बाढीसँगै बगेको धर्मको सपना 

बाढीसँगै बगेको धर्मको सपना 

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिका–१०, गल्फाका २१ वर्षीय धर्म टमट्टाको सानै देखिको लक्ष्य थियो– समाजसेवा गर्ने। उनी दुःखी, गरिब, असहायको सेवा गर्न चाहन्थे। 

तर, उनको सपना २०७१ साउन २९ गतेको बाढीसँग बगेको छ। त्यसराति आएको बाढीले घर–खेत बगाएपछि समाजसेवा त परै जाओस्, दैनिक जीविका चलाउनै मुस्किल परेको छ उनलाई। 

‘बाढीले घर बगायो। खेत बगरमा परिणत भयो,’ उनले सुनाए, ‘अहिले दिदीको घरमा आश्रय लिएर दैनिक मजदुरी गरिरहेको छु।’ 

त्यसरातिको बाढीले उनको घर–खेत मात्रै बगाएन। घरमा भएका परिवारका सबै सदस्यलाई समेत बगायो। 

‘बाढीले मेरो घरका ११ जनाको ज्यान गएको छ। भएको एउटा सानो घर र थोरै ऐलानी जग्गा सबै बगर भएको छ,’ उनले दुखेसो सुनाए।

बाढीमा परेर आमा, दुई भाइ, अंकल–अण्टी, अंकलका दुई छोरा, दुई बुहारी र दुई भतिजलाई गुमाए उनले। 

बाढीमा बगेकामध्ये उनी मात्रै बाँचे। ‘म घरदेखि दुई किलोमिटर टाढा तारमा अल्झिएको रहेछु। पछि स्थानीयले देखे। र, उनीहरूको सहयोगमा हेलिकोप्टरबाट उद्धार गरियो। एक महिनासम्म अस्पतालमा उपचार गरिएपछि निको भए,’ उनले सम्झिएँ।

घरमा नहुँदा उनका बुबा पनि बाँचे। त्यति बेला उनका बुबा रोजगारीका लागि भारतमा थिए। तर, त्यसयता बुबासँग भेट नभएको उनी सुनाउँछन्। 

बाढीको त्यो घटनाले अझै पनि झस्काउने गरेको छ उनलाई। 

‘त्यसराति करिब साढे १२ बजेतिर घर हल्लाउन थाल्यो। सबैजना माथिल्लो थारोमा (तला) जम्मा भयौँ। त्यसको ५ मिनेटमै बाढीले घरसहित सबैलाई बगायो,’ उनले सम्झिएँ। 

अहिले उनीसँग न परिवारका सदस्य छन् न त घर–जग्गा नै। 

०००

बाढीबाट घर–खेत र परिवार गुमाउँदासमेत कसैबाट राहत नपाएको उनको गुनासो छ। 

‘सरकारले दिएको किरिया खर्च र संघसंस्थाले दिएको खाद्यान्नबाहेक अरू केही पाएको छैन,’ उनले गुनासो गरे। 

०००

‘बाढीले मेरो जीवन तहसनहस बनायो। न परिवारसँग बस्न पाएँ न त सोचेको लक्ष्य नै पूरा भयो,’ उनले दुखेसो पोखे। 

तैपनि उनलाई अझै आस छ– भविष्यमा अहिलेभन्दा आर्थिक अवस्था सुध्रिने छ। र, बाल्यकालको लक्ष्य पूरा हुनेछ। 

२८ चैत, २०७७, ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।