‘लाल मोहन जि’ निर्देशन गर्दै ‘पासवर्ड’का सम्राट्

‘लाल मोहन जि’ निर्देशन गर्दै ‘पासवर्ड’का सम्राट्

काठमाडौँ : चलचित्र ‘लाल मोहन जि’ निर्माण हुने भएको छ। चलचित्रका निर्देशक सम्राट् बस्नेतले अभिनेता विपिन कार्की, रोहित रुम्बालाई अनुबन्धित गर्दै चलचित्रको निर्माण घोषणा गरेका हुन्। 

आर.रोसफि फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जि’का प्रस्तुतिकर्ता तथा निर्माता सगुन तण्डुकार रहेका छन्। 

अभिनेत्रीको खोजी भइरहेको यस चलचित्रमा अभिनेता विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रवीन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सगुन तण्डुकार र बाल कलाकार सुशान्त मेचेको मुख्य भूमिका रहने निर्देशक बस्नेतले बताए।

उनले चलचित्रका लागि अभिनेत्रीको पनि केही दिनमा टुङ्गो लाग्ने जानकारी दिए। 

प्रवेश पौडेलको कथामा पटकथा संवाद आकाश बरालले तयार पारेको यस चलचित्रमा सन्तोष राजको सङ्गीत, नीरज कँडेलको छायाङ्कन, राजु तामाङको द्धन्द, कविराज गहतराजको नृत्य रहने निर्माण पक्षले बताएको छ। 

चलचित्रको छाायंकन नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अस्ट्रेलियामा छायाङ्कन गरिने अभिनेता रोहितले बताए। जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ।

सस्पेन्स कमेडी कथामा बन्न लागेको चलचित्रको कथा निकै राम्रो भएको र सफल चलचित्र बन्नेमा निर्देशक बस्नेतको दाबी छ।

‘चलचित्रको कथाका लागि दुई वर्ष होमवर्क गरेका छौ। यसको कथा अहिले सम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ’ बस्नेतले भने ‘कथा राम्रो भएकोले पनि विपिनलगायत कलाकारले मन पराएका छन्।’ 

चलचित्रका निर्माण टिमले चलचित्र नबन्दै रिलिज मिति घोषणा गरिसकेको छ। चलचित्रलाई आगामी तिहारमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको छ। 

निर्देशक बस्नेतले दुई वर्ष अघि चलचित्र ‘पासवर्ड’ निर्देशन गरेका थिए। द्धन्द निर्देशक सम्राट्को ‘पासवर्ड’ निर्देशनमा डेब्यु फिल्म थियो।

२७ चैत, २०७७, १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।