लुम्बिनी प्रदेशमा बिउ बिजन ऐन लागु  

लुम्बिनी प्रदेशमा बिउ बिजन ऐन लागु  

बुटवल : लुम्बिनी प्रदेश सरकारले बिउ बिजन ऐन लागु गरेको छ। किसानलाई गुणस्तरीय बिउ बिजन उपलब्ध गराउने, बिउ बिजनमा नेपाललाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने ऐनको मूल उद्देश्य रहेको छ। 

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशमा बिउ बिजन उत्पादन, बजारीकरण र उपयोग सम्बन्धी नीति बनाउने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने ऐनको अर्को उद्देश्य रहेको छ । प्रदेशमा बिउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको बिधियक प्रदेश सभाबाट पारित भई बिउ बिजन ऐन बनेको हो। 

प्रदेशमा गुणस्तरीय बिउ बिजन उत्पादन, बजारीकरण र व्यवस्थित उपयोग गर्ने मूल लक्षसहित प्रदेश सरकारले सो ऐन बनाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका बाली विकास अधिकृत सालिकराम गौतमका अनुसार गुणस्तरीय बिउ बिजनको उत्पादन, कारोबार र प्रयोगलाई व्यवस्थित गरी गुणस्तरीय खाद्यान्न, तरकारी तथा फलफूल उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने सो ऐनको लक्ष हो। 

बिउ बिजन उत्पादन कम्पनी, कारोबार गर्ने व्यवसायी र उपयोग गर्ने किसानलाई सामूहिक रूपमा लक्षित गरी व्यवस्थापन गर्ने एवं गुणस्तरीय बिउ बिजन उत्पादन गरी समग्र प्रदेश र नेपाललाई नै आत्मनिर्भरताको बाटोमा उन्मुख गराउने सो ऐनको अर्को लक्ष रहेको अधिकृत गौतमले बताएका छन्।  

बिउ बिजन सम्बन्धी विषय अत्यन्तै संवेदनशील भएकोले सङ्घीय सरकारले भन्दा अगावै लुम्बिनी प्रदेश सरकारले बिउ बिजन ऐन बनाएको हो। सङ्घीय बिउ बिजन ऐन २०४५ को दोस्रो संशोधन अहिले सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ। सङ्घीय बिउ बिजन ऐन बमोजिम सोही आधारमा रहेर प्रदेश ऐन बनाइएको र बिउ बिजन उद्योग तथा व्यवसाय दर्ता, नवीकरण र सूचीकृत भएका सरोकारवाला पक्षले मात्र बिउ बिजनको उत्पादन तथा कारोबार गर्ने व्यवस्था ऐनमा छ। 

बिउ बिजन ऐन, नीति, नियम र निर्देशन विपरीत कार्य गरेमा उत्पादक तथा व्यवसायीलाई कारबाही तथा जरिवाना समेत गर्ने व्यवस्था ऐनमा रहेको अधिकृत गौतमले बताउनु भयो। 

सङ्घीय बिउ बिजन ऐन २०४५ बमोजिम दोस्रो संशोधन अहिले संसद्मा विचाराधीन रहेको भए पनि सङ्घीय सरकारको बिउ बिजन नीतिमा आधारित रहेर कार्य सम्पादन भइरहेको अधिकृत गौतमले बताए। गौतमका अनुसार प्रदेशमा ऐन कार्यान्वयन गर्न गराउन मन्त्रालयका सचिवको अध्यक्षतामा प्रदेश बिउ बिजन व्यवस्थापन समिति गठन गरिएको छ। 

ऐन अन्तर्गत प्रदेशमा बिउ बिजन प्रयोगशाला स्थापना गर्ने योजना रहेको र भविष्यमा लुम्बिनी प्रदेश र समग्र मुलुककै उत्पादकत्व वृद्धि गरी समृद्धिको दिशामा अघि बढाउन एवं आर्थिक उन्नति हासिल गर्न बिउ बिजन ऐनले सघाउ पुग्ने विश्वास प्रदेश सरकारले गरेको छ। यसले मुलुकको कुल गृहस्थ उत्पादनमा पनि टेवा पुराउने अपेक्षा गरिएको छ। 

 

 

२९ चैत, २०७७, १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।