कृष्णप्रसाद हत्या अभियोग लागेका सबैलाई सफाइ दिने चितवनको फैसला सदर 

कृष्णप्रसाद हत्या अभियोग लागेका सबैलाई सफाइ दिने चितवनको फैसला सदर 

काठमाडौँ : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या गरेको अभियोग लागेका सबैलाई सफाइ दिने जिल्ला अदालत चितवनको फैसला उच्च अदालत पाटनको हेटौँडा इजलासले सदर गरेको छ।

घटनाका प्रतिवादी गोरखा फुजेलका सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका हुन्।

कृष्णप्रसादको २०६१ सालमा चितवनमा तत्कालीन द्वन्द्वरत माओवादीका कार्यकर्ताले अपहरणपछि हत्या गरेको आरोप लाग्दै आएको छ। आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेलसहित १२ जना संलग्न रहेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारीले जाहेरी दिएका थिए। 

उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए। 

गंगामाया अधिकारी आफ्नो छोराका हत्यारालाई कारबाही माग गर्न भन्दै अनसनरत छिन्। उनका पति नन्दप्रसादको त अनसनकै क्रममा पाँच वर्षअघि मृत्यु भएको थियो। 

२९ चैत, २०७७, २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।