोमा कुनै दुःखमनाउ छैन। तर उनकी श्रीमतीको भने सधैं गुनासो रहन्छ। बेलाबखत भन्ने गर्छिने रे, ‘तपाईं सेना भएको यो जुनीमा देख्न नपाउने भएँ।’

केशवकी श्रीमतीको पनि श्रीमान् नेपाली सेना बनेको हेर्ने सपना रहेछ।

पशुपती, गोरखनाथ आसपास टुरिष्ट पोशाकमा बोराभित्र पानी, चिप्स, चुरोट जस्ता सामान बोकेर ग्राहक खोज्दै हिँडिरहेका केशवले सुनाए, ‘श्रीमतीको सपना मैले पूूरा गरिनँ। मेरो सपना उनले पूरा गरिनन्।’

केशवकी श्रीमतीलाई आफ्ना श्रीमान् सेना भएको हेर्ने रहर रहेछ भने केशवलाई श्रीमतीले धेरै पढेको हेर्ने। भन्छन्, ‘मलाई जागिर भनेपछि टाउको दुख्ने, उनलाई पढ्न। हाम्रो एक–एक सपना अधुरा छन्।’

केशव चाहिँ पढाइमा तेज रहेछन्। ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा  स्नातक गरेका उनी हाल स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्यनरत छन्।

‘मलाई लेख्न, पढ्न र विभिन्न कुराको अनुभव बटुल्न मन लाग्छ। मैले अनगिन्ती कामको अनुभव लिइसकें। केही नयाँ देख्नेवित्तिकै अनुभव लिइहालौं जस्तो लाग्छ। उनी भन्छन्, ‘त्यसकै एक रुप हो, अहिलेको काम। हातमा सिप त धेरै छन्। तर सन्तुष्टि नै ठूलो कुरा रहेछ।’

मध्मवर्गीय परिवारमा जन्मिएका केशवले १० कक्षासम्म गाउँकै स्कुलमा पढे। त्यसपछि २०४८ मा राजधानी छिरे।

‘गाउँमा हुँदा रेडियो नेपालमा गीत गाउने र हवाइजहाजलाई नजिकबाट हेर्ने सपना थियो। त्यही सपना पूरा गर्न सुरुमा काठमाडौं आएको थिएँ,’ उनी भन्छन्।

उनले रेडियो नेपालको चौतारी कार्यक्रममा गीत गाएर गाउने सपना पूरा गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हवाइजहाज पनि हेरे। उनको त्यो सपना पनि पूरा भयो।

‘पढेँ पनि। बीचमा पारिवारिक कारणले पढाइ छुट्यो। अहिले फेरि पढिरहेको छु,’ उनी सुनाउँछन्।

केशव पशुपतीमा पानी बेचेर नै कलेज शुल्कको जोहो गर्छन्।

‘जे देख्यो त्यही अनुभव गर्न मन लाग्ने। काठमाडौं आएर गीत गाएँ। हवाइजाज हेरेँ। काठमाडौं आउनुको उद्देश्य पूरा भयो,’ उनी भन्छन्, ‘त्यसपछि फेरि गाँउ फर्किएर पढाउन थालें।’

केशवको जीवनमा लामो अवधि टिकेको पेसा शिक्षण रहेछ।

‘आज पनि पढाउँछु। तर क्लास लिएर होइन। म आफैं विद्यार्थी हुँ। सिकेका कुरा सिकाउन मन पर्छ,’ उनले भने, ‘मेरो कहानी लामो छ। मैले धेरै कुरा अनुभव गर्न खोज्दा धेरै सुखद, दुखद अनुभव छन्। सबै त म भन्दिनँ। तपाईंलाई कन्टेन्ट पुग्ने चार किस्सा मात्र भन्छु।’

उनी किस्सा सुनाउन थाले।

किस्सा नम्बर एक  
‘आइए पढ्दै थिएँ। हाम्रो कोर्षमा गाडीको सहचालक र भाडा माँझ्ने मान्छेबीचको अन्तरको एउटा पाठ थियो। मलाई पढेर मात्र नहुने, आफैंले भोग्न मन लाग्ने। अनि केही समय भाँडा माँझ्ने काम गर्न थालें। भाडा माझ्न पनि सजिलो रहेन छ। केही महिना गरें। अनि लागें गाडीतिर।  

ना२ख ९८८१ नम्बरको ट्रकमा सहचालकको काम गर्न थालें। त्यो काम गर्नुको पछाडि दुई कारण थिए। एक, नयाँ ठाउँ, नयाँ मान्छे देख्न पाइने। नयाँ कुरा सिक्न पाइने। अर्को, सिप पनि हुने। तीन महिना पूरै सहचालक भएर काम गरें। अनुभव भयो। त्यसपछि छाडें।

यति धेरै काममा हात हालेर कसरी अगाडि बढ्न सकिन्छ? भनेर धेरैले प्रश्न गर्छन्। किन सकिँदैन? गर्न, बुझ्न खोज्नुपर्छ, सकिन्छ। मैले भरियाको काम गरें। टुरिस्ट गाइड हुँ। कुनै समय विद्यार्थी राजनीति पनि गरें अखिलबाट। गगन थापा पनि मेरा समकक्षी नै हुन्। मैले आफ्नै मनले अह्राएको काम गरें।

अहिले म १० देखि ५ बजेसम्म यही जंगल (पशुपतीको गोरखनाथ छेउ) मा हुन्छु। पानी बेच्छु। अनेक मान्छे आउँछन्। उनीहरुबाट केही सिक्छु। आफूले जानेको कुरा कसैले सोधे बताउँछु।

तर, मलाई यो व्यापारमा एउटा कुरा भने चित्त बुझेको छैन। त्यो के भने, म चुरोट पनि बेच्छु। त्यसले कसैलाई फाइदा गर्दैन। हुन त, मैले नबेचे पनि खानेले खाइहाल्छ। तर पनि मन मानिरहेको छैन।  

जुनै पेसा गरे पनि गरुन्जेल सबैको हित होस् भन्ने उद्देश्य राखेर गर्नुपर्छ। म व्यापार गर्न यही जंगलमा मात्र घुम्छु। मलाई जंगलमा घुमेकै कमाइले खान, बस्न पुग्छ। पैसा कमाउन मात्र काम गर्ने होइन रहेछ। सन्तुष्ट भएर जीवन जिउन काम गरिने रहेछ। मलाइ प्रकृति र आफू भित्रको मान्छे ठूलो गुरु हो भन्ने लाग्छ।

किस्सा नम्बर दुई
म गाँउबाट फेरि सहर आएर पढाउन सुरु गरेँ। माओवादीको जगजगी थियो। स्कुल पढ्दा आफूसँगै बेन्चमा बसेका धेरै साथी माओवादी थिए। उनीहरुले मलाई पनि माओवादी बनाउन खुब प्रयास गरे। तर म न्युट्रल बसेँ।

स्कुल पढाइराखेको थिएँ। त्यतिबेला म कीर्तिपुर बस्थेँ। नेपाल बन्दको दिन थियोे। स्कुल पुग्नैपर्ने थियो। बल्खु चोकनेर एक जना सधैं देखिइरहने आमा थिइन्। उनी दूध बेच्थिन्। सेनाले उनलाई रोकेछ। ती आमाले म शिक्षक हुँ भन्ने भेउ पाइछिन्।

‘बाबु यस्तो बन्द कतिन्जेल हुने हो सोधिदेऊ न’ भनिन्। गोल्डस्टार जुत्ता लाउने र शिक्षक भन्ने वित्तिकै माओवादी हो भन्ने बेला थियो त्यो। स्कुल ड्रेसमा नै थिएँ। मैले ती आमालाई टार्न खोेजेँ। ती आमाले फ्याट्ट गजबको कुरा भनिन्।

‘यति पनि सोध्न नसक्ने के मास्टर?’

मलाई त्यसले छोयो। आमाको शिक्षकप्रतिको आस्था मार्नु हुँदैन भनेर ‘अब कहिलेसम्म यस्तो हुन्छ?’ भनेर मात्र के सोधेको थिएँ, मलाई बल्खु चोकमा सेनाले कुट्नु कुटे। माओवादी भनेर आरोप लागाए, थुने। त्यसपछि मैले स्कुल गएर पढाउन छाडें। पछि साथीहरुले माओवादी बन भन्थे। तर मलाई कुनै पार्टीको सिद्धान्त र कर्ममा विश्वास नै लागेन।

यो देशमा तन्त्र र मन्त्र भयो यन्त्र भएन। गतिलो संयन्त्र भएन। अनि मैले राजनीति सदाको लागि छाडें। राजनीति छाडँ्दा म ललितकला क्याम्पस कमिटीमा सक्रिय थिएँ।

किस्सा नम्बर तीन
मेरी प्रेमिका थिइन् गाँउमा छँदा। सबैले मलाई इमान्दार र राम्रो मान्छे भन्थे।  प्रेमिकाको परिवार मेरो सबै कुरामा राजिखुसी भयो। तर हाम्रो सम्बन्धमा तगारो बनिदियो जागिर।

जागिर नभएको केटालाई छोरी दिन्नौँ भने। मलाई कहिल्यै जबरजस्ती गर्न मन लागेन। मेरो सम्बन्ध सकियो। त्यही सम्बन्धको कारण पनि म पेसा परिर्वतन गरिरहने भएँ जस्तो लाग्छ।

ब्याचलर पढ्दा फेरि अर्को कहानी थपियो।

म भाडामा बसेको घरभेटीले मलाई परिवारकै सदस्य जस्तो व्यवहार गर्थे। भाडा पनि नमाग्ने। पाकेको मिठोचोखो ल्याइदिने। चाडबाड, पूजाआजामा बोलाउने।

गाउँ गएको बेला आमालाई ‘मलाई त घरभेटीले यस्तो गर्छन् आमा’ भनेँ। आमाले तलाई मन पाराका होलान् भन्नु भो। अब यसो विचार गर्छु, त्यस्तो मन पराउने कुरा त आफूसँग केही भए जस्तो लाग्दैन। नभन्दै घरभेटीको बहिनीसँग कुरा चल्यो। उनैसँग मेरो विवाह भयो।

संयोगको कुरा के भने, मेरो बा पनि भारतीय आर्मी हुनुहुन्थ्यो। परिवारको पनि आर्मीमा जाओस् भन्ने चाहना थियो। श्रीमती पनि आर्मीकै परिवारको।

मेरा ससुरा बा २००७ सालमा ज्ञानेन्द्र राजा हुँदा उहाँको अंगरक्षक हुनुहुदोरहेछ। संयोग भित्रको अर्को संयोग, मेरा सासु–ससुरा र पूूर्वराजा दम्पतीको नाम एकै। ज्ञानबहादुर सुवेदी र कोमलकुमारी। पूर्व राजा–रानीको ज्ञानेन्द्र र कोमल।

आर्मी परिवारसँग मेरो नाता जोडियो। बुढा ससुरा कर्णेल फैजसिँह हुनुहुन्थ्यो। श्रीमतीलाई पनि आर्मी मन पर्ने।

विवाहको बेलामा मलाई आर्मी बन्नुपर्ने सर्त राखियो। सर्त मानियो। परिवारले आर्मी बन भन्दा नटेरेको, पछि घुमिफिरी रुम्जाटार भनेजस्तो भयो।

आर्मी हुने प्रक्रिया सुरु भयो। दौडमा पास भएँ। हाइट भएको, हट्टाकट्टा मान्छे। ससुराली पनि आर्मी खानदानकै। मेरो भित्री मनमा भने आर्मी हुुनु नै थिएन। मलाई त अनुभव लिन मात्र मन हो। टेन्सन भयो।

मनमनै फेल भइयोस् भगवान भनेर प्रर्थना गर्थे। आर्मीको प्रक्रियागत परीक्षाहरुमा पास भइरहेको छु। ल बर्बाद हुने भयो, नचाहँदा–नचाहँदै आर्मी बन्ने भएँ भन्ने पिर लाग्यो। पछि जानीजानी लिखित परीक्षामा फेल भएँ र म फालिएँ। बल्ल ढुक्क भयो र श्रीमतीलाई अब आर्मीमा जान्नँ भनेर मनाएँ।

श्रीमती अहिले पनि भन्ने गर्छिन्, ‘तपाईं आर्मी भएको देख्न पाइनँ यो जुनीमा।’ म पनि जवाफ फर्काइहाल्छु, ‘तिमीले धेरै ज्ञान आर्जन गरेको हेर्ने मेरो रहर नि?’

हामी दुवैले एक–एक सपना उधारो राखेका छौं।

किस्सा नम्बर चार
मलाई देश–दुनियाँ बुझ्न मन लाग्छ। साना–साना कुरामा पनि अपडेट भइरहेको हुन्छु। जता पुग्दा पनि मेरा कुरा र आनी–बानी देखेर, अर्थ, विज्ञान, धर्मदेखि कर्म र मर्मसम्मका कुरा सुनेर मान्छेहरु मलाई ‘तँ त र’अको मान्छे’ रहेछस् भन्छन्।

मेरो कुरा गराइ, बोलाइ र तर्कले मान्छेहरु कुनै मिसनको लागि भेष बदलेर पशुपतीमा पानी बेचेर बसेको भन्ने ठान्दारहेछन्।

म आफ्नो माटोमाथि गद्दारी गर्नुपर्ने अवस्था आयो भने संसारबाटै हराइदिन्छु। जीवन भनेको सिक्ने र बुझ्ने प्रक्रिया त रहेछ।

०००
मैले तिमीलाई केही भनिनँ भनेर
त्यत्तिकै नहराऊ मान्छे,
ओ मान्छे!
देउरालीको चैतारीमा बोलिनँ भनेर,
आफ्नो कथा सुनाइनँ भनेर,
सुन ओ मान्छे!
त्यत्तिकै नहराऊ
मैले तिमीलाई केही भनिनँ भनेर।

हामीलाई भन्न नचाहेका कथाहरु गीतमार्फत गुनगुनाउँदै मैलो धोक्रो काँधमा बोकेर छुट्टिए केशव।

३० चैत, २०७७, १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।