पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित

पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित
तस्बिर : बिके उपाध्यायकाे फेसबुकबाट।

काठमाडौं : नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन्। 

शनिबान अपराह्न सम्पन्न मतगणनामा  पोखरेलले अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई ३ हजार २७ मत अन्तरले पराजित गरे। 

निर्वाचन समितिका अनुसार पोखरेलले ६ हजार ९ सय ४२ मत ल्याउँदा शर्माले ३ हजार ९ सय १५ मत पाइन्। 

पोखरेलले लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवि पत्रकारको संयुक्त प्यानलबाट प्यानलसहित चुनावी मैदानमा उत्रिँदा शर्माले प्रगतिशील, व्यावसायिक, समावेशी, राष्ट्रवादी समूहबाट प्यानलसहित प्रतिष्पर्धा गरेकी थिइन्। 

यस्तै, अध्यक्षका अर्का प्रत्यासीहरू गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत पाउँदा रामप्रसाद दाहालले १ सय ५६ मत ल्याए। 

यसैगरी, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष (महिला)मा बाला अधिकारी, उपाध्यक्ष (समावेशी)मा उदय जिएम, महासचिवमा रोशन पुरी विजय भएका छन्। 

यस्तै, सचिव (खुला)मा गोविन्द्रप्रसाद चौलागाईं, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति)मा नारायण सुन्दर किलम्बू, सचिव (मधेसी)मा दीपेन्द्र चौहान, सचिव (दलित)तर्फ हेमकर्ण विक, सचिव (एसोसियट)मा पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन्। उनीहरू सबै पोखरेल समूहका हुन्।

यसैगरी, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भए। लेखा समिति सदस्यमा भने मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य (महिला)मा देवी सापकोटा विजय भए। 

सदस्यहरूमा खुलातर्फ छविलाल तिवारी, बासुदेव शर्मा (बबिन शर्मा), माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री निर्वाचित भए। 

यस्तै, सदस्य (महिला, खसआर्य)मा सरिता तिम्सिना, सदस्य (महिला, मधेसी)मा ललिताकुमारी साह, सदस्य (महिला, आदिवासी जनजाति)मा शान्ता आङबुहाङ र सदस्य (महिला, दलित)मा सरिता बराइली विजय भएको निर्वाचन समितिले जनाएको छ।

महासंघको निर्वाचन गत बुधबार सम्पन्न भएको थियो। उक्त दिन केन्द्रसँगै प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियटमा एकसाथ निर्वाचन भएको थियो। त्यहाँ नयाँ नेतृत्व चयन भइसकेको छ। 

महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन भएको हो। 

२८ चैत, २०७७, १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।