सिरहाको लहानमा एक व्यक्तिको हत्या, दुई जना पक्राउ 

सिरहाको लहानमा एक व्यक्तिको हत्या, दुई जना पक्राउ 

सिरहा : सिरहाको लहानमा लुटेरा समूहले एक व्यक्तिको हत्या गरेका छन्। लहान नगरपालिका वडा नम्बर २३ गडियाचोकमा सुनचाँदी पसल सञ्चालन गरेका ४५ वर्षका प्रदीप विश्वकर्माको लुटेरा समूहले हत्या गरेका हुन्। 

लुटेरा समूहले विश्वकर्मालाई टाउको र मुखमा खुकुरी प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनको छातीमा गोली समेत लागेको डिएसपी तपन कुमार दाहालले जानकारी दिए। 

राती पौने १ बजे भएको घटना लगत्तै पुगेको प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार विश्वकर्माकी श्रीमतीको हातमा सामान्य चोट लागेको छ।

‘२३ नम्बर वडाका वडा अध्यक्षको घरमा सुनचाँदी पसल सञ्चालन गरेका विश्वकर्माको स्थानीय सप्तऋृषि अस्पतालमा उपचारका क्रममा मृत्यु भयो,’ डिएसपी दाहालले भने,‘हातमा सामान्य चोट लागेकी उनकी श्रीमतीको सप्तऋृषि अस्पतालमा उपचार भइरहेको छ।’ घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। 

२९ चैत, २०७७, ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।