सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव के हुँदै छ ? 

सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव के हुँदै छ ? 

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण थलिएको पर्यटन श्रोत्रलाई पुर्न उत्थान गर्न सातामा दुई दिन सार्वजनिक बिदाको प्रस्ताव आए पनि टुङ्गो लाग्न सकेको छैन।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट आन्तरिक पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य राखेर तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सो प्रस्ताव अगाडि बढाएका थिए। उनी मन्त्रालयबाट बिदा भई सँगै यो प्रस्ताव अलपत्र परेको हो। 

बिदाका सम्भाव्यताबारे मन्त्रालयको नेतृत्वमा कार्यदल बनाई अध्ययन गरिएको थियो। कार्यदलले अन्तर्राष्ट्रिय अभ्यास,नेपालको अनुभव,सार्वजनिक खर्च कटौती,उत्पादकत्व वृद्धि,पर्यटन प्रवर्द्धन लगायतका दृष्टिकोणले शुक्रवार र शनिवार बिदा दिनु उपयुक्त हुने भन्दै अध्ययन प्रतिवेदन बुझाएको थियो।

मन्त्रालयका अनुसार यसबारे कुनै छलफल भएको छैन। मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी ‘यसबारे कोही पनि सकारात्मक नभएपछि छलफल नै हुन नसकेको’ बताए।

उनी भन्छन्,‘हप्तामा ६ दिन काम हुँदा पनि सेवाग्राहीले सेवा पाएका छैनन्। दुई दिन बिदा दिँदा झनै मर्का पर्ने देखिन्छ।’ 

तत्कालीन पर्यटन मन्त्री भट्टराईको निर्देशनमा आएको प्रस्तावलाई हालका पर्यटन मन्त्री भानुभक्त ढकाल अगाडि बढाउने पक्षमा छैनन्। पर्यटन क्षेत्रलाई तत्कालीन राहतको रूपमा ल्याउन खोजिएको प्रस्ताव र विकल्पमा ढिलाइ हुँदा पर्यटन क्षेत्रलाई भने यसले थप निराश बनाएको छ। 

प्रस्तावका सम्बन्धमा मन्त्रालयले अध्ययन गर्न २०७७ असोज ८ मा मन्त्रालयका सहसचिव कमल कमल प्रसाद भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलमा पर्यटन विभागमा, महानिर्देशक रुद्रसिंह तामाङ, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे सहित अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि समावेश भएका थिए। 

प्रतिवेदनमा निजामती, सैनिक, प्रहरी, सशस्त्र प्रहरी, सरकारी तथा सामुदायिक विद्यालयका शिक्षक, विश्वविद्यालयका प्राध्यापक एवम् सरकारी संस्थानहरूमा करिब ५ लाख कर्मचारीले २ दिन बिदा पाउने र यसबाट सरकारी कर्मचारीको आफ्नै पालन पोषणभित्रको परिवारभित्र करिब २५ लाखले फुर्सदको समय प्राप्त गर्ने आङ्कलन गरिएको थियो। 

यो व्यवस्थालाई निजी क्षेत्रले पनि अवलम्बन गर्ने र करिब त्यति नै सङ्ख्यामा बिदाको व्यवस्था लागू गर्दा करिब ८० लाख मानिसहरूले २ दिनको बिदामा १ दिन आराम गरेर १ दिन १० प्रतिशत मानिस घुमघामका लागि निस्कँदा ८ लाखले पर्यटकीय तथा मनोरञ्जनात्मक क्षेत्रमा व्यतीत गर्ने अनुमान गरिएको थियो। 

कार्यदलले २ दिने बिदा आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने र कोरोना महामारीबाट पिल्सिएको पर्यटन श्रोत्रलाई पुर्न उत्थान गर्न सकिने प्रतिवेदन दिएको थियो। 

कार्यदलका सदस्य तथा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी २ दिने बिदाको सम्भावनाबारे आफूहरूले अध्ययन प्रतिवेदन बुझाएको भएता पनि कार्यान्वयनको जिम्मा सरकारकै भएको बताँउछन्।

‘हामीले सम्भावनाबारे अध्ययन प्रतिवेदन बुझाएको हो। कार्यान्वयनबारे छलफल भइरहेको छ। कार्यान्वयनमा आएको अवस्थामा भएमा पर्यटन क्षेत्रलाई राहत पुग्छ।’

छलफलमा ‘बिदा पर्यटन’को अवधारणा 

दुई दिन बिदाको विकल्पमा मन्त्रालयले ‘बिदा पर्यटन’को अवधारणालाई अगाडि सारेको छ। 

प्रवक्ता अधिकारीका अनुसार मन्त्रालयले कर्मचारीलाई १५ देखि ३० दिनसम्मको भ्रमण बिदा दिनेबारे छलफल गरिरहेको छ। ‘यो वर्ष त सम्भावना छैन। क्याबिनेटबाट पास हुनुपर्यो। बजेट पास हुनुपर्यो छलफल गरिरहेका छौँ,’ उनी भन्छन्। 

२७ चैत, २०७७, १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।