बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरु-५ : रामवीर मानन्धरले पावर देखाउन बस्तीमा डोजर चलाए

बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरु-५ : रामवीर मानन्धरले पावर देखाउन बस्तीमा डोजर चलाए

काठमाडौं : चन्द्रमान श्रेष्ठ बालाजुका स्थानीयबासी थिए। पहिले उनको घर अहिले सडक विस्तारका क्रममा भत्किएको घरभन्दा पूर्वतर्फ थियो।

चन्द्रमानले २००५ सालमा पश्चिमतर्फ (हाल सडक विस्तार भएको क्षेत्र)मा अर्को घर पनि बनाएका थिए। घर बनाउनुको कारण थियो, परिवार ठूलो तर मुलघर सानो।

२०२१ मा सोही घरमा स्थानीय युवाहरुले ‘नवप्रकाश प्राथमिक विद्यालय’ खोले। चन्द्रमानका नातीहरुले सोही विद्यालयबाट कखरा सिके।

चन्द्रमानका तीन भाइ छोरा थिए। सबै परिवार सगोलमा बस्थे। २०३० सालमा परिवार छुट्टिने कुरा भयो। सबैको सल्लाहमा मुलघर बेचियो।

चन्द्रमानका नाति भीमदेव श्रेष्ठ मुलघरबाट पश्चिमतर्फ रहेको विद्यालय भएकोमा बसोबास गर्न थाले।

‘मैले सबैसँग हक फुकाएर त्यो घर लिएको हुँ,’ ६७ वर्षीय भीमदेव श्रेष्ठ भन्छन्, ‘२०३१ सालदेखि म त्यो घरमा बसेको। सडक विस्तारमा भत्काइदिए। अहिले सुकुम्बासीसरह भएको छु।’

उपत्यका विकास प्रधिकरणले तोकेको मापदण्ड अनुसार भीमदेवको भत्काउनुपर्ने डेढ मिटर थियो। सुरुमा त्यति नै भत्काइयो।

‘२०७० मा भत्काउनुपर्ने भत्कायो। मैले बाँकी घरलाई मर्मत गरेर बसें,’ भीमदेव भन्छन्, ‘मर्मत गरेर घर सम्पन्न हुन लागेपछि फेरि घरमा डोजर चलाइयो।’

भीमदेव आफू अन्यायमा परेको बताउँछन्।

‘उपत्यका विकास प्राधिकरणले तोकेको जति काटेपछि फेरि मेरो घर भत्काउनुपर्ने कारण थिएन,’ उनी गुनासो गर्छन्, ‘राज्य चलाउने मान्छेले बल देखाए। नम्बर प्लेट समेत नभएको डोजर ल्याएर बनिसकेको घर भत्काए। क्षतिपूर्ति भनेर तीन लाख पैसा दिए। अहिले घर पनि छैन। जग्गा पनि छैन।’

भीमदेव हजुरबा चन्द्रमानको पालादेखि भोगचलन गर्दै आएको जग्गा राज्यले हड्प्नु पर्ने कारण देख्दैनन्।

‘२०२१ सालमा नापी आयो। त्यसबेला हाम्रो घरमा स्कुल थियो। नापीले  घर भएको क्षेत्रको हामीले भोग चलन गर्दै आएको मुलघरको पश्चिमपट्टिको  जग्गा स्कुलको नाममा हाल्दिएछ,’ भीमदेव भन्छन्, ‘बा, हजुरबा उति पढे–लेखेका हुनुहुन्नथ्यो। हामीले पनि धेरै पछि पो थाहा पायौं, हाम्रो जग्गा त स्कुलको नाममा पो रहेछ।’

उक्त नवप्रकाश प्राथमिक विद्यालय अहिले अस्तित्वमा भने छैन।

भीमदेवका बाले आफूले भोगचलन गर्दै आएको जग्गाबाट १७ आना जग्गा आफन्तलाई घर बनाउन घडेरीका रुपमा बाँडेका पनि रहेछन्।

‘मेरा बा चिनियाँमानले मेरो घर भएतर्फकै १७ आना जग्गा आफन्तहरुलाई घर बनाएर बस्न दिएका थिए,’ भीमदेव प्रश्न गर्छन््, ‘हामी कसैलाई हानि नगरी बसेका मान्छे हौं। हामी आफ्नो अधिकार प्रयोग गर्न पाउँदैनौं?’

कर तिरेको जग्गा भोगचलन गर्दा आफूलाई माफिया भन्दै बिना सूचना घर भत्काएको उनको दावी छ।  सडक विस्तारको क्रममा भत्काइएको भीमदेवको घर २ आना ३ पैसा ३ दाममा बनेको थियो।

‘मेरो जग्गाको कित्ता नम्बर २०१ हो। डेढ मिटर काटिएको थियो २०७० सालमा। अहिले नामोनिसाना छैन,’ भीमदेव भन्छन्, ‘हिसिला यमीले बस्ती पछाडिको सरकारी जग्गाबाट बाटो लैजाने सहमति गरेकी थिइन्। त्यो राम्रो उपाय थियो। बस्ती पनि बच्थ्यो, बाटो पनि बन्थ्यो। कोही पनि घर न घाटको हुनु पर्दैनथ्यो।’

मन्त्री रामवीर मानन्धरले पावर देखाउन बस्तीमा डोजर चलाएको उनको दाबी छ।

बस्तीमा डोजर चलाउन आवश्यक नै नपर्दा मानन्धरले आफ्नो पावर देखाउन, बस्तीका मान्छेलाई दुःख दिने नियतले जबरजस्ती घर भत्काउन लगाएको उनको आरोप छ। ‘मान्छेलाई चौकीमा थुनेर भत्काउनुपर्ने नै थिएन नि। सबैले उपत्यका विकास प्राधिकरणको नियम अनुसार सम्झौता गरेकै हुन्। मन्त्री मानन्धरको नियत सफा भएको भए बस्ती बच्ने थियो। आ–आफ्नो रोजगारी गरेर बस्न पाउँथे जनता।’

सुरुमा भीमदेवको घर ढुंगा–माटोको थियो। पछि उनले पिल्लर हालेर मर्मत गरेका थिए।

‘भत्काउनुपर्ने जति भत्काएपछि मैले फेरि तीन तला पक्की गरेर घर बनाएँ। जब घर बनिसक्न लाग्यो, कहिले आएर सटर भत्काउँछ। कहिले आएर भित्ता भत्काउँछ,’ उनी दुःखेसो पोख्छन्, ‘मैले जस्तोसुकै परिस्थितिमा पनि त्यो घर छाडिनँ। जीवनभरको दुःख गरेर बनाएको घर, चोरेर ल्याएको सम्पत्ति होइन हो र?’

राज्यले बिजुली र पानी काटिदिएपछि भने उनी उक्त घर छाड्न बाध्य भए।

‘राज्य नै लागेपछि कसको के लाग्छ? बिजुली, पानी सबै काटियो। तैपनि केही समय पर्दाले बारेर बसें त्यही भत्किएको घरमा,’ भासिएको स्वरमा भीमदेव भन्छन्, ‘त्यसपछि मेरो गरिखाने बाटो टुट्यो। बास उठ्यो।’

भीमदेवले पीडितका आवास सहितको सडक विस्तार चाहिएको बताए। विकल्प हुँदाहुँदै राज्यले बस्तीमा निर्मम भएर डोजर चलाएको उनको गुनासो छ। भीमदेव उकेरासँग भन्छन्, ‘देख्दा घर भत्किएको देखिए पनि हाम्रो परिवार भत्किएको छ। समुदाय भत्किएको छ। संस्कार र संस्कृतिमा असर परेको छ। सात वर्षमा हामीले पाएको यस्तै समस्या र पीडा मात्र हो।’

धेरै पीडितको गाँस र बासको जोहो गर्न असहज अवस्था रहेको उनको अनुभव छ।

‘घर छँदा मेरो इलोक्ट्रोनिक पसल थियो। त्यसबाट राम्रै कमाइ थियो। परिवार आरामले चलेको थियो,’ उनी भन्छन्, ‘अहिले म जस्ता धेरैको रोजिरोटी खोसियो।’

भीमदेवले २०५८ सालमा विष्णुमती किनारमा ६ आना जग्गा पनि किनेका रहेछन्। अवैध रुपमा बालुवा झिक्नेहरुका कारण उनको उक्त जग्गा नक्सामा मात्र भयो रे।

‘पहिला जग्गा किन्दा मापदण्ड थिएन। बालुवा झिक्दाझिक्दा जग्गा नै बाँकी राखेनछन् फिल्डमा। त्यही जग्गामा बस्छु भनेर कोसिस गरें तर सबै मापदण्ड पूरा गर्दा २० मिटर मात्र बच्ने भयो। र, त्यसलाई सस्तोमा बेच्दिएँ,’ भीमदेव भन्छन्, ‘मेरो कतै घर छैन। जग्गा छैन। मेरा आफन्त सबै यहीँ छन्। छाडेर अन्त जान सक्दिनँ। राज्यले हामीलाई हाम्रो ठाउँमा पुनस्र्थापना गर्दिनुपर्छ।’

भीमदेव न्यायको लागि अन्तिम श्वाससम्म लड्न तयार छन्।

‘मेरी आमा ८७ वर्षको हुनुभयो। ओछ्यान पर्नुभएको छ। उहाँलाई घरको चिन्ता छ। उहाँको इच्छा पूरा गर्न पनि म लड्नुपर्छ। लड्छु,’ भीमदेव आक्रोस पोख्छन्, ‘कसैले हाम्रो बास उठाउँछ भने त्यसलाई त्यसै छाडिँदैन। राज्यसँग विकल्प छ, हामीसँग छैन। झुक्ने पनि सकुन्जेल त हो नि। भाँचिन पर्यो भने झुकेर मात्र बसिँदैैन।’

२९ चैत, २०७७, १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।